४ आश्विन २०८३, आइतबार

पुसमा मात्र छैटौंपटक राष्ट्र बैंकको ऋणपत्र निष्कासन, आज फेरि १० अर्बको ऋणपत्र निष्काशन गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न १ वर्षे अवधिका लागि नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘च’ निष्काशन गर्न लागेको हो ।

आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ भने बोलकबोलका माध्यमबाटै ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।

यस ऋणपत्रको साँव भुक्तानी २०८३ पुस २४ गते हुने छ भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ।

ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ। ऋणपत्र यस बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने छ ।

यसअघि राष्ट्र बैंकले पुस १४, १६, २० र २२ गते २५ अर्ब, २३ गते २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेकाे थियाे ।