नेपाली पाइप भारत निर्यात गर्ने मंगलम इन्डस्ट्रिजको महत्वाकांक्षी योजना: वैदेशिक लगानीसँगै वित्तीय अवस्थामा पनि सुधार - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेपाली पाइप भारत निर्यात गर्ने मंगलम इन्डस्ट्रिजको महत्वाकांक्षी योजना: वैदेशिक लगानीसँगै वित्तीय अवस्थामा पनि सुधार



काठमाडौं। पोलिमर पाइप तथा फिटिङ उत्पादनमा अग्रणी नाम मंगलम इन्डस्ट्रिज लिमिटेडको व्यापारमा स्थिरतासँगै वित्तीय सुधार देखिएको छ। सन् २००९ मा स्थापना भई हालै पब्लिक लिमिटेडमा रूपान्तरण भएको यस कम्पनीले सन् २०२५ मा १ अर्ब ८ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको पछिल्लो रेटिङ रिपोर्टअनुसार कम्पनीको आम्दानी विगत तीन वर्षदेखि १ अर्ब रुपैयाँको हाराहारीमा स्थिर छ। रिपोर्टअनुसार कम्पनीले सन् २०२३ मा ९९ करोड ८० लाख र सन् २०२४ मा १ अर्ब ८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो।

कम्पनीमा हालै निजी इक्विटी फण्ड ‘अवसर इक्विटी डाइभर्सिफाइड फण्ड’ ले ३८ करोड रुपैयाँ रणनीतिक लगानी भित्र्याएको छ। यससँगै कम्पनीको नेटवर्थ बढेर ६५ करोड ५० लाख रुपैयाँ पुगेको छ। कम्पनीमा प्रमुख सेयरधनी शशि चुरिवालको ५१.३५ प्रतिशत, अवसर इक्विटीको २८.५७ प्रतिशत र साइनी खेतानको १९.९६ प्रतिशत सेयर हिस्सा रहेको छ।

कर्जा र रेटिङ कम्पनीले बैंकिङ सुविधाका लागि १ अर्ब १४ करोड ४९ लाख रुपैयाँ बराबरको कर्जा सीमा निर्धारण गराएको छ। इन्फोमेरिक्स नेपालले ५२ करोड ४९ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘इन्फोमेरिक्स नेपाल डबल बी’ र ६२ करोडको अल्पकालीन कर्जाका लागि ‘इन्फोमेरिक्स नेपाल ए फोर’ रेटिङ प्रदान गरेको छ।

रुपन्देहीको धकधईमा कारखाना रहेको यस उद्योगले सिपिभीसी , पिभीसी , र एचडीपीई पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता ७ हजार ९६२ मेट्रिक टन रहेको छ। घरेलु बजारमा मात्र सीमित नभई कम्पनीले सन् २०२६ का लागि भारतमा १ हजार ८०० मेट्रिक टन पाइप निर्यात गर्ने सम्झौता समेत गरिसकेको छ, जसले भविष्यमा आम्दानी बढाउन सहयोग पुग्ने देखिन्छ।

चुनौती र जोखिम व्यापार बढे पनि कडा प्रतिस्पर्धा र उच्च प्रचार खर्चका कारण कम्पनीको नाफाको मार्जिनमा केही दबाब परेको छ। सन् २०२३ मा २०.१४ प्रतिशत रहेको सञ्चालन मुनाफा मार्जिन सन् २०२५ मा घटेर १२.५५ प्रतिशतमा झरेको छ।

यस्तै, कम्पनीको वर्किङ क्यापिटल चक्र २९७ दिन पुग्नुलाई अर्को चुनौतीको रूपमा हेरिएको छ। कच्चा पदार्थको ९८ प्रतिशत हिस्सा आयातमा निर्भर हुनुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा डलरको विनिमय दर र कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले कम्पनीको लागत र नाफामा सीधा प्रभाव पार्ने रिपोर्टमा औंल्याइएको छ।

आगामी दिनमा निर्यात बढाउने र कार्यशील पुँजीको व्यवस्थापनलाई चुस्त बनाउँदै लैजाने कम्पनीको मुख्य प्राथमिकता रहने देखिएको छ।


प्रतिक्रिया दिनुहोस्