निर्माण क्षेत्रमा तीन दशक लामो इतिहास बोकेको हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनको नाफामा सुधार, १.५९ अर्बका आयोजना पाइपलाइनमा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

निर्माण क्षेत्रमा तीन दशक लामो इतिहास बोकेको हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनको नाफामा सुधार, १.५९ अर्बका आयोजना पाइपलाइनमा



काठमाडौं। नेपालको निर्माण क्षेत्रमा साढे तीन दशकभन्दा लामो इतिहास बोकेको हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सन प्राइभेट लिमिटेडको वित्तीय र सञ्चालन अवस्थामा क्रमिक सुधार देखिएको छ ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार कम्पनीले सन् २०२५ मा ३२ करोड ९० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ६ प्रतिशतको वृद्धि हो ।

यस्तै कम्पनीको खुद नाफामा पछिल्ला वर्षहरूमा उल्लेख्य सुधार देखिएको छ । सन् २०२३ मा ०.३९ प्रतिशत मात्र रहेको नाफाको मार्जिन सन् २०२५ मा बढेर ३.८९ प्रतिशत पुगेको छ ।

यस्तै, ऋण तिर्न सक्ने क्षमता पनि सन् २०२३ को १.५९ गुणाबाट सुधार भई ३.२४ गुणा कायम भएको छ ।

यता व्यापार बढे पनि निर्माण सामग्रीको बढ्दो मूल्य र सञ्चालन खर्चका कारण सञ्चालन मुनाफा भने २१.७ प्रतिशतबाट घटेर १७.१ प्रतिशतमा खुम्चिएको छ । सन् २०२५ नोभेम्बरसम्म कम्पनीसँग करिब १ अर्ब ५९ करोड ६० लाख रुपैयाँ बराबरको सडक तथा पुल निर्माण ठेक्का बाँकी रहेको छ।

सरकारी ठेक्कामा हुने ढिलाइ, प्रक्रियागत अवरोध, ब्याजदरमा हुने उतारचढाव र तीव्र प्रतिस्पर्धालाई रेटिङ रिपोर्टले मुख्य जोखिमको रूपमा औंल्याएको छ । आगामी दिनमा नयाँ ठेक्काहरू प्राप्त गर्ने र चालू आयोजनाहरूलाई समयमै सम्पन्न गर्नु कम्पनीका लागि मुख्य चुनौती रहने देखिन्छ ।

इन्फोमेरिक्स नेपालले कम्पनीको कुल १ अर्ब ६१ करोड ७९ लाख रुपैयाँ बराबरको बैंकिङ कर्जा सुविधाका लागि रेटिङ दिएको छ । रिपोर्टअनुसार कम्पनीको २० करोड ४३ लाखको दीर्घकालीन ऋणका लागि ‘आइआरएन बीबी’ र १४ करोड ३० लाखको अल्पकालीन ऋणका लागि ‘आइआरएन ए फाेर’ रेटिङ कायम गरिएको छ । यस्तै, १ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको मिश्रित कर्जाका लागि ‘आइआरएन बीबी/ए फाेर’ रेटिङ प्रदान गरिएको छ ।

सन् १९८७ मा स्थापना भएको यस कम्पनीले हालसम्म ११५ भन्दा बढी आयोजनाहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ । कम्पनीले लुम्बिनीको मायादेवी मन्दिर जीर्णोद्धार, काठमाडौं–भक्तपुर सडक विस्तार र राष्ट्रिय गौरवका आयोजनाहरूमा काम गरिसकेको छ । उत्कृष्ट कार्यसम्पादनका लागि कम्पनीले सन् २०१८ मा एफक्यानबाट ‘गोल्ड अवार्ड’ समेत प्राप्त गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्