नेपालमा एप्पलको आधिकारिक वितरकको लोभलाग्दो आम्दानी, एकै वर्षमा गर्‍यो साढे ६ अर्बमाथिकाे काराेबार - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेपालमा एप्पलको आधिकारिक वितरकको लोभलाग्दो आम्दानी, एकै वर्षमा गर्‍यो साढे ६ अर्बमाथिकाे काराेबार



काठमाडौं। नेपालका लागि एप्पल उत्पादनहरूको एक मात्र आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्राइभेट लिमिटेडले आफ्नो व्यवसायमा उल्लेख्य प्रगति गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल (इन्फोमेरिक्स नेपाल)ले कम्पनीको पछिल्लो सञ्चालन आम्दानीमा वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ । 

कम्पनीले आर्थिक वर्ष २०२५ मा आफ्नो सञ्चालन आम्दानीमा ५४ प्रतिशतले वृद्धि भएर ६ अर्ब ५९ करोड ६ लाख रुपैयाँ पुर्‍याएको छ । अघिल्लो वर्ष २०२५ मा यस्तो आम्दानी ४ अर्ब २९ करोड १ लाख रुपैयाँ मात्र थियो । 

त्यस्तै, २०२३ मा २ अर्ब २१ करोड ८ लाख रुपैयाँ र २०२२ मा ३ अर्ब ५७ करोड १ लाख रुपैयाँ आम्दानी गरेको इन्फोमेरिक्स नेपालको तथ्यांकमा उल्लेख छ । 

कम्पनीको सञ्चालन नाफाको अनुपात समेत बढेको देखिएको छ । सञ्चालन आम्दानी बढेसँगै यो पनि बढेको देखिएको हो । 

२०२४ मा सञ्चालन नाफाको अनुपात ५.०५ प्रतिशतले रहेकोमा २०२५ मा भने यस्तो अनुपात ५.५२ प्रतिशत पुगेको छ । इन्फोमेरिक्स नेपालका अनुसार २०२२ मा ६.२० प्रतिशत थियो भने २०२३ मा ९.५० प्रतिशत थियो । 

रेटिङमा सुधार र वित्तीय अवस्था

इन्फोमेरिक्स नेपालले कम्पनीको २,३६० मिलियन रुपैयाँको छोटो अवधिको बैंक सुविधालाई आइआरएन ए४प्लस बाट आइआरएन ए३ बढेको छ । त्यस्तै, १ करोड ९ लाख रुपैयाँको लामो अवधिको ऋणका लागि आइआर बीबीबी माइनस रेटिङ कम्पनीले पाएको छ । 

कम्पनीको ब्याज कभरेज अनुपात पनि सुधारिएर ३.८४ गुणा पुगेको छ । जसले ऋण तिर्न सक्ने क्षमता बलियो रहेको देखाउँछ ।

बजारमा बलियो उपस्थिति र अनुभवी नेतृत्व

सन् २०१० मा स्थापना भएको यो कम्पनी भीमसारिया समूहको हिस्सा हो  । चार दशकभन्दा लामो अनुभव भएका पवन कुमार भीमसारियाको नेतृत्वमा रहेको यस कम्पनीको देशभर बलियो सञ्जाल छ । हाल कम्पनीसँग डेल का लागि १५० भन्दा बढी र एप्पलका लागि ५० भन्दा बढी आधिकारिक बिक्रेताहरू रहेका छन् । 

कम्पनीले काठमाडौं उपत्यकामा दुईवटा आफ्नै एप्पल सेवा केन्द्रहरू पनि सञ्चालन गरिरहेको छ ।

चुनौती र जोखिमका पक्षहरू

व्यापार बढे पनि कम्पनीको राजस्वमा एप्पल ब्रान्डमाथिको निर्भरता अत्यधिक बढेको रिपोर्टले देखाएको छ । आर्थिक वर्ष २०२३ मा ५० प्रतिशत रहेको एप्पलको हिस्सा २०२५ मा आइपुग्दा ९७ प्रतिशत पुगेको छ । 

तीव्र प्रतिस्पर्धा र डलरको विनिमय दरमा हुने उतारचढाव कम्पनीका लागि मुख्य चुनौतीका रूपमा रहेको इन्फोमेरिक्स नेपालले औँल्याएको छ ।  

यसका साथै, प्रविधिमा हुने द्रुत परिवर्तन र सरकारी नीतिहरूमा हुने फेरबदलले पनि कम्पनीको भविष्यको नाफा र सञ्चालनमा असर पार्न सक्ने रेटिङ एजेन्सीले औँल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्