८ श्रावण २०८३, शुक्रबार

टुँडिखेलमा सोनाम ल्होछारको रौनक (तस्वीरहरू)



काठमाडौं । माघ शुक्ल प्रतिपदाका अवसरमा आज देशभरका तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक २८६१औँ सोनाम ल्होछार मनाएका छन्। काठमाडौंको मुटु टुँडिखेलमा आयोजित विशेष समारोहले तामाङ जातिको मौलिक पहिचान र सांस्कृतिक वैभवलाई जीवन्त तुल्याएको छ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि पुरानो वर्ष समाप्त भई नयाँ वर्ष सुरु भएको छ। तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ हुने भएकाले यस दिनलाई नयाँ युग र समयको सुरुवातको रूपमा लिइन्छ। यस अवसरमा टुँडिखेलमा उपस्थित तामाङ समुदायका मानिसहरूले एक-अर्कालाई शुभकामना साटासाट गर्दै सुख, शान्ति र समृद्धिको कामना गरे।

सोनाम ल्होछारको अवसरमा तामाङ समुदायका विभिन्न संघसंस्थाहरूले काठमाडौंका विभिन्न स्थानबाट साँस्कृतिक झाँकीसहितको र्‍याली निकालेका थिए। आफ्नै मौलिक भेषभूषा, गरगहना र बाजागाजासहितका र्‍यालीहरू टुँडिखेलमा पुगेर मूल समारोहमा परिणत भएका थिए।

टुँडिखेलको मञ्चमा तामाङ जातिको सांस्कृतिक संस्थाहरू ताम्बा, बोन्बो तथा लामाहरूको विशेष उपस्थिति र धार्मिक विधिहरू प्रदर्शन गरिएका थिए। परम्परागत सेलो, डम्फुको तालमा नाचिएका नृत्य र गीतहरूले टुँडिखेलको वातावरण साङ्गीतिक बनेको थियो। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त तामाङ कलाकारहरूको प्रस्तुतिले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध पारेको छ।


प्रतिक्रिया दिनुहोस्