प्रतिनिधिसभा निर्वाचन: प्रत्यक्षतर्फ आज देशैभर उम्मेदवारी दर्ता गरिँदै
काठमाडौं । आगामी फागुन २१ को चुनावका लागि आज देशभर प्रत्यक्षतर्फका उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गर्दैछन्।
आज मुलुकभरका १६५ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मनोनयन दर्ता प्रक्रिया सुरु हुँदैछ। इच्छुक उम्मेदवारहरूले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराउने निर्वाचन आयोगले जनाएकाे छ।
उम्मेदवारी दर्ताका लागि आयोगले केही अनिवार्य सर्तहरू तोकेको छ। उम्मेदवारले आफ्नो आधिकारिकताका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। यसका साथै, सम्बन्धित उम्मेदवारको नाम कुनै पनि स्थानीय तहको अन्तिम मतदाता नामावलीमा समावेश भएको आधिकारिक निस्सा (प्रमाण) समेत अनिवार्य गरिएको छ।
दर्ता प्रक्रियालाई व्यवस्थित र भिडभाडमुक्त बनाउन आयोगले प्रमुख राजनीतिक दलहरूका लागि फरक–फरक समयसीमा निर्धारण गरेको छ। निर्वाचनलाई मर्यादित बनाउन शक्ति प्रदर्शन वा तडकभडक नगर्न र शान्तिपूर्ण रूपमा प्रक्रियामा सहभागी हुन आयोगले सबै पक्षलाई आग्रह गरेको छ।
समानुपातिकतर्फका उम्मेदवारको सूची यसअघि नै टुङ्ग्याइसकेको आयोगले अब प्रत्यक्ष प्रणालीतर्फका १६५ सिटका लागि प्रक्रिया अघि बढाएको हो। प्रतिनिधिसभाका कूल २७५ सदस्यमध्ये ११० जना समानुपातिकबाट र बाँकी प्रत्यक्ष निर्वाचनमार्फत छानिने संवैधानिक व्यवस्था छ।
गत भदौको राजनीतिक घटनाक्रम र ‘जेनजी’ आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारले यस निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सुरक्षा र स्रोत–साधनको उचित प्रबन्ध मिलाएको छ। विशेष निर्वाचन प्रहरीको परिचालन र दलहरूको आन्तरिक तयारी अन्तिम चरणमा पुगेसँगै आज देशभर उल्लासमय वातावरणमा मनोनयन दर्ता हुने अपेक्षा गरिएको छ।













