नारायणी आयल रिफाइनरीको व्यापारमा उछाल, एक वर्षमै बेच्यो १० अर्ब २१ करोडको तेल
काठमाडौँ। नारायणी आयल रिफाइनरी उद्योग प्रालिको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ। बारा जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको नारायणी आयलले सन् २०२५ मा १० अर्ब २१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।
केयर रेटिङ्स नेपालले सार्वजनिक गरेको रेटिङ रिपोर्टअनुसार कम्पनीको आम्दानीमा पछिल्लो वर्ष उत्साहजनक सुधार आएको छ । रिपोर्टअनुसार कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा १२३ प्रतिशतले बढेको छ । सन् २०२३ मा ६ अर्ब ४१ करोड १० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा ४ अर्ब ५८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।
खाद्य तेल अत्यावश्यक वस्तु भएकाले यसको स्थिर माग र भारतीय बजारमा निर्यातको अवसरले कम्पनीको व्यापार वृद्धिमा सहयोग पुर्याएको छ । कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि गराएको क्रेडिट रेटिङमा ५ अर्ब १७ करोड ४० लाख रुपैयाँको कर्जा सीमा निर्धारण गरिएको छ ।
कम्पनीले लिएको १ अर्ब ६५ करोड रुपैयाँ बराबरको दीर्घकालीन ऋणका लागि ‘केयर-एनपी बीबी प्लस’ र ३ अर्ब ५२ करोड ४० लाख रुपैयाँ बराबरको अल्पकालीन ऋणका निम्ति ‘केयर-एनपी ए फोर प्लस’ रेटिङ प्रदान गरिएको छ ।
सन् १९८९ देखि सञ्चालनमा रहेको नारायणी आयल रिफाइनरी नेपालको खाद्य तेल उत्पादन क्षेत्रमा तीन दशकभन्दा पुरानो र स्थापित नाम हो । कम्पनी स्थापित व्यावसायिक घराना ‘चचान ग्रुप’ द्वारा व्यवस्थित छ र यसको नेतृत्व निर्देशक निखिल चचानले गरिरहेका छन् । कम्पनीले ‘त्रिशक्ति’, ‘स्माइल’ र ‘आरोग्य’ जस्ता ब्रान्ड नाममा सोयाबिन, पामोलिन र सूर्यमुखी तेल बिक्री गर्दै आएको छ ।
तेल उद्योग अन्तर्राष्ट्रिय कच्चा पदार्थको मूल्य र सरकारी नीतिबाट प्रत्यक्ष प्रभावित हुने क्षेत्र हो । कम्पनीको सञ्चालन मुनाफा ७.७१ प्रतिशत र खुद नाफा ५.२९ प्रतिशत कायम भएको छ । कम्पनीको ऋण तिर्न सक्ने क्षमता सन् २०२५ मा ३.९० गुणा रहेको छ, जसले संस्थाको वित्तीय अवस्था सुधारोन्मुख रहेको संकेत गर्दछ ।
यो उद्योग ‘वर्किङ क्यापिटल इन्टेन्सिभ’ अर्थात् धेरै कार्यशील पुँजी चाहिने प्रकृतिको छ । कम्पनीले कच्चा पदार्थ आयात गर्दा अमेरिकी डलरमा भुक्तानी गर्नुपर्ने भएकाले विदेशी मुद्राको उतारचढावले नगद प्रवाहमा चाप पार्ने जोखिम रहन्छ ।
यस्तै, कम्पनीको आम्दानीको ठुलो हिस्सा (करिब ६७ प्रतिशत) भारततर्फको निर्यातमा निर्भर रहेकाले भारतीय भन्सार नीतिमा हुने परिवर्तनलाई जोखिमको रूपमा हेरिएको छ । रिपोर्टअनुसार नारायणी आयलले आगामी दिनमा आफ्नो बजार सन्तुलन मिलाउने र सञ्चालन दक्षता बढाउने योजना बनाएको छ। अत्यावश्यक वस्तुको व्यापार भएकाले मागको जोखिम कम हुनु कम्पनीका लागि सकारात्मक पक्ष हो ।













