आईपीओ तयारीमा रहेकाे अन्नपूर्ण माछा दाना उद्योगको उत्साहजनक व्यापार, एक वर्षमा करिव ४० कराेड आम्दानी
काठमाडौं। अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडको व्यापारमा उत्साहजनक वृद्धि देखिएको छ। चितवनको खैरहनीमा प्लान्ट स्थापना गरी ‘मत्स्य राजा’ ब्रान्डमा माछाको दाना उत्पादन गर्दै आएको यस कम्पनीले सन् २०२५ मा ३९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको रेटिङ रिपोर्टअनुसार कम्पनीको व्यापारिक कारोबारमा उल्लेख्य सुधार आएको हो। व्यावसायिक सञ्चालनको पहिलो वर्ष अर्थात् सन् २०२४ मा ७ करोड ९० लाख रुपैयाँको मात्र व्यापार गरेको कम्पनीले पहिलो पूर्ण वर्षमै आफ्नो आम्दानीलाई निकै बढाउन सफल भएको छ।
रिपोर्टअनुसार कम्पनीको पुँजीगत संरचनामा पनि सुधार आइरहेको छ। सन् २०२४ मा १.८४ गुणा रहेको समग्र गेयरिङ रेसियो सन् २०२५ मा घटेर १.२१ गुणामा झरेको छ। प्रवर्द्धकहरूले थप पूँजी लगानी (इक्विटी इन्फ्युजन) गरेसँगै कम्पनीको वित्तीय अवस्था सुदृढ बन्दै गएको हो। सन् २०२५ मा कम्पनीको एबिटा मार्जिन १५.१८ प्रतिशत कायम भएको छ।
कम्पनीले आफ्नो वित्तीय साख मूल्याङ्कनका लागि गराएको क्रेडिट रेटिङमा इन्फोमेरिक्स नेपालले ‘आईआरएन डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यस्तो रेटिङ प्राप्त गर्ने निकायहरूमा वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमतामा मध्यम जोखिम रहेको मानिन्छ।
यस्तै उद्योगले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया समेत अघि बढाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित दरका १०,०९,५३१ कित्ता साधारण शेयर, जम्मा रु. १० कारेड ०९ लाख ५३ हजार १०० बराबरको शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिरकेकाे छ।
अन्नपूर्ण माछा दाना उद्योग अनुभवी र स्रोतसाधन सम्पन्न प्रवर्द्धकहरूद्वारा सञ्चालित छ। ५ सदस्यीय सञ्चालक समिति रहेको यस कम्पनीको नेतृत्व अध्यक्ष निरञ्जन थापाले गरिरहेका छन्। उनीसँग एक्वाकल्चर र अन्य व्यवसायको लामो अनुभव छ। कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा यश पुरी कार्यरत छन्, जोसँग करिब एक दशकको व्यवस्थापकीय अनुभव छ। कम्पनीमा उमेश जंग थापाको सबैभन्दा धेरै २६ प्रतिशत सेयर हिस्सा रहेको छ भने टिम भेन्चर्स लिमिटेड जस्ता संस्थागत लगानीकर्ताको पनि प्रतिनिधित्व छ।
सरकारले सन् २०२४–२०३४ लाई ‘कृषिमा लगानीको दशक’ घोषणा गरेको र माछा पालन क्षेत्रलाई प्राथमिकता दिएका कारण यस उद्योगको भविष्य उज्ज्वल देखिएको रेटिङ रिपोर्टमा उल्लेख छ। बारामा फिस करिडोर निर्माण र अनुदान जस्ता सरकारी नीतिको प्रत्यक्ष लाभ कम्पनीले लिने अपेक्षा गरिएको छ।
यद्यपि, कम्पनीसामु केही व्यावसायिक चुनौतीहरू पनि रहेका छन्। दाना उत्पादनका लागि आवश्यक कच्चा पदार्थ (मकै, भटमास, गहुँ) को मूल्यमा हुने उतारचढाव र अन्तर्राष्ट्रिय बजारबाट डलरमा हुने आयातले विदेशी विनिमय जोखिम सिर्जना गरेको छ। कम्पनीले भारत, चीन र लाटभियाबाट कच्चा पदार्थ आयात गर्ने गर्दछ।
यस्तै, यो व्यवसाय ‘वर्किङ क्यापिटल इन्टेन्सिभ’ प्रकृतिको छ। कच्चा पदार्थ मौज्दात राख्नुपर्ने र बजारबाट पैसा उठ्न समय लाग्ने (औसत ६० दिन) भएकाले कम्पनीको कार्यशील पूँजी व्यवस्थापनमा चाप पर्न सक्ने देखिएको छ। माछामा लाग्ने रोग र जलवायु परिवर्तनका कारण हुने जोखिमले पनि यसको मुख्य ग्राहक आधार (माछा पालक किसान) प्रभावित हुन सक्ने तर्फ रिपोर्टले सचेत गराएको छ।
अन्नपूर्ण माछा दाना उद्योगले प्रतिघण्टा ५ टन तैरिने दाना उत्पादन गर्न सक्ने क्षमताको स्वचालित प्लान्ट सञ्चालन गरिरहेको छ। आगामी दिनमा आफ्नो उत्पादन क्षमताको पूर्ण उपयोग गर्दै सञ्चालन दक्षता बढाउनु र बजारमा बढ्दो प्रतिस्पर्धाबीच आफ्नो हिस्सा सुरक्षित राख्नु कम्पनीको मुख्य कार्यभार रहने देखिन्छ।













