बजार विस्तारमा आक्रामक बन्दै खजुरीकाे नेपालः एकै वर्षमा बेच्यो २ अर्ब ४ करोडको बिस्कुट तथा कुकीज - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बजार विस्तारमा आक्रामक बन्दै खजुरीकाे नेपालः एकै वर्षमा बेच्यो २ अर्ब ४ करोडको बिस्कुट तथा कुकीज



काठमाडौं ।बिस्कुट तथा कन्फेक्सनरी क्षेत्रको स्थापित ब्रान्ड ‘खजुरीको’ उत्पादन गर्ने खजुरीको नेपाल प्रालिले आफ्नो बजार विस्तारलाई निकै आक्रामक बनाएको छ।

खजुरीको नेपाल प्रालि)को व्यापारमा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले आर्थिक वर्ष २०२४/२५ मा झन्डै २० प्रतिशतको व्यापार वृद्धि हासिल गरेको छ ।

सन् २०२४/२५काे एक वर्षमा कम्पनीले २ अर्ब ४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ। गत ५ वर्षको तथ्यांक हेर्ने हो भने कम्पनकिो व्यापार लगातार बढ्दो ग्राफमा देखिएको छ।

सन् २०२१ मा १ अर्ब २८ करोड ६० लाख, सन् २०२२ मा १ अर्ब ६४ करोड, २०२३ मा १ अर्ब ७० करोड १० लाख र सन् २०२४ मा १ अर्ब ७० करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।

यो वृद्धिको लय चालु आर्थिक वर्ष २०२५÷२६ को पहिलो चार महिनामा अझ उत्साहजनक देखिएको छ, जहाँ कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतको वृद्धि दर्ता गरेको छ ।

कम्पनीको सञ्चालन नाफा मार्जिन भने कच्चा पदार्थको मूल्यमा भएको उतारचढावका कारण केही दबाबमा देखिएको छ। सन् २०२४ मा १८ प्रतिशत रहेको यस्तो मार्जिन सन् २०२५ मा घटेर १२ प्रतिशतमा झरेको छ ।

यद्यपि, कम्पनीले आफ्नो पूँजी संरचनामा सुधार गर्दै ऋणको भार घटाउन सफल भएको छ। सन् २०२३ मा ४.० गुणा रहेको ऋण र नेटवर्थको अनुपात सन् २०२५ सम्म आइपुग्दा सुधारिएर १.५९ गुणामा झरेको छ । यो सुधार मुख्यतया कम्पनीमा थप १५ करोड रुपैयाँ बराबरको नयाँ इक्विटी इन्फ्युजन (पुँजी थप) भएका कारण सम्भव भएको हो ।

कम्पनीको वित्तीय अवस्थामा आएको यो सकारात्मक परिवर्तन र बलियो बजार उपस्थितिलाई आधार मान्दै क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले खजुरीकोको कर्जा रेटिङमा सुधार गरेको छ ।

इक्रा नेपालले कम्पनीको १ अर्ब २६ करोड ९७ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि प्रदान गर्दै आएको रेटिङलाई एलबी प्लसबाट बाट अपग्रेड गरी एलबीबी कायम गरेको छ । त्यसैगरी, २३ करोड ३ लाख रुपैयाँको छोटो अवधिको कर्जाका लागि ए फोर रेटिङलाई नै निरन्तरता दिएको छ।

यस्तै लामो समयदेखि असहयोगी संस्थाको सूचीमा रहेको यस कम्पनीले आवश्यक सूचना तथा विवरणहरू उपलब्ध गराएसँगै इक्राले यसलाई उक्त नकारात्मक सूचीबाट समेत हटाएको छ ।

यद्यपि, कम्पनीका सामु केही गम्भीर वित्तीय र व्यवस्थापकीय चुनौतीहरू अझै कायम रहेका छन्। कम्पनीको नगद प्रवाहको तुलनामा साँवा भुक्तानीको दायित्व निकै बढी रहेका कारण ऋण तिर्न सक्ने क्षमता दर्शाउने सूचक ’डेब्ट सर्भिस कभरेज रेसियो’ सन् २०२५ मा ०.९४ गुणामा खुम्चिएको छ, जुन सन् २०२३ मा १.३७ गुणा थियो ।

यसले कम्पनीमा तरलताको केही दबाब रहेको देखाउँछ। साथै, कम्पनीको व्यापारिक निर्भरता केही सीमित उत्पादनमा मात्रै केन्द्रित हुनु अर्को जोखिमको पाटो हो। कुल आम्दानीको करिब ७८ प्रतिशत हिस्सा दुईवटा प्रमुख उत्पादनबाट मात्रै प्राप्त हुने गरेको छ । यसका अतिरिक्त बजारमा रहेका अन्य स्थापित स्वदेशी तथा बहुराष्ट्रिय ब्रान्डसँगको तीव्र प्रतिस्पर्धा र गहुँ, चिनी, पाम आयल जस्ता कच्चा पदार्थको मूल्यमा हुने अन्तर्राष्ट्रिय उतारचढावले कम्पनीको नाफालाई प्रभावित पार्ने देखिन्छ ।

सन् १९९५ मा एउटा सानो प्रोप्राइटरसिप फर्मबाट सुरु भएको यो व्यवसाय सन् २००४ मा कम्पनीको रूपमा दर्ता भएको थियो । हाल यो कम्पनीले ललितपुर, चितवन र मकवानपुरमा आफ्नै उत्पादन केन्द्रहरू रहेको खजुरीकोले बिस्कुट, कुकिज र पफ उत्पादन गरी ‘खजुरीको’ ब्रान्ड नाममा बिक्री वितरण गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्