साताको शेयर बजार : देश चुनावमय भएपछि बढ्यो ७३ अंकले नेप्से
काठमाडौं । प्रतिनिधि सभाका लागि आगामी फागुन २१ गते निर्वाचनका लागि अहिले देश चुनावमय भएको छ । अहिले सबै दलहरूले निर्वाचनमा होमिनका लागि मनोनयन दर्ता गराइसकेका छन् ।
अहिले प्राय सबै दलहरू चुनावी प्रचारण प्रसारमा व्यस्त छन् । गत भदौ २३ र २४ गते भएको जेन–जी जनआन्दोलन पछि बनेको नागरिक सरकारले निर्वाचन गराउन सक्ने हो वा होइन भन्ने भएसँगै शेयर बजारमा पहिरो गएको थियो ।
तर, अहिले सबै दलहरूले उम्मेदवारी गर्दा गरेर चुनाव प्रचारमा गएपछि निर्वाचन हुने र देशले निकास पाउने भएपछि शेयर बजारमा समेत हरियाली छाएको छ । चुनाव नजिकिँदै गर्दा शेयर बजारका लगानीकर्ताले पनि खुलेर लगानी गर्न थालेका छन् ।
जेन–जी जनआन्दोलन पछि शेयर बजारमा मन्दी छाएर ३–४ अर्बको वरिपरि कारोबार हुन थालेकोमा कारोबार रकम बढेर ११ अर्बसम्म पुगेको छ । यसले लगानीकर्ताले कन्फिडेन्सका साथमा बजारमा पैसा खुलेर लगानी गरिरहेको देखिन्छ ।
एक सातामा (पुस ४ गतेदेखि ८ गतेसम्म) मात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७३.१८ अंकले बढेको छ । अघिल्लो साताको बिहीबार २६४१.४३ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २.७५ प्रतिशतले बढेर २७१४.६१ विन्दुमा आएको छ ।
यो साता ४ दिन मात्र शेयर कारोबार हुँदा नेप्से परिसूचक उच्चतम २७२८ विन्दु र न्यूनतम २६४० विन्दुको बिचमा कारोबार भएको थियो । ३ दिन बजार बढ्दा एक दिन बजार घटेपनि दैनिक औसतमा भने १८.३० अंकले नेप्से बढेको थियो ।
सातामा ४ दिन मात्र कारोबार हुँदा पनि यो साता कारोबार ले उच्च विन्दुमा भयो । पुरै सातामा ३८ अर्ब २५ करोड ८८ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औसतमा भने ९ अर्ब ५६ करोड ४७ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भयो ।
पुरै सातामा ८ करोड २५ लाख १४ हजार ७६५ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा भने २ करोड ६ लाख २८ हजार ६९२ कित्ता शेयर कारोबार भयो ।
चार दिनको अवधिमा ३ लाख ९४ हजार ५६६ पटक शेयर किनबेच हुँदा दैनिक औसतमा भने ९८ हजार ६४२ पटक शेयर किनबेच भयो । दैनिक औसतमा ३३३ वटा कम्पनी कारोबारमा आयो ।
सातामा भएको कारोबारका हिसाबले निर्वाचनले गर्दा शेयर बजारमा बढोत्तरी भएको र अब बजार उकालो यात्रामा लागेको संकेत गरेको छ ।
कुन दिन कस्तो थियो बजार ?
सताको पहिलो दिन आइतबार बजारमा उच्च अंकको वृद्धि देखियो । आइतबारै नेप्से ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा पुग्यो ।
उक्त दिन नेप्से १.१७ प्रतिशतले बढ्दा बजारमा ३२ अंकको उतारचढाव देखियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २६७२ र न्यूनतम २६४० विन्दुमा पुगेको थियो ।
बढेको बजारलाई कारोबार रकमाले समेत साथ दिएको थियो । अघिल्लो हप्ता ६ अर्ब हाराहारीमा कारोबार हुँदा आइतबार बढेर ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँको कारोबार भयो ।
उक्त दिन ३३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ९५ हजार ४४५ पटक किनबेच भएको थियो ।
सोमबार लोसार भएकाले गर्दा शेयर बजार कारोबार भएन । तर मंगलबार भने बजार उछालै आएको थियो । मंगलबार एकै दिन नेप्से ४२.२६ अंकले बढेर बन्द भएको थियो ।
मंगलबार नेप्से १.५८ प्रतिशतले बढेर २७१४.८१ विन्दुमा पुगेको थियो । उक्त दिन बजारमा ४८ अंकको उतारचढाव देखिएको थियो । मंगलबार नेप्से परिसूचक उच्चतम २७२६ विन्दु र न्यूनतम २६७८ विन्दुसम्म पुगेको थियो ।
मंगलबार कारोबार रकमा त उच्च दरले वृद्धि देखियो । लामो समय पछि ११ अर्बको कारोबार भएको थियो । उक्त दिन दिनभरमा ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार रुपैयाँ बराबरको ३३९ वटा कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता शेयर १ लाख १५ हजार १८१ पटक किनबेच भएको थियो ।
लगातार चार दिनसम्म बढेको बजारमा बुधवार भने ब्रेक लाग्यो । अघिल्लो दिन बजारमा उच्च अंकले वृद्धि देखिएकाले लगानीकर्ताले प्रफिट बुक गरेका करले गर्दा बजारमा बिक्रीकर्ता हाबी हुँदा बजार घट्न पुग्यो ।
बुधवार दिनभरमा बजारमा ३९ अंकको उतार चढाव आउँदा बजार बन्द हुँदा भने नेप्से ९.४३ अंकले घट्न पुग्यो । उक्त दिन नेप्से ०.३४ प्रतिशतले घटेर परिसूचक २७०५.३८ विन्दुमा कायम भयो ।
उक्त दिन नेप्से परिसूचक उच्चतम २७२८ र न्यूनतम २६९५ विन्दुसम्म पुगेको थियो ।
बुधवार प्रफिट बुक गरेका कारण बजार घटेपछि कारोबार रकमा पनि गिरावट देखियो । उक्त दिन ३२४ वटा कम्पनी कारोबारमा आउँदा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता शेयर ८९ हजार ७६६ पटक किनबेच भयो ।
साताको अन्तिम दिनको बजारमा भने फेरी रौनक देखियो । बिहीबार बजार फेरी ९.२३ अंकले बढेरै बन्द भयो । उक्त दिन नेप्से ०.३४ प्रतिशतले बढेर २७४१.६१ विन्दुमा आएर बजार बस्यो ।
बिहीबार बजारमा २१ अंकको उतारचढाव देखियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २७१४ विन्दुमा थियो भने न्यूनतम २६९३ विन्दुमा झरेको थियो ।
साताको अन्तिम कारोबारको दिन बजार सुधार भएपछि कारोबार रकमा समेत सुधार देखिएको थियो । उक्त दिन दिनभरमा ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँ बारवरको १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता शेयर ९४ हजार १७४ पटक किनबेच भएको थियो ।
उक्त दिन दिनभरमा ३३२ वटा कम्पनी कारोबारमा आएको थियो ।













