सुन बेच्नेमात्रै छन्, किन्ने छैनन् - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुन बेच्नेमात्रै छन्, किन्ने छैनन्



काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ नाघेपछि सुनचाँदी व्यवसायीहरूले सुनका गरगहना आमनेपालीको क्रयक्षमताभन्दा बाहिर पुगेको टिप्पणी गरेका छन्।

आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ । माघेसंक्रातिका दिन सुनको मूल्य तोलाको २ लाख ७६ हजार ५ सय थियो। यसरी सुनको भाउ ‘दिन दो गुना, रात चौ गुना’ बढेको छ । त्यसले मान्छेहरु अब सुन किन्न होइन, बेच्नमात्रै तम्सिन थालेको व्यवसायीले बताएका छन् ।

‘अहिले सुनको कारोबार त खासै छैन। एक हिसाबले सुनको मूल्य नेपालीको क्रयशक्तिभन्दा माथि गएको महसुस भएको छ’, सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले भने, ‘मानिसहरू सुन बेच्न आइरहेका छन्, किन्न आइरहेका छैनन्।’

‘सुनचाँदी व्यवसायीहरूले अहिलेसम्मचाहिँ किनिरहेकै छन् । तर मूल्य अझै माथि भयो भने (हामीलाई पनि) गाह्रो हुन्छ।’ उनले थपे ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार अमेरिकी व्यापार नीतिमा आएको परिवर्तन र विश्वका विभिन्न क्षेत्रमा देखिएका द्वन्द्वका कारण सुनको मूल्यमा यो अवस्था देखा परेको हो। ‘यो अवस्था कम्तीमा तीन वर्ष कायम रहन सक्ने देखिन्छ,’ उनले भने।

नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारअनुसार तलमाथि हुने गर्छ। सुनका गरगहनामा गरिने लगानीलाई सामान्यत: सुरक्षित मानिन्छ। अन्यत्रजस्तै नेपालमा पनि सम्पत्तिको एउटा उपकरणका रूपमा यसको कारोबार हुँदै आएको छ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्राध्यापक रामप्रसाद ज्ञवाली सुनको मूल्य केही समय अगावैदेखि न्यून तथा मध्यम आय भएका वर्गको पहुँचबाहिर रहँदै आएको बताउँछन्। उनले भने, ‘सक्नेले चाहिँ किनिरहेकै हुनुपर्छ।’

यद्यपि सुनको मूल्य निरन्तर बढिरहेको अवस्थामा नेपालीहरूका लागि अन्य सुरक्षित लगानीका विकल्पहरू सीमित रहेकोमा थापा र ज्ञवाली दुवै एकमत सुनिए।

विकल्पमा चाँदी

सुनचाँदी व्यवसायी शाक्यका अनुसार मूल्य बढेसँगै सुनको कारोबारमा उल्लेख्य कमी आए पनि चाँदीको किनबेच भने यथावत् छ।

नेपाली बजारमा आइतबार चाँदीको मूल्य प्रतितोला ६ हजार ४८० रुपैयाँ पुगेको छ। माघ १ गते यही चाँदीको भाउ ५ हजार ४ सय ८५ रुपैयाँ थियो। यसरी १० दिनको अन्तरालमा चाँदीको भाउ तोलामै १ हजार रुपैयाँ महँगिएको छ । तै पनि चाँदीको खरीद रोकिएको छैन ।

‘चाँदी किन्न आउनेहरू छन्, यसको मूल्य नेपालीको क्रयक्षमताभित्रै पनि छ’, चाँदीमाथिको लगानीलाई सुरक्षित ठानिनुपछिको कारणबारे शाक्य भन्छन्, ‘विश्वव्यापी रूपमा चाँदीको औद्योगिक माग निकै उच्च छ र मागअनुसारको आपूर्ति भइरहेको छैन।’

नेपालमा पनि चाँदीको माग छ, तर सामानको नभइ ढिक्का वा बारको माग हुने गरेको उनले बताए । भविष्यमा चाँदीको माग अझ बढ्ने संभावना दर्शाउँदै उनी भन्छन्, ‘इलेक्ट्रिक सवारी साधनका ब्याट्रीमा यसको उपयोगलाई लिएर विभिन्न किसिमका परीक्षणहरू भइरहेका छन्। त्यसमा चाँदीको खाँचो बढ्यो भने माग पनि बढ्न सक्छ।’

अन्यत्र मुलुममा ‘पेपर गोल्ड’को चलन पनि छ । तर नेपालमा त्यसको कारोबारका निम्ति कुनै कानुनी व्यवस्था छैन । ‘पेपर गोल्ड’ भन्नाले भौतिक सुन नभइ सुनको मूल्यसँग जोडिएका वित्तीय साधनहरू (डेरिभेटिभ्स)लाई जनाउँछ।

वैकल्पिक लगानीको समस्या

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापाले नेपाली लगानीकर्ताहरू यतिबेला सुरक्षित लगानीका क्षेत्रका हिसाबले विकल्पहीन देखिएका बताए ।

‘बैंकमा राख्दा ब्याजदर दुई प्रतिशतको हाराहारीमा छ। घरजग्गा मूल्यका कारणले पहुँचभन्दाबाहिर गयो। शेयरबजारको धरातल त्यति बलियो छैन, किनकी सूचीकृत कम्पनीहरूले पहिले झैँ लाभांश दिन सक्ने स्थिति छैन,’ उनले भने, ‘नेपालीहरूले विकल्प खोजिरहेका छन्, तर पाइरहेका छैनन्।’

प्राध्यापक ज्ञवाली पनि केही समययता नेपालमा सानाठूला सबै प्रकारका लगानीकर्ताहरू समस्यामा रहेको बताउँछन् । ‘जेन जी आन्दोलनपछि नेपालको राजनीतिक वातावरण अनिश्चित जस्तो छ र मानिसहरू लगानी गर्न डराइरहेका छन्। बैंकहरूमै अर्बौँ रुपैयाँ लगानीयोग्य रकम (तरलता) जम्मा भएर बसेको छ।

‘धेरथोर लगानी गर्न सक्नेहरूलाई लगानीका सबै क्षेत्रको ज्ञान हुने कुरा पनि भएन र हरेकमा केही न केही निहित जोखिम पनि हुने नै भए’, ज्ञवालीले भने, ‘सुनमा गरिने लगानी सबैभन्दा सुरक्षित हो । तर गहना किन्दा जर्ति काट्ने भएकाले बेच्दा फाइदा हुँदैन। सिक्का हुन्थ्यो भने सतप्रतिशत त्यहीँ रहन्थ्यो र बजार मूल्यअनुरूप बिक्थ्यो। गहना बेच्दा १५–२० प्रतिशत नै घटेर बेच्नु पर्ने हुन्छ।’

सुनचाँदी व्यवसायी शाक्यका अनुसार सुनका हकमा नेपालमा उपभोक्तालाई ढिक्का नभइ तयारी गरगहना मात्रै बिक्री गर्ने गरिन्छ।

विज्ञले सुझाएका विकल्प

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापा बैंक तथा वित्तीय उपकरणमा गरिने लगानी यतिबेला तुलनात्मक रूपमा सुरक्षित हुने धारणा राख्छन्।

उनले भने, ‘केन्द्रीय बैंक छ र त्यसले बाणिज्य बैंकहरूलाई डुब्न दिँदैन। हिजोको जस्तो प्रतिफल आउने अवस्था त छैन, तथापि अन्य क्षेत्रमध्ये बैंकिङ क्षेत्र सुरक्षित नै छ।’

प्राध्यापक ज्ञवाली भने ऐतिहासिक रूपमै ब्याजदर तल झरेको यो अवस्थामा बैंकमा लगानी गर्ने कुरालाई त्यति आकर्षक ठान्दैनन्। उनी भन्छन्, ‘भारतमा भन्दा पनि न्यून ब्याजदर भएको स्थिति छ र पुँजी पलायनको जोखिम समेत त्यत्तिकै छ। कसरी निकास हुन्छ चुनौतीकै विषय छ।’

थोरै पुँजी भएकाहरूले व्यवसाय आदिमा लगानी गर्दा उचित हुन सक्ने प्राध्यापक ज्ञवाली बताउँछन्। ‘कि व्यापारमा लगाउनुपर्‍यो या उद्यमशीलतामा जानुपर्‍यो। व्यवसाय गर्ने र (त्यसबाट) कमाउने गर्नुपर्‍यो,’ उनले थपे ।

पूर्वबैंकर थापा राज्यले पनि पुँजीनिर्माणतर्फ जोड दिएको नदेखिएकाले लगानीकर्ताहरूले विकल्प नपाएका बताउँछन्। ‘जलविद्युत लगायतका लाभदायक क्षेत्रका धेरै कामहरू सरकारी संयन्त्रभित्रकै विभिन्न व्यावधानका कारण अवरुद्ध भएका छन् भने कतिपय स्थानमा नीतिगत अस्पष्टताले समस्या सिर्जना गरेको छ,’ उनी भन्छन्।

‘जबसम्म सरकारले निर्यातको सम्भावना भएका र आयात प्रतिस्थापन गर्न सक्ने जलविद्युत तथा पूर्वाधारजस्ता तुलनात्मक लाभका क्षेत्रमा आफैं अग्रसर भई निजी क्षेत्रबाट व्यापक लगानी हुने वातावरण तयार गर्दैन, बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको लगानीयोग्य पूँजी परिचालन गर्ने स्पष्ट व्यवस्था गर्दैन, तबसम्म यस्तो अवस्था कायमै रहन्छ’, उनी भन्छन् ।

(बीबीसी नेपाली सेवाबाट)


प्रतिक्रिया दिनुहोस्