‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना हुने
काठमाडाैं । नेपालको अग्रणी प्रविधि सञ्चार माध्यम आइसिटी फ्रेमले टेक-एक्ससँगको सहकार्य र टेक ब्लगर्स एसोसिएसन अफ नेपालको सहयोगमा ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने घोषणा गरेको छ ।
“नवप्रवर्तनको सम्मान, उत्कृष्टताको उत्सव” भन्ने नाराका साथ आयोजना हुन लागेको यस राष्ट्रिय स्तरको प्रतिस्पर्धा आगामी २ मे २०२६ (१९ वैशाख २०८३) मा सम्पन्न हुनेछ ।
यस पहलले देशभरका स्नातक विद्यार्थी, स्वतन्त्र विकासकर्ता र उदीयमान प्रविधि नेताहरूलाई आफ्नो सीप प्रदर्शन गर्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ ।
यस अवार्डको औपचारिक उद्घाटन गर्दै लिबर्टी कलेजका प्रिन्सिपल डा. देवराज पनेरुले आधुनिक शिक्षामा परियोजनामा आधारित सिकाइको महत्त्वमा जोड दिएका छन् ।
यस प्रतियोगिताको अवधारणात्मक रूपरेखा साइबर सुरक्षा विज्ञ तथा वान कभर प्रालिका सिइओ चिरञ्जीवी अधिकारीले तयार पारेका हुन् । उनका अनुसार आइटीपीसीले विचारहरूको मूल्याङ्कन योग्यता, प्रभाव र दीर्घकालीन सम्भावनामा आधारित रहेर गर्नेछ, जसले विद्यार्थीलाई कक्षाकोठाको ग्रेडभन्दा बाहिरको व्यावसायिक संसारसँग जोड्नेछ ।
प्रतियोगितालाई लिएर टेक राज अवस्थी, मेघा मण्डल र बिशेष जंग नेपाली लगायतका युवाहरूले उत्साह व्यक्त गर्दै यसलाई मौलिक विचार र अनुसन्धानलाई उद्योगको सीपसँग जोड्ने दुर्लभ अवसरको रूपमा हेरेका छन् ।
रियोना ढुंगेल र कुशल पाण्डेले यो मञ्च समावेशी रहने र यसले भूगोल वा शैक्षिक संस्थाको सीमाभन्दा माथि उठेर सक्षम नेपाली आविष्कारकहरूलाई राष्ट्रिय पहिचान दिने विश्वास व्यक्त गरे ।
आइसिटी फ्रेम र टेक-एक्सको यो सहकार्यले नेपालको डिजिटल इकोसिस्टमलाई सुदृढ बनाउँदै युवा प्रतिभाहरूका लागि ‘लन्चप्याड’को काम गर्ने र भविष्यका लागि दक्ष आईटी पुस्ता तयार पार्ने अपेक्षा गरिएको छ । सहभागिताका विस्तृत मापदण्डहरू भने आगामी दिनमा आइसिटी फ्रेमको आधिकारिक माध्यमबाट सार्वजनिक गरिनेछ ।













