गोदरेजको आधिकारिक वितरक म्याट्रिक्स प्रालिले एक वर्षमा गर्‍यो डेढ अर्बकाे व्यापार, नाफा मार्जिन भने खस्कँदो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गोदरेजको आधिकारिक वितरक म्याट्रिक्स प्रालिले एक वर्षमा गर्‍यो डेढ अर्बकाे व्यापार, नाफा मार्जिन भने खस्कँदो



काठमाडाैं । पछिल्ला वर्षहरूमा बहुराष्ट्रिय ब्रान्ड गोदरेजका उपभोक्तामुखी उत्पादनहरू (एफएमसीजी) बिक्री गर्ने म्याट्रिक्स प्राइभेट लिमिटेडको आम्दानी क्रमिक वृद्धि हुँदै गएको छ।

सन् २०१८ मा नेपालमा स्थापित म्याट्रिक्स प्रालि भारतीय कम्पनी गोदरेज कन्जुमर प्रोडक्ट्सको आधिकारिक वितरक हो। म्याट्रिक्सले गोदरेजका उत्पादनहरूको बिक्रीमार्फत सन् २०२५ मा १ अर्ब ४७ करोड १० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ।

आर्थिक वर्ष सन् २०२३/२४ को तुलनामा सन् २०२४/२५ मा कम्पनीको व्यापार करिब ८.३२ प्रतिशतले वृद्धि भएको हो। कम्पनीले सन् २०२३/२४ मा १ अर्ब ३५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२२/२३ मा १ अर्ब २७ करोड ८० लाख र सन् २०२१/२२ मा १ अर्ब ९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो।

यसरी आम्दानीमा वृद्धि देखिए पनि कम्पनीको नाफाको मार्जिन भने हरेक वर्ष घट्दो क्रममा रहेको छ। सन् २०२३ मा ४.४ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२४ मा ३.८ प्रतिशतमा झरेको थियो भने सन् २०२५ मा अझ संकुचित भएर ३.१ प्रतिशतमा सीमित भएको छ। तीव्र बजार प्रतिस्पर्धा र न्यून मार्जिनका कारण कम्पनीको नाफामा दबाब परेको इक्रा नेपालको प्रतिवेदनले देखाएको छ। कम्पनीले आफ्नो कुल आम्दानीको करिब ९८ प्रतिशत हिस्सा गोदरेजका उत्पादनहरूबाटै प्राप्त गर्दै आएको छ।

कम्पनीले बैंक कर्जा सुविधाका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले ८० करोड रुपैयाँ (८०० मिलियन) को सीमा निर्धारण गरेको छ, जसमा कम्पनीले करिब ९२ प्रतिशत कर्जा उपयोग गरिसकेको छ। रेटिङ रिपोर्टअनुसार कम्पनीको ऋण लिन पाउने क्षमतामा करिब ८ प्रतिशत मात्रै सीमा बाँकी रहेको देखिन्छ। यस आधारमा कम्पनीले ७० करोड रुपैयाँभन्दा बढीको बैंक ऋण उपयोग गरिसकेको पुष्टि हुन्छ। कम्पनीले बैंकबाट लिने ऋणको सीमा लगभग अन्तिम विन्दुमा पुगेको छ, जसले गर्दा आगामी दिनमा तरलता व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।

कम्पनीको वित्तीय स्वास्थ्य र कर्जा भुक्तानी क्षमतामा पनि चुनौतीहरू थपिएका छन्। सन् २०२४/२५ मा कम्पनीको साँवा ब्याज भुक्तानी क्षमता ०.९ गुणा मात्रै रहेको छ, जसले ऋणको दायित्व पूरा गर्न कम्पनीलाई कठिन भइरहेको संकेत गर्छ। कम्पनीले दैनिक खर्च धान्न र सामान आयात गर्नका लागि समेत बैंकहरूबाट कर्जा लिनुपरेको इक्राको रेटिङ रिपोर्टले देखाउँछ। उच्च कार्यपुँजीको आवश्यकता र लामो व्यापारिक चक्रका कारण कम्पनीको ऋणमा निर्भरता बढ्दै गएको हो।

इक्रा नेपालले म्याट्रिक्सको दीर्घकालीन कर्जा सीमाका लागि ‘इक्राएनपी एलबी प्लस’ र अल्पकालीन कर्जा सीमाका लागि ‘इक्राएनपी ए फोर’ रेटिङलाई पुन: पुष्टि गरेको छ। गोल्छा अर्गनाइजेसनको प्रवर्द्धन र अनुभवले कम्पनीलाई केही वित्तीय लचकता प्रदान गरे तापनि घट्दो नाफा, न्यून नगद मौज्दात र उच्च ऋणको भार कम्पनीका लागि मुख्य चुनौती हुन्।


प्रतिक्रिया दिनुहोस्