वित्त कम्पनीहरुमा पनि गैह्र बैंकिङ सम्पत्ती बढेको बढ्यै, दुई बर्षमा तीन गुणा
काठमाडौँ । तीन-चार वर्ष यता मुलुकको अर्थतन्त्र सुस्तताको असर ठूला बैंकहरूमा मात्र होइन, साना फाइनान्स कम्पनीहरूमा पनि गहिरोसँग परेको देखिएको छ।
२०८० को असार मसान्तपछि दुई वर्षमै बित्त कम्पनी (फाइनान्स)हरूको गैर बैंकिङ सम्पत्ति तीन गुणा भइसकेको छ।
केवल दुई वर्षको अन्तरालमा यति ठूलो वृद्धि अपेक्षित होइन। दुई वर्ष अघि १ अर्ब ११ करोड ४० लाख रुपैयाँ हाराहारीको सम्पत्ति बोकेका बित्ता कम्पनीहरूसँग अहिलेसम्म आइपुग्दा यो अङ्क बढेर ३ अर्ब ८ करोड ४० लाख पुगेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार गएको असारमा त यस्तो गैर बैंकङ सम्पत्ति ३ अर्ब ९ करोड १० लाख हाराहारी पुगेको थियो।
त्यसमा पनि मूलभूत रुपमा तीनवटा कम्पनीहरूले गैह्रबैंकिङ सम्पत्ति ज्यादा थुपारेको देखिएको छ। गुडविल फाइनान्स, गोर्खाज फाइनान्स र पोखरा फाइनान्सले सबै वित्त कम्पनीहरूको कुल गैह्रबैंकिङ सम्पत्तिमा झन्डै ४८% हिस्सेदारी ओगट्छन्।
ऋण लगेका ऋणीहरूले समयमा पैसा नतिरेपछि त्यसको धितो सकार गर्दा बैंक तथा वित्तीय संस्थाहरूमा यस प्रकारको सम्पत्ति बढ्ने गरेको छ।
यस्तो सम्पत्तिलाई बिक्री गरेर पैसा प्राप्त नभएसम्म फाइनान्स कम्पनीहरूले उक्त आम्दानीबाट लाभांश वितरण गर्न पाउँदैनन्। अहिले धेरैजसो संस्थाहरूमा धितोमा राखेका घरजग्गा लिलाम नभएपछि सकार्ने क्रम बढेको र त्यसले गैह्र बैङ्किङ सम्पत्ति बढाएको देखिएको छ।
यस प्रकारको सम्पत्ति धेरै बढ्नुलाई वित्तीय संस्थाहरूको अवस्था नाजुक बन्दै गएको रुपमा हेरिन्छ।
बैंकरहरू नेपाली वित्तीय प्रणालीले एक दशक अघिको भूकम्पपछि नै विभिन्न समस्याहरू झेल्न थालेको बताउँछन्। ‘सुरुमा भूकम्प, त्यसपछि नाकाबन्दीले अप्ठ्यारो बनायो। त्यहाँबाट बिस्तारै उठ्दै गर्दा फेरि कोभिड महामारीले सतायो’, एउटा फाइनान्स कम्पनीका उच्च अधिकारी भन्छन्, ‘त्यसपछि सहकारी र लघुवित्तमा सुरु भएको समस्याको लहरो तानिँदै अहिले जेन जी आन्दोलनसम्म आउँदा एकपछि अर्को समस्याका चाङ थुप्रिन थालेका छन्।’
यही कारण धितोदेखि कागजातसम्म वाणिज्य बैंकहरूले जस्तो कडीकडाउ नगरी सहज वित्तीय पहुँचको विकासमा काम गरिरहेका फाइनान्स कम्पनीहरू पनि अहिले अप्ठ्यारोमा परेका छन्।
अब बैंकहरू आफ्ना संस्थामा थुप्रैका यस्ता गैह्र बैंकिङ सम्पत्तिलाई बिक्री गरेर नगदमा रूपान्तरण गर्ने मौका सुनिश्चित गर्न सरकार केन्द्रीय बैंकको ध्यानाकर्षण गराउन थालेका छन्।
कुन कम्पनीसँग कति छ गैह्र बैंकिङ सम्पत्ति ?














