१० श्रावण २०८३, आइतबार

साल्पा विकास बैंकको नाफामा झण्डै १० प्रतिशतको सुधार, खराब कर्जा पनि घट्यो

साल्पा विकास बैंकको नाफामा झण्डै १० प्रतिशतको सुधार, खराब कर्जा पनि घट्यो



काठमाडाैं । सालपा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ९.६० प्रतिशतले बढेर १ करोड ४ लाख १ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ९४ लाख ८९ हजार ८७३ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको व्यवसाय विस्तारतर्फ निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा सुधार देखिएको छ। पुस मसान्तसम्म बैंकले १ अर्ब ५३ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १४ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको खुद ब्याज आम्दानीमा भने केही संकुचन आएको छ। गत वर्ष ३ करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यो वर्ष घटेर २ करोड ८१ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ।

यता बैंकको प्रतिशेयर आम्दानी वार्षिक १ रुपैयाँ ९९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३१ पैसा कायम भएको छ।

वित्तीय सूचकहरू हेर्दा बैंकको खराब कर्जामा केही सुधार आएको देखिन्छ। अघिल्लो वर्ष ५.७१ प्रतिशत रहेको खराब कर्जा यो वर्ष घटेर ४.९२ प्रतिशतमा झरेको छ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ करोड २७ लाख ९७ हजार रुपैयाँ सञ्चित छ।