बाँस र काष्ठ उत्पादनमा जम्दै शान्ता प्लाइवुड: निर्यात बढेसँगै आम्दानी र नाफामा ऐतिहासिक फड्को
काठमाडाैं । प्लाइवुड बोर्ड, ढोका र अन्य बाँससँग सम्बन्धित उत्पादनहरू सहित बाँस-आधारित उत्पादनहरूको उत्पादन र बिक्रीमा संलग्न कम्पनी शान्ता प्लाइवुड लिमिटेडले व्यवसायमा ठुलो फड्को मारेको छ ।
सन् २०१३ मा एभरग्रीन इन्डस्ट्रिजको रूपमा स्थापना भई सन् २०२१ मा भुसाल ग्रुपले अधिग्रहण गरेको यो कम्पनी हालै पब्लिक लिमिटेडमा रूपान्तरण भएसँगै यसको व्यावसायिक विस्तार तीव्र बनेको हो ।
नवलपरासीको रामग्राममा फ्याक्ट्री रहेको यस कम्पनीको वार्षिक जडान क्षमता ३ करोड ४ लाख ५९ हजार वर्ग फिट प्लाइवुड उत्पादन गर्ने रहेको छ ।
कम्पनीले आर्थिक वर्ष २०२५ मा आफ्नो सञ्चालन आम्दानीमा करिब ३८ प्रतिशतको उच्च वृद्धि हासिल गरेको छ । अघिल्लो आर्थिक वर्ष २०२४ मा ४० करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको कुल सञ्चालन आम्दानी गत वर्ष ५५ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
भारततर्फ निर्यातका लागि आवश्यक बीआईएस प्रमाणीकरण प्राप्त गरेसँगै उत्पादनको विश्वसनीयता बढेको र ग्राहकको मागमा उच्च वृद्धि भएकाले आम्दानीमा यो सुधार देखिएको हो ।
आम्दानीसँगै कम्पनीको नाफा कमाउने क्षमतामा पनि चामत्कारिक सुधार आएको छ । आर्थिक वर्ष २०२४ मा ४.९२ प्रतिशत मात्र रहेको सञ्चालन मुनाफा मार्जिन आर्थिक वर्ष २०२५ मा बढेर १९.५९ प्रतिशत पुगेको छ ।
‘ग्रेड ए’ प्लाइवुडको बिक्री सुरु हुनु र उत्पादनको दायरा बढेका कारण कम्पनीको खुद नाफा मार्जिन पनि अघिल्लो वर्षको १ प्रतिशतबाट उल्लेख्य सुधार भई ११ प्रतिशत पुगेको छ ।
वित्तीय सूचकहरूमा आएको यस सकारात्मक सुधार र प्रवर्द्धकहरूबाट भएको थप पूँजी लगानीका कारण कम्पनीको ऋण भार समेत घटेको छ । कम्पनीको गेयरिङ अनुपात ३.२३ गुणाबाट घटेर २.१७ गुणामा सीमित भएको छ भने प्रतिशेयर नेटवर्थ ३७ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
यही सबल वित्तीय अवस्थाका कारण इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको दीर्घकालीन बैंक कर्जाको रेटिङलाई ‘बी प्लस’ बाट स्तरउन्नति गरी ‘डबल बी माइनस’ प्रदान गरेको छ ।
कम्पनीले आफ्नो भगिनी संस्था “विशाल भेनियर उद्योग प्राइभेट लिमिटेड” मार्फत कच्चा पदार्थको आपूर्ति सुनिश्चित गरी प्रभावकारी आपूर्ति श्रृंखला व्यवस्थापन गर्दै आएको छ ।
यद्यपि, कार्यशील पूँजीमा आधारित व्यवसाय भएकाले र बजारमा रहेको तीव्र प्रतिस्पर्धा तथा वातावरणीय नियमनका चुनौतीहरूका बीच कम्पनीले आफ्नो नाफा र व्यावसायिक दायरालाई अझ सुदृढ बनाउँदै लैजाने लक्ष्य राखेको छ ।













