८ श्रावण २०८३, शुक्रबार

साढे ३ प्रतिशबाट स्प्रेड घटाउन बैंकहरु अनिच्छुक, कारण के हो ?



काठमाडौँ । बैंकहरुमा पैसा थुप्रिने क्रम नरोकिएको र कर्जा प्रवाह सुस्त भएको अवस्थामा पनि लिने र दिने ब्याजको अन्दर (स्प्रेड) भने पछिल्लो एक वर्षमा औसत ३६ आधार विन्दु हाराहारीमात्रै घटेको देखिएको छ । करीब १४०० आधार विन्दुले आधार दर घट्दा पनि बैंकहरुले साढे ३ प्रतिशतभन्दा कम स्प्रेडमा काम गर्न हिचकिचाएका छन् ।

गत पुस मसान्तको कारोबारलाई आधार मानेर वाणिज्य बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार उनीहरुको औसत स्प्रेड ३.५६ प्रतिशत छ । यो भनेको बैंकले निक्षेपकर्तालाई दिने र ऋणीसँग लिने ब्याजको अन्तर हो । पोहोरको पुस मसान्तमा स्प्रेड ३.९२ प्रतिशत थियो भने यस वर्षको पुससम्म आउँदा त्यो घटेर ३.५६ प्रतिशतमा झरेको छ ।

सोझो हिसाबले हेर्दा यदी बैंकहरुले निक्षेपकर्तालाई ३ प्रतिशत ब्याज तिरेका छन् भने ऋणीसँग ६.५ प्रतिशत हारहारी ब्याज लिइरहेका छन् भन्ने यो आँकडाले देखाउँछ । भलै यसको हिसाब निकाल्ने सूत्रले बैंकहरुको कुल ब्याज खर्च र कुल व्याज आम्दानीलाई हिसाब गर्छ । यसो गर्दा उस्तै किसिमका ऋण लिनेहरुले पनि कसैले सस्तो र कसैले महँगो ब्याज तिरिरहनु परेको हुनसक्छन् ।

उदारहणका लागि बैंकले विभिन्न किसिमका निक्षेप योजनामा भिन्नभिन्न दरले ब्याज दिन्छन् । मुद्दति, बचत र कल खातामा पनि ब्याजदर भारी अन्तर हुन्छ । यी सबै खाले निक्षेपमा बैंकले निश्चित अवधिमा तिर्ने कुल ब्याज खर्चलाई एकातिर राखिछ भने विपन्न वर्गदेखि आयात निर्यातसम्म प्रवाह भएको ऋणबाट उठ्ने ब्याजलाई अर्कोतिर राखेर हिसाब गरिन्छ ।

समग्रमा यस्तो ब्याजदर अन्तर ज्यादा नघटे पनि कृषि विकास बैंकबाहेक सबै बैंकले वितेको एक वर्षमा थोर–बहुत स्प्रेड कम गरेकै देखिन्छ । यसमा सबैभन्दा आक्रामक चाहीँ नेपाल इन्भेष्टमेन्ट मेगा र हिमालयन बैंक रहेका छन् । उनीहरुले पोहोर सालको तुलनामा यो वर्ष क्रमश: ९२ र ९१ आधार विन्दुले स्प्रेड घटाएका छन् । त्यसपछि एभरेष्ट, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य र लक्ष्मी सनराइज बैंक पनि स्प्रेड घटाउने सूचीमा अग्रस्थानमै छन् । यी बैंकले औसत (३६ आधार विन्दु)भन्दा ज्यादा स्प्रेड घटाएका छन् ।

बाँकी १२ बैंकले भने निकै कम अन्तरले स्प्रेड घटाएको देखिन्छ । कृषि विकास बैंकलाई छाडेपछि सिद्धार्थ, नेपाल बैंक, एनआईसी एसिया र प्राइम बैंकले १५ आधार विन्दु वा त्योभन्दा पनि कम अन्तरले स्प्रेड घटाएका छन् ।

माथि भनिएजस्तै, स्प्रेड घटाउने दुईटा उपाय हुन्छ, या त निक्षेपकर्तालाई कम ब्याज दिने, नत्र ऋणीसँग बढी ब्याज लिने । तर यस प्रकारको स्प्रेडको आँकडामा अउने फेरबदल चाहीँ बैंकहरुले पहिले नै लिएको निक्षेप र पहिले नै दिएको ऋणको कारण पनि समायोजन हुँदै जान्छ । कुनै बेला महँगोमा लिएको निक्षेपको अवधि पुरा भएर सावाँ फिर्ता गरेको छ भने बैंकको ब्याज लागत घट्छ । तर ऋणीसँग लिने ब्याज घटेको छैन भने स्प्रेड स्वत: कम हुन्छ ।

यसको अर्को कारण चाहीँ नेपाल राष्ट्र बैंकले सञ्चालन गर्ने ब्याजदर करिडोर हो । केन्द्रिय बैंकले अहिले ब्याजदर करिडोरको तल्लो सीमा २.७५ प्रतिशत तोकिदिएको छ । बैंकमा पैसा बढी भयो भने उसले २.७५ प्रतिशत ब्याज पाउने गरी राष्ट्र बैंकमा स्थायी निक्षेप सुविधाको उपयोग गर्न सक्छ । त्यसैले पनि बैंकहरुले त्यो विन्दुभन्दा तल ब्याजदर झर्न चाहँदैनन् । यही कारण गत मंसिर अन्तिमतिर बैंक तथा वित्तीय संस्थाले चालु खातामा २.९८ र मुद्दति खातामा ५.४१ प्रतिशत भारित औसत ब्याज दिएको राष्ट्र बैंकको आँकडा छ ।

त्यसो त, पछिल्लो वित्तीय विवरणले नेपाल इन्भेष्टमेन्ट मेगा र हिमालयन बैंकले स्प्रेड ३ प्रतिशतको हाराहारी झारेको देखाएको छ । एभेष्ट, कुमारी, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड र ग्लोबल आईएमईको पनि स्प्रेड साढे ३ प्रतिशतभन्दा कमै छ । तर शीर्ष स्थानमा रहेको सिद्धार्थ (३.९ प्रतिशत), कृषि विकास, एनआईसी एसिया, माछापुच्छ्रे, प्रभू र नेपाल बैंकजस्ता अधिक स्प्रेड भएका बैंकको कारण औसत दर भने साढे ३ प्रतिशतभन्दा माथि पुगेको हो ।


प्रतिक्रिया दिनुहोस्