कार्पेट बजारमा ‘यति’को पकड मजबुतः एक वर्षमा १३.४ प्रतिशतले बढ्याे व्यापार, वार्षिक आम्दानी ६४ करोड माथि
काठमाडौं । नेपाली कार्पेट बजारको परिचित नाम यति कार्पेट प्राइभेट लिमिटेड ले पछिल्लो ५ वर्षमा आफ्नो व्यापारमा उल्लेख्य वृद्धि गरेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, आर्थिक वर्ष २०२१ मा १९ करोड २० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी आर्थिक वर्ष २०२५ सम्म आइपुग्दा ३.३ गुणाले बढेर ६४ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
आम्दानीको वृद्धिदर हेर्दा आर्थिक वर्ष २०२२ मा ३० करोड ४० लाख रुपैयाँ रहेको व्यापार २०२३ मा ५०.६५ प्रतिशत ले बढेर ४५ करोड ८० लाख रुपैयाँ पुगेको थियो । त्यस्तै, २०२४ मा ५६ करोड ७० लाख रुपैयाँ र २०२५ मा अघिल्लो वर्षको तुलनामा १३.४ प्रतिशत ले आम्दानी वृद्धि भएको देखिन्छ ।
आर्थिक वर्ष २०२४ को तुलनामा २०२५ मा कम्पनीको व्यापार ७ करोड ६० लाख रुपैयाँले बढेर ६४ करोड ३० लाख रुपैयाँ पुगेको हाे ।
व्यापार बढेसँगै कम्पनीको नाफा गर्ने क्षमतामा भने केही उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०२४ मा २४.२ प्रतिशत रहेको सञ्चालन मुनाफा मार्जिन सन् २०२५ मा घटेर २०.२ प्रतिशत मा खुम्चिएको छ । यद्यपि, कम्पनीको ब्याज भुक्तानी गर्ने क्षमतामा भने उल्लेख्य सुधार भई आर्थिक वर्ष २०२५ मा २.९ गुणा पुगेको छ, जुन सन् २०२१ मा मात्र ०.७ गुणा थियो ।
कम्पनीको ऋणको भार र पूँजीको अवस्थामा पनि सकारात्मक सुधार देखिएको छ। आर्थिक वर्ष २०२१ मा ५.२ गुणा रहेको ऋण र पूँजीको अनुपात सन् २०२५ सम्म आइपुग्दा घटेर २.६ गुणा मा झरेको छ । यस्तै, ऋण सेवा कभरेज अनुपात सन् २०२५ मा १.० गुणा कायम रहेको छ भने नेट वर्किङ क्यापिटल र आम्दानीको अनुपात अघिल्लो वर्षको २६ प्रतिशतबाट सुधार भई २० प्रतिशत मा आएको छ ।
यति फ्याब्रिक प्रालिको उत्पादन व्यवसायलाई जिम्मेवारी लिने गरी सन् २०१८ फेब्रुअरीमा यति कार्पेट प्रालि स्थापना भएको हो । यो कम्पनी नेपालका दुई ठूला र प्रतिष्ठित व्यापारिक घराना केडिया अर्गनाइजेशन र रिलायन्स समूह बीचको ५०/५० प्रतिशत संयुक्त लगानीबाट सञ्चालित उद्योग हो । वीरगञ्जमा कारखाना रहेको यस उद्योगले सन् २०२० देखि व्यावसायिक उत्पादन सुरु गरेको हो ।
कम्पनीले हालै ६० करोड ९० लाख रुपैयाँ बराबरको कर्जा सीमाका लागि इक्रा नेपालमा रेटिङ्ग गराएको छ । इक्राले कम्पनीको दीर्घकालीन अवधिको ३२ करोड ९० लाख रुपैयाँ कर्जाका लागि ‘एल डबल बी माइनस’ र अल्पकालीन अवधिको २८ करोड रुपैयाँ कर्जाका लागि ए फाेर’ रेटिङ्ग प्रदान गरेको छ ।
फाइबर र धागो जस्ता कच्चा पदार्थ आयात गरेर नन-वोभन, टफ्टेड र ग्रास कार्पेट उत्पादन गर्दै आएको यस उद्योगमा सन् २०२५ सम्ममा प्रमुख सेयरधनीहरू अनिल कुमार केडिया (२५%), आयुष केडिया (१५%), नरेन्द्र कुमार अग्रवाल (१३%) र लोकेश तोदी (१३%) रहेका छन् । ‘यति’ ब्रान्डको स्थापित नाम र ७१ प्रतिशत ग्राहकबाट बैंक ग्यारेन्टी लिने कम्पनीको नीतिका कारण यसको व्यापारिक आधार बलियो मानिएको छ ।













