एआईको त्रासले भारतीय आईटी कम्पनीको सेयरमा पहिरो, एकै दिन १९ खर्ब घाटा
भारतीय सेयर बजारमा बुधबार प्रविधि (आईटी) सूचना क्षेत्रका सेयरहरूमा ठूलो गिरावट देखिएको छ। ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ का कारण परम्परागत सफ्टवेयर र आईटी सेवाहरू विस्थापित हुन सक्ने त्रासले लगानीकर्ताहरूले तीब्र रूपमा सेयर बिक्री गरेपछि यो स्थिति आएको हो।
बुधबारको यो गिरावट हालैका वर्षहरूकै सबैभन्दा खराब ‘सिंगल–डे सेलअफ’ (एकै दिनको ठूलो गिरावट) साबित भएको छ। यस क्रममा आईटी क्षेत्रले मात्रै भारु १.९ लाख करोड (१९ खर्ब) बराबरको बजार मूल्य गुमाएको छ।
एआईमा भइरहेको विकासले परम्परागत सफ्टवेयर र आईटी सेवाहरूलाई ‘काम नलाग्ने’ बनाउन सक्ने लगानीकर्ताको चिन्ता छ । त्यस्तै एआईको प्रयोग बढ्दा बजारमा प्रतिस्पर्धा बढ्ने र ठूला प्रविधि कम्पनीहरूको नाफा घट्न सक्ने अनुमान पनि सँगसँगै छ ।
यो डर केवल भारतमा मात्र नभई अहिले विश्वव्यापी टेक स्टकहरूमा देखिएको छ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा समेत यस्ता कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ।
यस घटनालाई बजारले ‘सास्पोकलिप्स’ (सफ्टवेयर–एज–अ–सर्भिसको विनाशकारी मोड) का रूपमा व्याख्या गरेको छ। यसले लगानीकर्ताहरूलाई अब त्यस्ता कम्पनीमा बढी ध्यान दिन सङ्केत गरेको छ, जसले एआई प्रविधिलाई आत्मसात् गर्दै आफ्नो सेवालाई परिमार्जन गर्न सक्छन्।
भारतका टाटा कन्सल्टेन्सी सर्भिसेज र इन्फोसिस ठूला आईटी कम्पनीहरूले विश्वभरका बैंक र व्यापारिक संस्थाहरूलाई सफ्टवेयर र मर्मतसम्भारको सेवा दिन्छन्।
तर अब एआईले गर्दा कोडिङ र सामान्य सफ्टवेयर विकासको काम स्वचालित (अटोमेटिक) हुँदैछ। यसले गर्दा यी कम्पनीहरूको परम्परागत कामको माग घट्न सक्छ भन्ने डरले यिनीहरूको सेयर मूल्यमा ठूलो गिरावट आएको छ।
यस्तै विप्रो र एचसीएल टेक जस्ता कम्पनीहरूले पनि ठूलो संख्यामा कर्मचारीहरू प्रयोग गरेर सेवा दिँदै आएका छन्। एआईको कारण कम मानिसले धेरै काम गर्न सक्ने भएपछि यी कम्पनीहरूको ‘बिजनेस मोडेल’मा अब प्रश्न उठेको छ। विशेष गरी ‘बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ)’ अर्थात् कम्पनीहरु आफैँले काम नगरी अर्को कुनै कम्पनीमार्फत सेवा लिने परिपाटी र ग्राहक सेवा सम्बन्धी काममा एआईले मानिसलाई विस्थापित गर्ने सम्भावना देखेपछि लगानीकर्ताहरू डराएका छन्।
यसबाहेक एलटीआई–माइन्डट्री, को–फर्ग, एम–फासिस जस्ता मध्येमस्तरीय कम्पनीहरूले विशिष्ट सफ्टवेयर सेवा दिन्छन् । उनीहरूलाई पनि यसले ठूलो धक्का दिएको छ। त्यसैले यस्ता ठूला र मध्येमस्तरीय सेवाप्रदायक कम्पनीहरुको शेयरमूल्य पनि ओरालो लागेका छन् ।













