तंग्रियो घोराही सिमेन्टको व्यापार, एक वर्षमा गर्‍यो ५ अर्ब १३ करोड माथिको कारोबार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तंग्रियो घोराही सिमेन्टको व्यापार, एक वर्षमा गर्‍यो ५ अर्ब १३ करोड माथिको कारोबार



काठमाडाैं । नेपालको सिमेन्ट बजारमा ठूलो हिस्सा ओगटेको घोराही सिमेन्टको व्यापारिक ग्राफ पछिल्ला वर्षहरूमा केही अस्थिर देखिएको छ ।

नेपालमा क्लिङ्कर, ओपीसी र पीपीसीको उत्पादन र बिक्री गर्ने कम्पनी घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आर्थिक वर्ष २०२५ मा घोराही सिमेन्टले ५ अर्ब १३ करोड ६० लाख रुपैयाँकाे व्यापार गरेकाे छ। अघिल्लाे वर्षकाे तुलनामा याे १४.५४ प्रतिशतले बढी हाे । कम्पनीले सन् २०२४ मा ४ अर्ब ४८ करोड ४० लाख रुपैयाँकाे व्यापार गरेकाे थियाे ।

पछिल्ला केही वर्षहरूमा कम्पनीकाे व्यापारमा उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०२२ मा ५ अर्ब ४ करोड २० लाख रुपैयाँ बराबारकाे व्यापार गरेकाे कम्पनीले २०२३ मा घटेर ४ अर्ब ७९ करोड १० लाखमा झरेको थियो भने २०२४ मा थप संकुचित हुँदै ४ अर्ब ४८ करोड ४० लाख रुपैयाँमा सीमित भएको थियो ।

यद्यपि २०२५ मा भने बिक्री मूल्यमा भएको सुधार र उच्च सिमेन्ट बिक्रीका कारण व्यापारमा केही रिकभरी देखिएको हो ।

व्यापारको आकारमा वृद्धि देखिए पनि कम्पनीको नाफा र ऋण सेवा क्षमतामा भने दबाब कायमै छ । सन् २०२२ मा १९.५२ प्रतिशत रहेको कम्पनीको सञ्चालन मुनाफा सन् २०२४ मा नकारात्मक पुगेको थियो भने २०२५ मा १५.७३ प्रतिशत कायम भएको छ ।

त्यस्तै, सन् २०२२ मा २.५२ गुणा रहेको ब्याज कभरेज अनुपात सन् २०२५ मा ६३.८८ प्रतिशतले घटेर ०.९१ गुणामा झरेको छ । यसले कम्पनीको नाफाले बैंकको ब्याज धान्न कठिन भइरहेको देखाउँछ ।

वित्तीय सूचकहरूमा आएको कमजोरी र लगातारको खुद नोक्सानीका कारण इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको इस्युअर रेटिङ ‘डबल बी प्लस’ बाट घटाएर ‘डबल बी’ मा झारेको छ । हाल कम्पनीले १० अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको बैंकिङ सुविधा उपभोग गरिरहेको छ, जसमध्ये ७ अर्ब २८ करोड ८३ लाखको दीर्घकालीन ऋणलाई ‘डबल बी’ र ३ अर्ब ४१ करोड ५८ लाखको अल्पकालीन ऋणलाई ‘ए फाेर’ रेटिङ दिएको छ ।

बजारमा देखिएको तीव्र प्रतिस्पर्धा र सुस्त निर्माण गतिविधिका कारण सिमेन्ट उद्योगमा देखिएको चुनौतीले घोराही सिमेन्टको तरलता व्यवस्थापनमा समेत दबाब सिर्जना गरेको छ । कम्पनीको सञ्चालन चक्र १९८ दिनको रहेको छ भने सन् २०२५ सम्ममा यसको कुल ऋण र पुँजीको अनुपात १.३५ गुणा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्