नेपाल टेलिकमको वार्षिकोत्सव विशेष अफरः २२ रुपैयाँमा सिम र डेटा प्याकेजदेखि जरिवाना छुटसम्म - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल टेलिकमको वार्षिकोत्सव विशेष अफरः २२ रुपैयाँमा सिम र डेटा प्याकेजदेखि जरिवाना छुटसम्म



काठमाडौं । नेपाल टेलिकमले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विभिन्न सेवा र सुविधाहरूमा भारी छुट तथा नयाँ व्यवस्थाको घोषणा गरेको छ।

सुन्धारा कार्यालयबाट मात्र परीक्षण भइरहेको मोबाइल प्रयोगकर्ताको व्यक्तिगत विवरण अनलाइनमार्फत अद्यावधिक गर्ने सेवा अब देशभरका कार्यालयबाट उपलब्ध हुने भएको छ।

वार्षिकोत्सवलाई लक्षित गर्दै कम्पनीले निम्न विशेष उपहारहरू सार्वजनिक गरेको छ:

विशेष महसुल योजना र डेटा सुविधाहरू: कम्पनीले माघ २२ देखि २८ गतेसम्मका लागि आकर्षक सेवा सुविधाहरू ल्याएको छ। यसअन्तर्गत २२२ रुपैयाँमा २२ दिनका लागि २२ गिगाबाइट डेटा उपलब्ध हुने ‘दुई गुणा दुई प्याकेज’ र २२ रुपैयाँमा १ दिनका लागि २ गिगाबाइट डेटा भएको ‘दैनिक दुई प्याकेज’ सञ्चालनमा ल्याइएको छ। त्यसैगरी, २२२ रुपैयाँमा २२ दिनका लागि २२२ मिनेट सबै नेटवर्कमा कुरा गर्न मिल्ने, ४ गिगाबाइट डेटा र २२२ वटा सन्देश पठाउन मिल्ने ‘उत्सव मिश्रित प्याकेज’ पनि उपलब्ध गराइएको छ।

सिमकार्ड र इन्टरनेट सेवामा छुट: हाल ९० रुपैयाँमा बिक्री हुँदै आएको प्रिपेड सिमकार्ड अब फागुन १४ गतेसम्म मात्र २२ रुपैयाँमा उपलब्ध हुनेछ। यस्तै, घरसम्म फाइबर इन्टरनेट सेवा जडान गर्ने नयाँ ग्राहकका लागि ५०० रुपैयाँ जडान शुल्क फागुन २२ सम्म मिनाहा गरिएको छ। विद्यार्थीहरूका लागि उपलब्ध विशेष इन्टरनेट सुविधाको समयावधि २०८२ फागुन २२ सम्म थप गरिएको छ।

बोनस डेटा र जरिवाना छुट: वार्षिकोत्सवको अवसरमा वार्षिक इन्टरनेट सेवा प्रयोगकर्ताहरूलाई मोबाइलमा २२ गिगाबाइट डेटा बोनसस्वरूप प्रदान गरिनेछ। नयाँ जडान गर्ने वा नवीकरण गर्ने ग्राहकले पनि यो सुविधा पाउनेछन्। साथै, पुरानो बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेका ग्राहकहरूले २०८२ चैत मसान्तसम्म रकम बुझाएमा लाग्ने जरिवाना पूर्ण रूपमा छुट दिने निर्णय भएको छ।


प्रतिक्रिया दिनुहोस्