जय श्री फूड्सले एक वर्षमा बेच्याे झण्डै ४ अर्बको चामल, 'भान्साघर’ र ‘मंगलम’ को व्यापारले बढायाे नाफा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जय श्री फूड्सले एक वर्षमा बेच्याे झण्डै ४ अर्बको चामल, ‘भान्साघर’ र ‘मंगलम’ को व्यापारले बढायाे नाफा



काठमाडौं । चामल प्रशोधन तथा उत्पादन क्षेत्रमा स्थापित जय श्री फूड्स प्राइभेट लिमिटेडले आर्थिक वर्ष २०२५ मा ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीको यो व्यापार अघिल्लो वर्षको तुलनामा केही स्थिर देखिएको छ, सन् २०२४ मा कम्पनीले ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।

व्यापारको आकार स्थिर रहे पनि कम्पनीले आफ्नो सञ्चालन मुनाफामा भने उल्लेख्य सुधार गर्न सफल भएको छ । सन् २०२४ मा ५.८२ प्रतिशत रहेको यस्तो मार्जिन सन् २०२५ मा बढेर ६.७२ प्रतिशत पुगेको छ, जसको मुख्य कारण बजारमा भएको राम्रो मूल्य वृद्धि हो ।

नाफामा भएको यही बढोत्तरीसँगै बैंकको ब्याजदरमा आएको गिरावट र कम्पनीले समय अगावै गरेको ऋण भुक्तानीले गर्दा ब्याज खर्च समेत घट्न पुग्यो, जसले गर्दा कम्पनीको कुल नगद प्रवाह अघिल्लो वर्षको १२ करोड ५० लाख रुपैयाँबाट बढेर १६ करोड ६० लाख रुपैयाँ कायम भएको छ ।

मुनाफा र नगद प्रवाहमा आएको यही सकारात्मक प्रभावका कारण कम्पनीको पूँजीगत संरचना र ऋण तिर्ने क्षमता समेत थप मजबुत बनेको छ । नाफाबाट भएको बचत र ऋणको पूर्व-भुक्तानीले गर्दा सन् २०२४ मा १.६६ गुणा रहेको कुल ऋण र पूँजीको अनुपात सन् २०२५ को अन्त्यमा सुधारिएर ०.९० गुणामा झरेको छ ।

ऋणको भार घटेसँगै कम्पनीको वित्तीय स्वास्थ्यका अन्य सूचकहरू समेत सबल देखिन थालेका छन् । सञ्चालन मुनाफामा भएको वृद्धि र ब्याज खर्चमा आएको कमीले गर्दा ब्याज कभरेज अनुपात ३.२६ गुणाबाट बढेर ५.९० गुणा पुगेको छ ।

यिनै समग्र वित्तीय सुधारहरूलाई आधार मान्दै केयर रेटिङ्स नेपालले कम्पनीको साख समेत वृद्धि (अपग्रेड) गरेकाे छ। कम्पनीले दीर्घकालीन बैंकिङ सुविधाका लागि ‘केयर-एनपी ट्रिपल बी’ र अल्पकालीन सुविधाका लागि ‘केयर-एनपी ए थ्री प्लस’ रेटिङ प्रदान गरेको छ ।

नवलपरासीको गैंडाकोटमा प्रशोधन केन्द्र रहेको यस कम्पनीको नेतृत्व खाद्य उद्योगमा ३८ वर्षभन्दा बढीको अनुभव भएका पवन कुमार अग्रवालले गरिरहेका छन् ।

कम्पनीले आफ्ना उत्पादनहरू ‘भान्साघर’ र ‘मंगलम’ जस्ता स्थापित ब्रान्डअन्तर्गत देशभरका ६०० भन्दा बढी रिटेलरमार्फत बिक्री गर्दै आएको छ । नेपालको मुख्य खाना नै चामल भएकाले यसको माग दीर्घकालीन रूपमा स्थिर रहने र भारतीय सीमा नजिक कारखाना भएकाले कच्चा पदार्थ आयातमा समेत कम्पनीलाई ढुवानी लागतको हिसाबले फाइदा पुगेको छ ।

चुनौती र जोखिमहरू

व्यापारिक सुधारका बाबजुद कम्पनीले केही चुनौतीहरू झेलिरहेको छ। कृषिजन्य उत्पादनमा आधारित उद्योग भएकाले कच्चा पदार्थ (धान) को उपलब्धता र मूल्यमा हुने उतारचढावले कम्पनीको नाफालाई प्रभावित पार्न सक्छ ।

यस्तै, बजारमा बढ्दो प्रतिस्पर्धा, कार्यपुँजी परिचालनमा हुने अधिक खर्च र बैंकको अस्थिर ब्याजदरलाई कम्पनीको मुख्य जोखिमका रूपमा औंल्याइएको छ ।


प्रतिक्रिया दिनुहोस्