घोराही सिमेन्टको वित्तीय अवस्थामा सुधार: ६ महिनामा गर्यो २ अर्ब ८ करोडको व्यापार
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार कम्पनीको खुद नोक्सानीमा गत वर्षको सोही अवधिको तुलनामा निकै सुधार देखिएको छ। गत वर्षको पुस मसान्तसम्म ६६ करोड ७१ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष सो नोक्सानीलाई घटाएर २६ करोड ४९ लाख रुपैयाँमा झारेको छ।
कम्पनीको सञ्चालन आम्दानीमा भएको वृद्धि र खर्च व्यवस्थापनका कारण नोक्सानी कम भएको देखिन्छ।
यता कम्पनीको सञ्चालन आम्दानीमा उत्साहजनक वृद्धि भएको छ। गत वर्ष १ अर्ब ७३ करोड १९ लाख रुपैयाँ रहेको आम्दानी यस वर्ष २०.१९ प्रतिशतले बढेर २ अर्ब ८ करोड १५ लाख रुपैयाँ पुगेको छ।
आम्दानी बढेसँगै कम्पनीको कुल नाफामा पनि ठूलो सुधार देखिएको छ। गत वर्ष ११ करोड ७४ लाख रुपैयाँ रहेको कुल नाफा यस वर्ष ३० करोड ५४ लाख रुपैयाँ पुगेको छ। यसका साथै वित्तीय लागत ४८ करोड ७ लाखबाट घटेर ३३ करोड ७७ लाख रुपैयाँमा झर्नुले पनि कम्पनीको वित्तीय स्वास्थ्यमा सुधार आएको संकेत गर्दछ।
कम्पनीको अन्य वित्तीय सूचकहरूमा भने केही चाप देखिएको छ। पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २७ पैसा ऋणात्मक रहेको छ। त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ५८ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४३६ रुपैयाँ ०८ पैसा कायम भएको छ। हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६८ करोड ७० लाख रुपैयाँ सञ्चित छ।
व्यवस्थापकीय विश्लेषणका अनुसार सिमेन्ट उद्योगमा रहेको तीव्र प्रतिस्पर्धा र निर्माण कार्यमा आएको सुस्तताका बाबजुद कम्पनीले आफ्नो बिक्री रणनीतिमा सुधार गरेको छ।
आगामी दिनमा सरकारको विकास निर्माणका कामले गति लिने र सिमेन्टको माग बढ्ने अपेक्षाका कारण कम्पनीको वित्तीय अवस्थामा थप सुधार आउने व्यवस्थापनको विश्वास छ।
यद्यपि, आर्थिक मन्दी, ब्याजदरमा हुने उतारचढाव र कच्चा पदार्थको मूल्यमा हुने वृद्धि भने कम्पनीका लागि अझै चुनौतीका रूपमा रहेका छन्।













