नर्भिक हस्पिटलको लोभलाग्दो वित्तीय प्रगति: ६ महिनामै १ अर्ब ३३ करोडको व्यापार, कति सुरक्षित छ लगानी?
काठमाडौं । स्वास्थ्य सेवा क्षेत्रमा स्थापित नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले चालू आर्थिक वर्ष २०२५/२६ को पहिलो ६ महिनामा १ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ।
चालू आवको पहिलो ६ महिनाको प्रवृत्तिले व्यापारमा वार्षिक करिब २० प्रतिशतको वृद्धि हुने संकेत गरेको छ।
सन् २०२४ मा १ अर्ब ९९ करोड ९० लाख रुपैयाँ बराबरकाे व्यापार गरेकाे कम्पनीले सन् २०२५ मा बढेर २ अर्ब २२ करोड २० लाख रुपैयाँ पुगेको छ।
व्यापारको आकारसँगै कम्पनीले आफ्नो सञ्चालन मुनाफामा समेत निकै राम्रो सुधार गर्न सफल भएको छ। सन् २०२४ मा २१ प्रतिशत रहेको यस्तो मार्जिन सन् २०२५ मा २४ प्रतिशत र चालू आवको पहिलो ६ महिनामा थप बढेर २८ प्रतिशत कायम भएको छ। अस्पतालमा बिरामीको चाप बढ्नु र प्रभावकारी व्यवस्थापन नै मुनाफा वृद्धिको मुख्य कारण हो।
नाफामा भएको यही बढोत्तरी र नगद प्रवाहको राम्रो व्यवस्थापनले गर्दा कम्पनीको ऋण सेवा कभरेज अनुपात (DSCR) समेत मजबुत बनेको छ। सन् २०२४ मा १.७ गुणा रहेको यस्तो अनुपात सन् २०२५ मा २.३ गुणा र चालू आवको पहिलो ६ महिनाको अन्त्यमा ३.० गुणा पुगेको छ। यसले कम्पनी आफ्नो वित्तीय दायित्व पूरा गर्न थप सक्षम रहेको देखाउँछ।
मुनाफा र नगद प्रवाहमा आएको यही सकारात्मक प्रभावका कारण कम्पनीको पूँजीगत संरचना थप सबल बनेको छ। नाफाबाट भएको बचत र ऋणको क्रमिक भुक्तानीले गर्दा सन् २०२४ मा १.९ गुणा रहेको कुल ऋण र पूँजीको अनुपात सुधारिएर चालू आवको पुस मसान्तसम्म १.२ गुणामा झरेको छ।
ऋणको भार घट्दै जाँदा कम्पनीको वित्तीय स्वास्थ्यका अन्य सूचकहरू समेत उत्साहजनक देखिएका छन्। सञ्चालन मुनाफामा भएको वृद्धि र ब्याज खर्चको सन्तुलनले गर्दा ब्याज कभरेज अनुपात अघिल्लो वर्षको ९.४ गुणाबाट उल्लेख्य बढेर २२.३ गुणा पुगेको छ।
यिनै समग्र वित्तीय सुधारहरूलाई आधार मान्दै इक्रा नेपालले कम्पनीको साख वृद्धि गरेको छ। कम्पनीले इस्युअर रेटिङका लागि ‘इक्राएनपी-आईआर ट्रिपल बी’ प्राप्त गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यमस्तरको सुरक्षा र मध्यम क्रेडिट जोखिमलाई जनाउँछ।













