राष्ट्रिय वाणिज्य बैंकबाट बाहिरिए डेपुटी सीईओ लोहनी
काठमाडौं । जीवनको ऊर्जाशील ३० वर्ष एउटा सरकारी वाणिज्य बैंकको व्यवस्थापनमा विताएपछि अन्तत: देवेशप्रसाद लोहनीले राष्ट्रिय वाणिज्य बैंकबाट ‘अनिवार्य अवकाश’ लिएका छन् ।
अवकाश पाउँदाका बखत उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी–सीईओ) थिए । देवेन्द्ररमण खनालले व्यवस्थापकीय नेतृत्व सम्हालिरहेको यस बैंकमा दुई जना डेपुटी सीईओ थिए, अब सरस्वती अधिकारीमात्रै बाँकी छिन् ।
लोहनीले अवकाशपछि केही समय आराम गर्ने बताइरहेका छन् । तर उपयुक्त नयाँ अवसर पाएमा ‘नछोड्ने’ मूडमा उनी देखिन्छन् ।
विसं २०५१ मंसिर १ गते राष्ट्रिय वाणिज्य बैंकमा कम्प्युटर प्रोग्रामरको रूपमा बैंकिङ सेवामा प्रवेश गरेका लोहनीले डिजिटल बैंकिङ, कम्प्लायन्स, मानव संसाधन तथा शाखा सञ्चालन विभागमा रहेर विभिन्न जिम्मेवारी सम्हालेका थिए ।
व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उनीसँग सूचना प्रविधि क्षेत्रमा विभिन्न अन्तर्राष्ट्रिय तालिम तथा कोर्सहरू लिएको अनुभव छ ।













