जेनजी आन्दोलनको धक्का: चन्द्रागिरि हिल्स ४ करोड ७० लाख घाटामा, आम्दानी र नाफा दुवै खुम्चिँदा ईपीएस पनि ऋणत्मक - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेनजी आन्दोलनको धक्का: चन्द्रागिरि हिल्स ४ करोड ७० लाख घाटामा, आम्दानी र नाफा दुवै खुम्चिँदा ईपीएस पनि ऋणत्मक



काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएको भौतिक क्षति र सेवा अवरुद्ध हुँदा चन्द्रागिरि हिल्स लिमिटेडको वित्तीय अवस्थामा गम्भीर असर परेको छ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक (पुस मसान्त) वित्तीय प्रतिवेदन अनुसार, यस अवधिमा कम्पनीको आम्दानी र नाफा दुवैमा उच्च गिरावट देखिएको हो।

साउनदेखि पुस मसान्तसम्म कम्पनीले २४ करोड ८९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको ४२ करोड २५ लाख रुपैयाँको तुलनामा निकै कम हो। आम्दानीमा आएको यो गिरावटसँगै कम्पनीले ४ करोड ७० लाख रुपैयाँ खुद घाटा व्यहोर्नु परेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ६ करोड ६४ लाख रुपैयाँ खुद नाफामा रहेको थियो।

आम्दानी र नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) पनि ऋणात्मक बनेको छ। प्रतिवेदन अनुसार हाल प्रतिसेयर आम्दानी ३.०७ रुपैयाँ ऋणात्मक छ, जबकि गत वर्ष यो ४.३३ रुपैयाँ धनात्मक थियो। हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १०३.०२ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २५६.१६ रुपैयाँ कायम भएको छ।

कम्पनीका अनुसार आन्दोलनका क्रममा भौतिक संरचना र केवलकारका उपकरणहरूमा क्षति पुगेपछि सेवा पूर्ण रूपमा बन्द गर्नुपरेको थियो। झण्डै तीन महिनापछि मंसिर १५ गतेबाट मात्रै सेवा पुनः सञ्चालनमा आएकाले आम्दानीमा ठुलो धक्का लागेको हो। तोडफोडबाट भएको क्षतिको पूर्ति गर्न बिमा दाबी प्रक्रिया अघि बढाइएको पनि कम्पनीले उल्लेख गरेको छ।

वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको कुल खर्च १२ करोड ४८ लाख रुपैयाँ रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ भने जगेडा कोषमा ४ करोड ६२ लाख रुपैयाँ सञ्चित छ। यस्तै, कम्पनीको दीर्घकालीन ऋण र दायित्वहरू बढेर २ अर्ब २१ करोड रुपैयाँ पुगेको प्रतिवेदनले देखाएको छ।


प्रतिक्रिया दिनुहोस्