औषधि बजारमा एसियन फर्मास्युटिकल्सको दबदबाः एकै वर्षमा २ अर्ब २६ करोडको औषधि बिक्री
काठमाडौँ । नेपाली औषधि उत्पादन क्षेत्रको अग्रणी कम्पनी एसियन फर्मास्युटिकल्स प्राइभेट लिमिटेडकाे व्यापार करिब १२ प्रतिशतले बढेकाे छ।
कम्पनीले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार, आर्थिक वर्ष २०२४/२५ मा मात्रै २ अर्ब २६ करोड ३० लाख रुपैयाँ बराबरको औषधिको व्यापार भएको छ । यो व्यापार अघिल्लो आर्थिक वर्ष २०२३/२४ को २ अर्ब १ करोड ७० लाख रुपैयाँको तुलनामा करिब १२.१९ प्रतिशतको वृद्धि हो ।
कम्पनीको व्यापारिक तथ्याङ्क हेर्दा पछिल्लो पाँच वर्षमा औषधिको बिक्रीमा निरन्तर र लोभलाग्दो वृद्धि देखिएको छ । आर्थिक वर्ष २०२०/२१ मा १ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले २०२१/२२ मा १ अर्ब ६७ करोड रुपैयाँ पुर्याएको थियो । त्यसपछिका वर्षहरूमा पनि यो क्रम रोकिएन । आर्थिक वर्ष २०२२/२३ मा १ अर्ब ८८ करोड ४० लाख र २०२३/२४ मा २ अर्ब १ करोड ७० लाख रुपैयाँ बराबरको औषधि बिक्री भएको देखिन्छ । पछिल्लो पाँच वर्षको तथ्याङ्कलाई हेर्दा कम्पनीको औसत वार्षिक वृद्धिदर करिब १२.८ प्रतिशत रहेको छ ।
व्यापार बढेसँगै कम्पनीको सञ्चालन मुनाफा पनि सन्तोषजनक रहेको छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा मार्जिन १६ प्रतिशतको हाराहारीमा स्थिर देखिएको छ । ऋणको भार र ब्याजदरका बाबजुद कम्पनीको ऋण सेवा कभरेज अनुपात १.६ गुणा रहेको छ, जसले कम्पनी आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको संकेत गर्दछ ।
कम्पनीले आफ्नो भगिनी संस्था ‘युनिभर्सल फर्मुलेसन प्राइभेट लिमिटेड’ लाई प्राप्ति गरेपछि ऋणको मात्रामा केही वृद्धि भएको छ । हाल कम्पनीको कुल ऋण १ अर्ब ८६ करोड ५० लाख रुपैयाँ पुगेको छ । यद्यपि, कम्पनीको पूँजी संरचनामा सुधार आएको र नेटवर्थको तुलनामा ऋणको अनुपात १.२ गुणामा झरेको प्रतिवेदनले देखाएको छ ।
कम्पनीले विशेषगरी ग्यास्ट्रो (पेट सम्बन्धी), मानसिक स्वास्थ्य, एन्टिबायोटिक्स र हाडजोर्नी सम्बन्धी औषधिहरूको उत्पादनमा आफ्नो बलियो पकड बनाएको छ । यी विधाका औषधिहरूको माग बजारमा उच्च रहेकाले पनि कम्पनीको कुल व्यापारमा प्रत्येक वर्ष उल्लेख्य सुधार देखिएको हो । सन् १९९७ देखि सञ्चालनमा रहेको यस कम्पनीको अनुभवी व्यवस्थापन र देशव्यापी आपूर्ति सञ्जालले व्यापार विस्तारमा मुख्य भूमिका खेलेको देखिन्छ ।
व्यापार बढेसँगै कम्पनीले आफ्नो उत्पादन क्षमता र पूर्वाधारमा पनि लगानी बढाएको छ । आफ्नो भगिनी संस्था ‘युनिभर्सल फर्मुलेसन’ लाई प्राप्ति गरेपछि कम्पनीको ऋणको भार केही बढे पनि व्यावसायिक दक्षताका कारण वित्तीय सूचकहरू सन्तुलित रहेका छन् । यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा मार्जिन १६ प्रतिशतको हाराहारीमा स्थिर देखिनुले व्यापारिक स्थिरतालाई थप पुष्टि गर्दछ ।
व्यापारमा आएको यो क्रमिक सुधार र सकारात्मक वित्तीय अवस्थालाई मध्यनजर गर्दै इक्रा नेपालले कम्पनीको क्रेडिट रेटिङमा सुधार गरेको छ। यसअघि केही समय ‘नकारात्मक निगरानी’ को सूचीमा राखिएको यस कम्पनीलाई अहिले उक्त सूचीबाट हटाउँदै साख पुनः पुष्टि गरिएको छ । इक्रा नेपालले एसियन फर्मास्युटिकल्सको दीर्घकालीन कर्जाका लागि ‘त्रिपल बी माइनस’ र अल्पकालीन कर्जाका लागि ‘ए थ्री’ रेटिङ प्रदान गरेको छ ।













