आज महाशिवरात्रि पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै, पशुपतिमा गुञ्जियाे ‘बम बम भोले’
काठमाडौँ । आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरिने महापर्व ‘महाशिवरात्रि’ आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ।
फागुन कृष्ण चतुर्दशीको विशेष साइतमा मनाइने यस पर्वका अवसरमा आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनको अभूतपूर्व घुइँचो लागेको छ। भगवान् पशुपतिनाथको आँगन आज ‘बम बम भोले’ को जयघोषले गुञ्जायमान भएको छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले वर्षको सबैभन्दा पवित्र र आध्यात्मिक रात्रिका रूपमा लिने यस दिन आज बिहानैदेखि श्रद्धालुहरू नदी, कुण्ड र तलाउमा स्नान गरी शुद्ध भई शिवालयहरूमा पुगेका छन्। भक्तजनको अत्यधिक चापलाई मध्यनजर गर्दै आज बिहान २ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएका छन्। नेपालका विभिन्न भागका साथै छिमेकी राष्ट्र भारत, भुटान र बङ्गलादेश लगायतका देशबाट आएका तीर्थयात्रीहरू तथा नागा बाबाहरूको आगमनले पशुपति क्षेत्र पूर्ण रूपमा शिवमय बनेको छ।
पशुपति क्षेत्रमा आज रातको चारै प्रहरमा विधिपूर्वक पूजा, महादीप, अखण्डदीप, लक्ष्यबत्ती प्रज्वलन र लक्ष्य विल्लपत्र अर्पण गरिँदैछ। यसपटक बाहिरबाट आउने साधुसन्त र दर्शनार्थीका लागि आवास, भोजन र स्वास्थ्य सेवाको विशेष प्रबन्ध मिलाइएको छ। तिलगंगा, हंशमण्डप र वनकाली क्षेत्रमा निःशुल्क भोजन र बस्ने व्यवस्था गरिएको छ भने मन्दिर परिसरलाई फूल र बत्तीले आकर्षक रूपमा सिँगारिएको छ। सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोलीका साथै रेडक्रस र स्काउटका स्वयंसेवकहरू पनि खटिएका छन्।
आज भक्तजनहरू दिनभर उपवास (व्रत) बसी शिवको प्रिय मानिने दूध, धतुरो र बेलपत्र चढाएर आराधना गरिरहेका छन्। शिव पुराणमा वर्णित कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रिमध्ये यो रातलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ। माघ महिनाको ठिही र रुख-बिरुवाहरू पत्रविहीन भएको अवस्था (रुद्रत्व) समाप्त भई आजैका दिनदेखि प्रकृतिमा नयाँ पालुवा र कल्याणकारी तत्व (शिवत्व) पलाउन थाल्ने धार्मिक विश्वास छ। यही जगत्को कल्याण गर्ने दिनलाई उत्सवका रूपमा मनाउने गरिएको हो।
महादेवलाई जाडो हुने जनविश्वासका कारण आज साँझ प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर ‘धुनी’ जगाउने र भजनकीर्तन गर्ने परम्परा छ। आजको रातभर उपवास गरी जाग्राम बसेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने र मोक्ष प्राप्त हुने जनविश्वास रही आएको छ।













