शिवरात्रिबारे प्रधानमन्त्रीले के भनिन् ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शिवरात्रिबारे प्रधानमन्त्रीले के भनिन् ?



काठमाडौं । प्रधानमन्त्री शुशिला कार्कीले महाशिवरात्रिको अवसरमा शुभकामना दिएकी छन् । उनले सामाजिक सञ्जालमा एक तस्वीरसहित छोटो शुभकामना सन्देश प्रेषित गरेकी छन् ।

उनको सन्देशमा भनिएको छ, ‘आज हामी आदियोगी भगवान् शिवको आराधनामा समर्पित छौँ। शिव चेतना, संयम, करुणा र सहअस्तित्वका प्रतीक हुन्।’ उनले ‘शिव र शक्ति/प्रकृतिको अद्वैत सम्बन्धले हामीलाई सदा प्रकृतिसँग सहअस्तित्वमा बाँच्न प्रेरित गर्दछ’ भनेर चेतना र ऊर्जाको सहअस्तित्वको कुरा अघि सारेकी छन् ।

शिवरात्रिलाई शिव–पार्वतीको विवाहको उत्सवका रुपमा समेत मनाइने भएकाले यस दिनले आध्यात्मिक चेतना र भौतिक सुखको सम्मिलनलाई दर्शाउँछ । आज पश्चिमा नेतृत्वको विश्व व्यवस्थाले निर्मम पूँजीवादको एकपक्षीय प्रसार गरेको छ, जसले केवल भौतिक पाटोलाईमात्रै अघि बढाउँछ । तर हाम्रो दर्शनले भौतिक विकास र चेतनाको उन्नयनलाई सँगसँगै र तादात्म्य वा सन्तुलनकारी रुपमा अघि बढाउने निर्देश गर्छ ।

प्रधानमन्त्रीको सन्देशमा यो कुरा झल्किएको छ । उनले लेखेकी छन्, ‘महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस्। प्रकृतिको संरक्षण, स्वच्छता र दिगो विकासका लागि प्रेरित गरोस्। सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना। जय शम्भो !’


प्रतिक्रिया दिनुहोस्