भारतीय बजारमा नेपाली तेलको दबदबा: स्वस्तिककाे वार्षिक कारोबार साढे १४ अर्ब नाघ्यो, २० गुणा बढ्यो निर्यात - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भारतीय बजारमा नेपाली तेलको दबदबा: स्वस्तिककाे वार्षिक कारोबार साढे १४ अर्ब नाघ्यो, २० गुणा बढ्यो निर्यात



काठमाडौं । नेपालको स्थापित र पुरानो खानेतेल उत्पादक कम्पनी स्वस्तिक आयल इन्डष्ट्रिज प्रालिको व्यापार एक वर्षमा १३०.३८ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२५ मा १४ अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको तेल बिक्री गरेको छ । सन् २०२४ मा कम्पनीले ६ अर्ब २३ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

पछिल्ला वर्षहरूमा व्यापारमा उतारचढाव भोगेको कम्पनीले सन् २०२५ मा निर्यात बढाएर नाफामा उल्लेख्य सुधार गरेको हो । यसअघि सन् २०२३ मा कम्पनीले ७ अर्ब २ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा १२ अर्ब ५१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । भारतले परिष्कृत खानेतेलमा आयात शुल्क बढाएपछि नेपाली उद्योगलाई मिलेको लाभका कारण भारततर्फको निर्यात ३५ करोड ८० लाख रुपैयाँ (सन् २०२४) बाट ह्वात्तै बढेर ६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै कम्पनीले ६ अर्ब १५ करोड १० लाख रुपैयाँ आम्दानी गरिसकेको छ, जसमा निर्यातको हिस्सा करिब ४७ प्रतिशत छ । व्यापार बढेसँगै कम्पनीको उत्पादन क्षमता उपयोग १८ प्रतिशतबाट बढेर ३६ प्रतिशत पुगेको छ । अघिल्ला दुई वर्ष घाटामा रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन अहिले ५.५६ प्रतिशत र खुद नाफा मार्जिन १.३३ प्रतिशत पुगेको छ । यस्तै सन् २०२३ र २०२४ मा ऋणात्मक रहेको कम्पनीको ब्याज तिर्ने क्षमता सन् २०२५ मा १.७८ गुणा पुगेको छ ।

व्यापार बढे पनि विगतको घाटाका कारण कम्पनीको खुद सम्पत्ति अझै नकारात्मक छ । सन् २०२५ मा प्रवर्द्धकहरूले ३२ करोड रुपैयाँ थप पूँजी लगानी गरे पनि बैंक ऋणमाथिको निर्भरता अझै उच्च छ । कच्चा पदार्थ आयातमा निर्भर हुनुपर्ने र १०७ दिनको लामो सञ्चालन चक्रका कारण कम्पनीको व्यवसाय उच्च कार्यशील पूँजीमा आधारित छ ।

कम्पनीले कुल १० अर्ब ६ करोड १ लाख रुपैयाँ बराबरको बैंकिङ कर्जा सुविधाका लागि रेटिङ गराएको छ । यसमध्ये १ अर्ब ४५ करोड ४१ लाख रुपैयाँको दीर्घकालीन कर्जाले ‘डबल बी माइनस’ र ८ अर्ब ६० करोड ६० लाख रुपैयाँको अल्पकालीन कर्जाले ‘ए फोर’ रेटिङ पाएको छ

वि.सं. २०४१ मा स्थापित यो उद्योग नेपालको प्रतिष्ठित घराना केएल दुगड समूह अन्तर्गत सञ्चालित छ । मोरङको विराटनगरमा रहेको यसको कारखानाको वार्षिक प्रशोधन क्षमता १ लाख ३५ हजार मेट्रिक टन (भटमास, पामोलिन, सूर्यमुखी तेल र घ्यू) तथा १० हजार मेट्रिक टन तोरीको तेल रहेको छ । कम्पनीले स्वस्तिक, धारा, सनफ्लो, संगम र बिगुल जस्ता ब्रान्डमार्फत नेपाली र भारतीय बजारमा उपस्थिति जनाएको छ।


प्रतिक्रिया दिनुहोस्