मन्दीबीच सिमेन्ट कम्पनीको कमब्याक: यस्तो छ नेप्सेमा सूचीकृत ४ सिमेन्ट कम्पनीको रिपोर्ट कार्ड, कुनको अवस्था कस्तो? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मन्दीबीच सिमेन्ट कम्पनीको कमब्याक: यस्तो छ नेप्सेमा सूचीकृत ४ सिमेन्ट कम्पनीको रिपोर्ट कार्ड, कुनको अवस्था कस्तो?



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सिमेन्ट कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्मको सन्तोषजनक वित्तीय विवरण सार्वजनिक गरेका छन्।

मुलुकको सुस्त आर्थिक गतिविधि र निर्माण क्षेत्रमा देखिएको मन्दीका बाबजुद एउटा कम्पनी बाहेक अन्य सबैको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।

विशेषगरी कच्चा पदार्थका रूपमा स्वदेशी चुनढुङ्गाकै प्रयोग गरी मूल्य अभिवृद्धि गर्दै आएका यी उद्योगहरूले आन्तरिक मागमा केही सुधार र सञ्चालन खर्चमा गरेको व्यवस्थापनका कारण नाफाको ग्राफ उकालो लागेको हो।

यद्यपि, सरकारको कमजोर पुँजीगत खर्च र भारतीय बजारमा निर्यातका लागि देखिएका प्राविधिक अवरोधहरू अझै पनि चुनौतीका रूपमा रहेका छन्।

सर्वोत्तम सिमेन्ट लिमिटेड

नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनीहरूमध्ये सर्वोत्तम सिमेन्ट वित्तीय सूचकका आधारमा सबैभन्दा अगाडि देखिएको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीको खुद नाफा १२३ प्रतिशतले बढेर ५३ करोड ८३ लाख ५० हजार रुपैयाँ पुगेको छ।

उत्पादन बिक्रीबाट ४ अर्ब ८ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) २०.६१ रुपैयाँ रहेको छ, जुन अन्य कम्पनीहरूको तुलनामा उच्च हो।

५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब २२ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा सबैभन्दा बढी ४ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १८८.९२ रुपैयाँ कायम भएको छ।

शिवम सिमेन्ट लिमिटेड

शिवम सिमेन्टले पनि आफ्नो नाफामा उल्लेख्य सुधार गर्दै चालु आवको पुस मसान्तसम्म ३५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५२८.५२ प्रतिशतको विशाल वृद्धि हो।

उत्पादन बिक्रीबाट ३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरेको शिवमको प्रतिशेयर आम्दानी १२.७७ रुपैयाँ रहेको छ।

सूचीकृत सिमेन्ट कम्पनीहरूमध्ये सबैभन्दा धेरै ५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ चुक्तापुँजी भएको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४९ करोड ९६ लाख रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १८०.३८ रुपैयाँ रहेको छ।

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड

गत आर्थिक वर्षमा नोक्सानीमा रहेको सोनापुर मिनरल्स यस वर्ष भने नाफामा फर्किएको छ।

गत वर्ष १२ करोड २० लाख रुपैयाँ नोक्सानी व्यहोरेको यस कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

उत्पादन बिक्रीबाट १ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको यस कम्पनीको आम्दानी वृद्धिदर अन्यको तुलनामा उच्च देखिएको छ। ३ अर्ब ५ करोड ५० लाख रुपैयाँ चुक्तापुँजी भएको सोनापुरको प्रतिशेयर आम्दानी ३.०९ रुपैयाँ छ।

जगेडा कोषमा २ अर्ब ८१ करोड १० लाख रुपैयाँ रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ भने सबैभन्दा धेरै १९१.४२ रुपैयाँ रहेको छ।

घोराही सिमेन्ट उद्योग लिमिटेड

अन्य तीन कम्पनी नाफामा रहँदा घोराही सिमेन्ट भने अझै २६ करोड ४९ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ। यद्यपि, गत वर्षको ६६ करोड ७१ लाख रुपैयाँको घाटाको तुलनामा यस वर्ष नोक्सानी केही घटेको देखिन्छ।

१० प्रतिशत बोनस शेयर वितरण गरी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ चुक्तापुँजी पुर्‍याएको यस कम्पनीको प्रतिशेयर आम्दानी १०.५४ रुपैयाँले ऋणात्मक छ।

उत्पादन बिक्रीबाट २ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको घोराहीको प्रतिशेयर नेटवर्थ १६६.५८ रुपैयाँ रहेको छ। उच्च ऋणभार र कमजोर मागका कारण कम्पनीको वित्तीय अवस्थामा अझै दबाब देखिएको छ।

नेपालमा सञ्चालित यी उद्योगहरूले स्वदेशी चुनढुङ्गा प्रयोग गरी मूल्य अभिवृद्धिमा योगदान दिँदै आएका छन्। भारतीय सरकारले गुणस्तर नवीकरणमा गरेको कडाइ र नेपाल सरकारको कमजोर पुँजीगत खर्चका बाबजुद अधिकांश कम्पनीले नाफामा सुधार गर्नुलाई सकारात्मक रूपमा हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्