वार्षिक ३३ हजार मेट्रिक टन धान प्रशोधन गर्दै मारुती फुड, एक वर्षमा बेच्यो १ अर्ब २५ करोडको चामल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

वार्षिक ३३ हजार मेट्रिक टन धान प्रशोधन गर्दै मारुती फुड, एक वर्षमा बेच्यो १ अर्ब २५ करोडको चामल



काठमाडौं । नेपालको लुम्बिनी प्रदेशस्थित नवलपरासीमा सञ्चालित मारुती फुड पार्क प्रालिले एक वर्षमा १ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।

कम्पनीले सार्वजनिक गरेकाे तथ्यांक अनुसार सन् २०२५ मा कुल १ अर्ब २५ करोड ३० लाख रुपैयाँ बराबरको वस्तु बिक्री गरेको हो।

यो व्यापार अघिल्लो वर्ष सन् २०२४ को तुलनामा ५३ करोड ४० लाख रुपैयाँ अर्थात् करिब २९.८८ प्रतिशतले घटेको हो । सन् २०२४ मा कम्पनीले १ अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

पछिल्ला वर्षहरूमा उतारचढावपूर्ण व्यापार गरिरहेको कम्पनीले सन् २०२५ मा बिक्री परिमाण र औसत मूल्य दुवैमा आएको गिरावटले राजस्वमा संकुचन व्यहोरेको रेटिङ रिपोर्टमा उल्लेख छ । यद्यपि, कम्पनीको सञ्चालन नाफा मार्जिन ६.८१ प्रतिशत कायम छ, जुन सन् २०२४ मा ७.१४ प्रतिशत रहेको थियो ।

व्यापारमा गिरावट आए पनि कम्पनीको खुद नाफा मार्जिन १.२० प्रतिशतमा स्थिर देखिएको छ । तर, कम्पनीको वित्तीय जोखिम प्रोफाइल भने केही चुनौतीपूर्ण देखिएको छ। सन् २०२५ को अन्त्यसम्ममा कम्पनीको ओभरल गेयरिङ अनुपात ३.५९ गुणा पुगेको छ, जुन अघिल्लो वर्ष ३.३४ गुणा थियो ।

कम्पनीले कार्यशील पूँजी व्यवस्थापनका लागि बाह्य ऋणमा बढी निर्भर हुनुपर्दा पुँजीगत संरचना ‘लिभरेज्ड’ बनेको छ । सन् २०२५ मा कम्पनीको ब्याज तिर्ने क्षमता १.७५ गुणा रहेको छ । यस्तै, कुल ऋण र नगद मौज्दातको अनुपात सन् २०२४ को ६.९२ गुणाबाट बढेर २०२५ मा १७.२२ गुणा पुगेको छ ।

कम्पनीले कुल ७० करोड रुपैयाँ बराबरको बैंक कर्जा सुविधाका लागि रेटिङ गराएको छ । केयर रेटिङ्स नेपालले १९ करोड २९ लाख ९० हजार रुपैयाँको दीर्घकालीन कर्जालाई ‘केयर-एनपी बीबी माइनस’ र ५० करोड ७० लाख १० हजार रुपैयाँको अल्पकालीन कर्जालाई ‘केयर-एनपी ए फोर’ रेटिङ प्रदान गरेको छ ।

उत्पादन र बजार पहुँच

नवलपरासीको रामग्राममा कारखाना रहेको यस उद्योगले वार्षिक ३३ हजार ८४० मेट्रिक टन धान प्रशोधन गर्ने क्षमता राख्दछ । कम्पनीले तनिष्क, काठमाडौं गेट, बुद्ध गेट, सेतो हिमाल र एच एन्ड टी गरी पाँचवटा विभिन्न ब्रान्डमा चामल उत्पादन र बिक्री गर्दै आएको छ ।

कम्पनीले नेपालका प्रमुख सहरहरूमा रहेका आफ्ना वितरकहरू र फ्याक्ट्रीबाटै सिधै मार्केटिङ गरी उत्पादनहरू बिक्री गरिरहेको छ ।

चुनौती र जोखिम

कम्पनीले केही गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ। धान खेती पूर्णतया मनसुनमा आधारित हुने भएकाले उत्पादन र मूल्यमा हुने उतारचढावले कम्पनीको सञ्चालनलाई प्रभावित पार्ने गर्दछ ।

यस्तै, यो क्षेत्र अत्यन्तै प्रतिस्पर्धात्मक र असंगठित भएकाले साना तथा मझौला व्यवसायीहरूको मूल्य निर्धारण शक्ति कमजोर छ। यसका साथै, नेपालको बैंकिङ क्षेत्रमा हुने तरलताको अभाव र उतारचढावपूर्ण ब्याजदरले पनि कम्पनीको लागत बढाउने जोखिम रहेको छ ।

सन् २०१९ मा स्थापना भएको यो उद्योग दुई दशकभन्दा लामो अनुभव भएका प्रबन्ध निर्देशक विनोद कुमार अग्रहरी र अनुभवी व्यवस्थापन टिमद्वारा सञ्चालित छ ।


प्रतिक्रिया दिनुहोस्