हकप्रद शेयर निष्काशन गर्दै अप्पर लोहोरे खोला हाइड्रोपावर, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

हकप्रद शेयर निष्काशन गर्दै अप्पर लोहोरे खोला हाइड्रोपावर, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल



काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ५० लाख ९८ हजार ४० कित्ता शेयरले हुन आउने ५० करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको मौज्दातमा हकप्रद जारी गर्न लागेको हो। यस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७६ लाख ४७ हजार ६० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेड बीच दुई पक्षीय सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता पत्रमा हाइड्रोपावरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सदिच्छा कार्की र एनआईसी एशिया क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरे।

एनआईसी एशिया क्यापिटलले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म सामूहिक लगानी कोष र डिबेन्चर सहित २० वटा कम्पनीको धितोपत्र निष्काशन कार्य सफलतापूर्वक सम्पन्न गरिसकेको छ। यस्तै, क्यापिटलले ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन कार्य समेत सम्पन्न गरेको जानकारी दिएको छ।

बिक्री प्रबन्धकका रूपमा एनआईसी एशिया क्यापिटलले हालसम्म विभिन्न कम्पनीहरूको धितोपत्र निष्काशन मार्फत १९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रकम संकलन गर्न सफल भएको छ।

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीले दैलेख जिल्लामा ४ मेगावाट क्षमताको माथिल्लो लोहोरे खोला साना जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ। कम्पनीले आयोजना निर्माण र अन्य वित्तीय व्यवस्थापनका लागि हकप्रद शेयरको सहायता लिन लागेको हो।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अन्तिम स्वीकृति लिन बाँकी छ। बोर्डको स्वीकृति र अन्य प्रक्रिया पूरा भएपछि कम्पनीले शेयरधनीहरूका लागि हकप्रद निष्काशनको मिति तय गर्नेछ।


प्रतिक्रिया दिनुहोस्