भ्याली ग्रुपको डेढ दशक लामो विरासत: पेलेट दाना बिक्रीबाटै एक वर्षमा ४ अर्ब ६ करोड आम्दानी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भ्याली ग्रुपको डेढ दशक लामो विरासत: पेलेट दाना बिक्रीबाटै एक वर्षमा ४ अर्ब ६ करोड आम्दानी



काठमाडौं । नेपालको स्थापित व्यावसायिक घराना भ्याली ग्रुप अन्तर्गतको अग्रणी दाना उद्योग भ्याली पेलेट फिड प्रालिले एक वर्षमा ४ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।

कम्पनीले सन् २०२५ मा कुल ४ अर्ब ६ करोड २० लाख रुपैयाँ बराबरको वस्तु बिक्री गरेको हो। यो व्यापार अघिल्लो वर्ष सन् २०२४ को तुलनामा करिब ५१ करोड ६० लाख रुपैयाँ अर्थात् १४.५५ प्रतिशतले वृद्धि भएको हो । सन् २०२४ मा कम्पनीले ३ अर्ब ५४ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

यसअघि सन् २०२३ मा ३ अर्ब ९२ करोड ९० लाख र सन् २०२२ मा ४ अर्ब ५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको कम्पनीले सन् २०२५ मा उल्लेख्य पुनरुत्थान देखाएको छ ।

पछिल्ला वर्षहरूमा दानाको ‘फर्मूलेशन’ मा गरिएको परिमार्जन र ब्रायलर खण्डमा बढेको उत्पादन दक्षताका कारण कम्पनीको बिक्री परिमाणमा वृद्धि आएको रेटिङ रिपोर्टमा उल्लेख छ । विशेषगरी दानाको गुणस्तरमा सुधार भएपछि ग्राहकको स्वीकार्यता बढ्दा कम्पनीको राजस्वमा सकारात्मक प्रभाव परेको हो ।

यद्यपि, कम्पनीको सञ्चालन नाफा मार्जिन ५.६५ प्रतिशत कायम छ । विगतका वर्षहरूमा यो मार्जिन सन् २०२४ मा ४.९९ प्रतिशत, सन् २०२३ मा ५.४० प्रतिशत र सन् २०२२ मा ५.८५ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०२४/२५ मा कम्पनीको नाफाको अवस्था पनि उत्साहजनक देखिएको छ। सन् २०२४ मा १.२३ प्रतिशत रहेको खुद नाफा मार्जिन सन् २०२५ मा बढेर २.६४ प्रतिशत पुगेको छ, जुन मुख्यतया ब्याज खर्चमा आएको कमीले सम्भव भएको हो ।

कम्पनीले मुख्यतया कुखुराका लागि आवश्यक चार श्रेणीका पेलेट दाना र ब्रायलर ब्रिडरका लागि मास दाना उत्पादन गर्ने गर्दछ । कम्पनीको कुल राजस्वमा ८६ प्रतिशत हिस्सा ब्रायलर दाना खण्डले मात्र ओगटेको छ ।

व्यापारमा सुधार आएसँगै कम्पनीको वित्तीय अवस्था बलियो बन्दै गएको छ। सन् २०२५ मा कम्पनीको ब्याज तिर्ने क्षमता २.६८ गुणा पुगेको छ, जुन अघिल्लो वर्ष १.२६ गुणा मात्र थियो । यस्तै, सन् २०२४ मा २.८३ गुणा रहेको कम्पनीको ओभरल गेयरिङ अनुपात सन् २०२५ मा उल्लेख्य सुधार भएर १.४५ गुणामा झरेको छ ।

कम्पनीले कुल २ अर्ब १० करोड ३५ लाख रुपैयाँ बराबरको बैंकिङ कर्जा सुविधाका लागि रेटिङ गराएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको दीर्घकालीन कर्जालाई ‘डबल बी’ र अल्पकालीन कर्जालाई ए फाेर’ रेटिङ प्रदान गर्दै पहिलेको तुलनामा स्तरवृद्धि गरेको छ ।

मकवानपुरको हेटौंडामा कारखाना रहेको यस उद्योगले आफ्नो उत्पादन क्षमतालाई पनि मजबुत राखेको छ। हाल यस उद्योगको वार्षिक जडित क्षमता ७० हजार मेट्रिक टन रहेको छ । भ्याली ग्रुपको ब्रान्ड अन्तर्गत सञ्चालित यो उद्योगले सन् २००८ देखि नेपाली बजारमा आफ्नो दरिलो उपस्थिति जनाउँदै आएको छ ।

चुनौती र जोखिम
व्यापारिक रूपमा सबल देखिए पनि कम्पनीले केही चुनौतीहरूको सामना गरिरहेको छ। कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव, आपूर्ति श्रृङ्खलामा आउने अवरोध र जलवायु परिवर्तन कम्पनीका लागि मुख्य चुनौती हुन् ।

यस्तै, दाना उद्योग पूर्णतया पोल्ट्री क्षेत्रमा निर्भर रहने भएकाले बर्ड फ्लु जस्ता रोगको प्रकोप र मासुको खपतमा आउने कमीले कम्पनीको व्यवसायलाई सिधै प्रभाव पार्ने जोखिम रहन्छ । १०४ दिनको लामो ‘कलेक्सन पिरियड’ र १२५ दिनको सञ्चालन चक्रका कारण कम्पनीको व्यवसाय अझै पनि कार्यशील पूँजीमा आधारित रहेको छ ।

यसका अतिरिक्त, बजारमा रहेका अन्य ठूला र साना दाना उत्पादकहरूसँगको तीव्र प्रतिस्पर्धाले गर्दा कम्पनीको मूल्य निर्धारण शक्तिमा पनि दबाब सिर्जना गरेको छ ।

भ्याली ग्रुपको दुई दशकभन्दा लामो अनुभव र स्थापित बजार सञ्जालले गर्दा यी चुनौतीका बाबजुद कम्पनीले आफ्नो व्यवसायिक स्थायित्वलाई कायम राख्न सफल देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्