एशियन पेन्ट्सको आक्रामक बजार विस्तार: एक वर्षमा ६ अर्बको व्यापार, हेटौंडामा नयाँ प्लान्टको तयारी
काठमाडाैं । नेपालको रङ बजारमा स्थापित व्यावसायिक नाम एशियन पेन्ट्स (नेपाल) प्राइभेट लिमिटेडले आर्थिक मन्दीको प्रभावलाई चिर्दै सन् २०२५ मा आफ्नो व्यापारमा उत्साहजनक सुधार देखाएको छ।
इक्रा नेपालले सार्वजनिक गरेकाे तथ्यांक अनुसार कम्पनीले सन् २०२५ मा कुल ५ अर्ब ८९ करोड ८० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । यो व्यापार अघिल्लो वर्ष सन् २०२४ को तुलनामा करिब २६ प्रतिशतले वृद्धि भएको हो, जतिबेला कम्पनीको राजस्व ४ अर्ब ६७ करोड ४० लाख रुपैयाँमा खुम्चिएको थियो ।
यसअघि सन् २०२३ मा ७ अर्ब ८० करोड ७० लाख र सन् २०२२ मा ८ अर्ब ५७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२४ मा आएको ४० प्रतिशतको ठूलो गिरावटलाई चिर्दै सन् २०२५ मा बलियो पुनरुत्थान देखाएको हो ।
बजारमा माग बढेसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार आएको छ। सन् २०२४ मा ९.१ प्रतिशतमा सीमित रहेको यो मार्जिन सन् २०२५ मा बढेर १४.२ प्रतिशत पुगेको छ । कम्पनीको नाफाको अवस्था कति मजबुत छ भन्ने कुरा यसको ब्याज तिर्ने क्षमताबाट पनि प्रस्ट हुन्छ, जुन सन् २०२४ को १४.१ गुणाबाट बढेर सन् २०२५ मा ३४.५ गुणा पुगेको छ ।
यस्तै, कम्पनीको ‘डेब्ट सर्भिस कभरेज रेसियो’ पनि सुधारिएर ४१.७ गुणा पुगेको छ, जसमा गैर-सञ्चालन आम्दानीको पनि महत्वपूर्ण योगदान रहेको छ ।
वित्तीय संरचनाका हिसाबले एशियन पेन्ट्स नेपाल निकै सुरक्षित अवस्थामा देखिएको छ। सन् २०२५ को मध्य जुलाईसम्ममा कम्पनीको कुल नेटवर्थ ७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ, जसमा ९९ प्रतिशत हिस्सा सञ्चित नाफाको रहेको छ । कम्पनीको सबैभन्दा सबल पक्ष यसको ‘निल गेयरिङ’ अर्थात् शून्य ऋणको अवस्था हो । कम्पनीसँग ५ अर्ब २० करोड रुपैयाँ बराबरको नगद मौज्दात र मुद्दती निक्षेप रहेको छ, जुन यसको कुल नेटवर्थको ७१ प्रतिशत हुन आउँछ । कम्पनीको चालू अनुपात ४.४ गुणा रहेको छ, जसले यसको बलियो तरलता अवस्थालाई पुष्टि गरेकाे छ ।
कम्पनीले आफ्नो कार्यशील पूँजी व्यवस्थापनमा पनि उल्लेख्य सुधार गरेको छ। उधारो असुली अवधि सन् २०२४ को १६० दिनबाट घटेर सन् २०२५ मा ८१ दिनमा झरेको छ, जसका कारण कार्यशील पूँजीको तीव्रता २७ प्रतिशतबाट घटेर १८ प्रतिशतमा सीमित भएको छ ।
यद्यपि, अझै पनि कुल उधारोमध्ये ११ प्रतिशत रकम ३६५ दिनभन्दा बढी पुरानो हुनु र ४८ प्रतिशत उधारो ९० दिनभन्दा बढीको हुनुले केही चुनौती भने कायम राखेको छ । हेटौंडा औद्योगिक क्षेत्रमा वार्षिक १ लाख १ हजार ८ सय मेट्रिक टन उत्पादन क्षमता रहेको यस उद्योगमा एशियन पेन्ट्स इण्डियाको ५३ प्रतिशत र रवि एसोसिएट्स इण्डियाको ९ प्रतिशत शेयर लगानी रहेको छ ।
कम्पनीले ४४ भन्दा बढी विभिन्न ब्रान्ड अन्तर्गत रङहरू उत्पादन गर्दै आएको छ भने सन् २०२२ देखि बाथरुम फिटिङ्सको एसेम्बली पनि सुरु गरेको छ ।
कम्पनीको यो बलियो प्रदर्शन र वित्तीय सुरक्षालाई मध्यनजर गर्दै इक्रा नेपालले यसको १ अर्ब ५० करोड रुपैयाँको अल्पकालीन ऋण सीमाका लागि ‘एवान प्लस’ रेटिङलाई निरन्तरता दिएको छ ।
यद्यपि, कम्पनीले हाल इमल्सन पेन्ट्सका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न नयाँ प्लान्ट स्थापनाको योजना अघि सारेको छ, जसले गर्दा भविष्यमा तरलतामा केही चाप पर्न सक्ने आँकलन गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव, डलरको विनिमय दरमा हुने जोखिम र बढ्दो प्रतिस्पर्धालाई मुख्य चुनौतीका रूपमा हेरिएको छ । साथै, बजारमा नयाँ कम्पनीहरूको प्रवेशसँगै बढ्दो प्रतिस्पर्धाले गर्दा नाफाको मार्जिनमा दबाब पर्न सक्ने देखिएको छ ।













