४ आश्विन २०८३, आइतबार

बैंकिङ प्रणालीबाट आज एकैपटक १ खर्ब १० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक



काठमाडाैं । निक्षेप संकलन उपकरणको प्रयोग गरी नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुनः ठूलो परिमाणमा तरलता खिच्ने भएको छ।

बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) थुप्रिएर ‘फालाफाल’ को स्थिति सिर्जना भएपछि केन्द्रीय बैंकले आज फागुन १७ गते १ खर्ब १० अर्ब रुपैयाँ तान्न लागेको हो।

यसका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय निर्धारण गरिएको छ। राष्ट्र बैंकका अनुसार इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आफूसँग भएको अधिक रकम केन्द्रीय बैंकमा निक्षेपका रूपमा राख्न सक्नेछन्। यसरी निक्षेप दिन चाहने संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

निक्षेपको ब्याजदर निर्धारण बोलकबोल प्रक्रियाबाटै हुनेछ। बैंकहरुले एउटा मात्र नभई बहुब्याजदरमा पनि बोलकबोल गर्न सक्ने सुविधा दिइएको छ। यो निक्षेप संकलन उपकरणको अवधि ८७ दिनको हुनेछ, जसको साँवा र ब्याज भुक्तानी आगामी २०८३ जेठ १३ गते गरिने राष्ट्र बैंकले जनाएको छ।