दुर्घटना र मन्दी छिचोल्दै बेसक्याम्प हेलिकोप्टरको सुखद पुनरागमन, एक वर्षमा ४० करोडमाथिको व्यापार
काठमाडौँ । नेपालको हेलिकोप्टर चार्टर सेवामा स्थापित नाम बेसक्याम्प हेलिकोप्टर प्राइभेट लिमिटेड (साविकको मनाङ एयर) ले विगतका श्रृंखलाबद्ध दुर्घटना र आर्थिक मन्दीको प्रभावलाई चिर्दै सन् २०२५ मा आफ्नो व्यवसायमा उत्साहजनक पुनरुत्थान देखाएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको ताजा विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी र नाफामा उल्लेख्य सुधार आएको छ।
कम्पनीले सन् २०२५ मा कुल ४० करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ। यो आम्दानी सन् २०२४ को तुलनामा १० गुणाभन्दा बढी हो, जतिबेला कम्पनीको राजस्व मात्र ३ करोड ६० लाख रुपैयाँमा खुम्चिएको थियो।
सन् २०२३ र २०२४ को छोटो अवधिमै भएका दुईवटा हेलिकोप्टर दुर्घटनाका कारण सन् २०२४ मा कम्पनीको सञ्चालन करिब ठप्प जस्तै बनेको थियो। व्यवसाय पुनः सुरु भएसँगै कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा २५.५९ प्रतिशत पुगेको छ, जुन अघिल्लो दुई वर्षसम्म ऋणात्मक रहेको थियो।
बेसक्याम्प हेलिकोप्टरले पछिल्लो समयमा ठूला चुनौतीहरूको सामना गरेको छ। सन् २०२३ को जुनमा लमजुरामा र अक्टोबरमा लोबुचेमा गरी तीन महिनाको अन्तरमा कम्पनीले दुईवटा हेलिकोप्टर गुमाएको थियो। यसअघि सन् २०१९ मा पनि लुक्ला विमानस्थलमा अर्को जहाजसँग ठोक्किएर एक हेलिकोप्टर क्षति भएको थियो।
तर, कम्पनीले सन् २०२४ र २०२५ मा दुईवटा नयाँ हेलिकोप्टर थपेर आफ्नो सेवालाई पुनः आक्रामक रूपमा अगाडि बढाएको छ। हाल कम्पनीले दुईवटा एएस ३५० बी३ हेलिकोप्टरमार्फत मुख्य गरी सगरमाथा र अन्नपूर्ण क्षेत्रमा सेवा दिइरहेको छ।
कम्पनीको वित्तीय संरचनामा सुधार आए पनि ऋणको भार अझै मध्यम देखिन्छ। सन् २०२५ को मध्य जुलाईसम्ममा कम्पनीको कुल ऋण र पूँजीको अनुपात २.१९ गुणा रहेको छ। नयाँ हेलिकोप्टर खरिदका लागि थप ऋण लिएका कारण ऋण तिर्ने क्षमता सन् २०२४ को ५.३७ गुणाबाट घटेर २.७३ गुणामा झरेको छ।
यद्यपि, आम्दानीमा भएको सुधारले ब्याज तिर्ने क्षमता भने २.२२ गुणा पुगेको छ। कम्पनीसँग हाल करिब ५३ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण र १४ करोड ७५ लाख रुपैयाँ बराबरको अन्य ऋण सुविधाहरू रहेका छन्।
सन् १९९६ देखि सञ्चालनमा रहेको यो कम्पनी नेपालको हेलिकोप्टर क्षेत्रकै सबैभन्दा पुरानो खेलाडीमध्ये एक हो। सतिश प्रसाद प्रधानको अध्यक्षतामा रहेको सञ्चालक समिति र तीन दशकभन्दा बढी अनुभव भएका प्रमुख कार्यकारी अधिकृत रोम हर्ष श्रेष्ठको नेतृत्वमा कम्पनीले आफ्नो साख जोगाइरहेको छ।
कम्पनीको बलियो पुनरुत्थानलाई ध्यानमा राख्दै रेटिङ एजेन्सीले यसको दीर्घकालीन ऋणका लागि ‘डबल बी माइनस’ र अल्पकालीन ऋणका लागि ‘एफोर’ रेटिङलाई निरन्तरता दिँदै ‘नकारात्मक निगरानी’ बाट समेत हटाएको छ।
कम्पनीले आफ्नो सेवा विस्तारका लागि थप दुईवटा हेलिकोप्टर भित्र्याउने योजना अगाडि सारेको छ। यद्यपि, कार्यशील पूँजी व्यवस्थापनमा रहेको चाप, पर्यटन क्षेत्रको मौसमी निर्भरता, उडान सुरक्षाको जोखिम, हवाई इन्धनको मूल्यमा हुने उतारचढाव र डलरको विनिमय दरमा हुने जोखिमलाई मुख्य चुनौतीका रूपमा हेरिएको छ।













