प्रकृति र संस्कृतिलाई होलीले कसरी एकसाथ समेटेको छ ?
काठमाडौँ । आज फागु पूर्णिमा। यस दिन पहाडी भेगमा फागु खेल्ने चलन छ। भारतमा यस पर्वलाई होली भनेर मनाइन्छ। सोही प्रभावका कारण नेपालको तराई भागमा पनि होली मनाइन्छ, तर त्यहाँ पूर्णिमाको भोलिपल्ट मात्र रङ्ग खेल्ने चलन छ। यद्यपि, यी दुवै रङ्ग र खुसीका उत्सव हुन्।
वसन्त ऋतुको आगमनलाई स्वागत गर्न मनाइने यो पर्वले समाजमा प्रेम भाव प्रवाह गर्न सघाउँछ।
नेपाली समाजमा विवाहित छोरी चैतमा माइत जानु हुन्न भन्ने चलन छ, जसको तात्पर्य सन्तान उत्पादनसँग जोडिएको पाइन्छ। पुरातन मान्यता अनुसार चैतमा नारीको शरीरले गर्भधारण गर्ने बढी सामर्थ्य राख्छ।
प्रकृति र मानवीय ऊर्जा
नारीलाई सनातन संस्कृतिमा स्वयम् प्रकृतिको रूपमा चित्रण गरिन्छ। जसरी चैत–वैशाखमा रुखमा नयाँ पालुवा पलाउँछन्, त्यसरी नै मानव शरीरमा पनि नयाँ ऊर्जा सञ्चार भएर यौन तथा पुनरुत्पादनको चाहना जाग्छ।
त्यसैले सनातनीहरु यसलाई ‘कामोत्तेजना’ वा प्रेमको मौसम मान्दछन्। विशेष गरी युवा युवतीहरूमा यो पर्वको छुट्टै उल्लास देखिन्छ। १८–२० वर्षको उमेरमा ‘जीवन ऊर्जा’ मानव जुनीकै सबैभन्दा उत्कर्षमा हुन्छ । त्यसैले १६ देखि २५–३० वर्षको उमेर समूहका युवा युवतीका लागि यो पर्वको ‘विशेष’ रहँदै आएको छ ।
पछिल्लो समय यो उत्सव कुनै धर्म वा जातमा सीमित नभई एउटा ‘आम पर्व’ को रूपमा विकास भइरहेको छ। नेपालले यसलाई पर्यटकीय आकर्षणको रूपमा अझै प्रवर्द्धन गर्न सक्ने ठुलो सम्भावना छ।
क्षेत्र र समुदाय अनुसारको विविधता
नेपालमा ठाउँ र समुदाय अनुसार यो पर्व मनाउने आफ्नै मौलिक शैलीहरू छन्:
काठमाडौँ उपत्यका: फाल्गुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा ‘चीरोत्थान’ गरेपछि होली सुरु भएको मानिन्छ। पूर्णिमाका दिन उक्त चीरलाई बाजागाजासहित टुँडिखेलमा लगेर जलाइन्छ। चीरको खरानीलाई ‘अनिष्ट’ टार्ने औषधिका रूपमा टीका लगाउने चलन छ।
फागुपूर्णिमाको दिन उपत्यकामा भीमसेनको पूजा गर्ने चलन पनि रहेको छ ।
गुरुमापा प्रथा: पूर्णिमाकै दिन टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई भात र राँगाको मासु खुवाउने अनौठो परम्परा छ। उसलाई इटुम्बहालबाट ल्याइएको १० पाथि चामलको भात र एउटा राँगाको मासु खुवाउने चलन छ । त्यसपछि न्यूरोड गेटनेरको सैनिक अस्पतालभित्र लगेर त्यहाँको ‘जधु’ नामक धारोमा मुख चुठाउने चलन पनि रहेको छ ।
हिमाली क्षेत्र: थकाली समुदायले यसै दिन ‘तोरन ल्ह’ पर्व मनाउँछन्। उनीहरूले आफ्ना दिवङ्गत पुर्खाहरूलाई सम्झन्छन् र उनीहरूको मुक्तिका लागि विशेष पूजाआजा (च्युमी बाल्ने) गर्छन्।
यो पर्व मुख्यतया तीन दिनसम्म धूमधामका साथ मनाइन्छ। थकाली समुदायका चार मुख्य कुलहरू (च्योगि, सलगि, त्हिगि र भ्ह्गि) ले आफ्ना कुल देवताको पूजा गर्छन्। यो समयमा घर-आँगन सफा गर्ने र रङ्गीचङ्गी तोरणहरूले घर सजाउने गरिन्छ, जसका कारण यसलाई ‘तोरन ल्ह’ भनिएको हो।
यो चाडमा पुरुषहरू बीच तारो हान्ने तथा महिलाहरू परम्परागत भेषभूषामा सजिएर गीत गाउने, नाचगान गर्ने गर्छन्। थकाली समुदायमा यो समयमा पितृहरूको सम्झनामा ‘ला फेवा’ गर्ने र घरको मूल ढोकामा तोरण बाँध्ने चलन छ। त्यसैले, धेरैले यसलाई ‘थकालीहरूको होली’ भनेर बुझ्ने गरे पनि यो उनीहरूको नितान्त मौलिक र छुट्टै सांस्कृतिक पर्व हो।
तराई क्षेत्र: यहाँ पूर्णिमाको भोलिपल्ट होली मनाइन्छ। रङ्गसँगै जोगिरा (होली गीत) गाउने र व्यङ्ग्यात्मक कार्यक्रम गर्ने विशेष परम्परा छ। तराईमा होलीको मुख्य आकर्षण भनेकै ‘जोगिरा सररर…’ भन्दै गाइने फागु गीतहरू हुन्। ढोलक, मजीरा र झ्यालीको तालमा गाइने यी गीतहरूले गाउँ नै गुञ्जायमान हुन्छ।
तराईमा होलीमा घर-घर गएर मान्यजनको खुट्टामा अबिर लगाएर आशीर्वाद लिने र मिष्ठान्न भोजन (मालपुवा, दहीबडा) खुवाउने चलन छ। होलीको अघिल्लो रात ‘सम्मत’ (होलिका दहनको प्रतीक) बालेर फोहोर र नकारात्मकतालाई जलाउने गरिन्छ।
भारत : भारतका विभिन्न प्रान्तमा यसलाई फरक-फरक शैलीमा मनाइन्छ । विशेषगरी मथुरा र वृन्दावनमा होलीलाई कृष्ण र राधाको पवित्र प्रेमको प्रतीक मानिन्छ। मथुरामा महिलाहरूले पुरुषहरूलाई लाठीले प्रहार गर्ने र पुरुषहरूले ढालले छेक्ने एउटा रमाइलो परम्परा छ।
पञ्जाबबा शिख समुदायले यसलाई वीरता प्रदर्शन गर्ने पर्वको रूपमा मनाउँछन्। पश्चिम बंगालमा ‘वसन्त उत्सवको रूपमा नाचगान र सांस्कृतिक कार्यक्रमसहित सभ्य तरिकाले होली मनाइन्छ।
मैथिल संस्कृति : होलीको वर्णन प्राचीन संस्कृत साहित्य र पुराणहरूमा पाइन्छ। होलीको उत्पत्ति वैदिक कालमा भएको मानिन्छ, जुन समयमा आर्य संस्कृति फैलिएका सबै ठाउँमा यो मनाइन्थ्यो। त्यसैले यो समग्र दक्षिण एसियाकै साझा पर्व हो ।
तर यसको नाभी मिथिला क्षेत्रसँग सबैभन्दा बलियो गरी जोडिएको छ । त्रेता युगको ‘ज्ञान केन्द्र’ जनकपुर नै यो पर्वको उद्गमस्थल हुनसक्ने कयौँ प्रमाणहरु छन् । विद्यापतिजस्ता मिथिलाका प्राचीन कविहरूका रचनाहरूमा होली (फगुआ) को व्यापक वर्णन पाइन्छ, जसले यो क्षेत्रमा होलीको जरो निकै गहिरो रहेको पुष्टि गर्छ।
डम्फू र मृदङ्गको तालमा गाइने जोगिरा गीतहरू मिथिलाको मौलिक पहिचानमात्र होइन, होलीको आत्मा पनि हो । मिथिलामा होली केवल रङ्ग खेल्ने दिन मात्र होइन, यो हिलो खेल्ने (कादो–माटी), ठट्टा–मजाक गर्ने र सामूहिक भोजन गर्ने सामाजिक एकताको पर्व हो। यसलाई ‘होरिया’ पनि भनिन्छ ।
जोगिरामा सीताराम र राधाकृष्णको होली खेलका प्रसङ्गहरू गाइन्छ । समाजमा रहेका विकृति, राजनीति र विसंगतिमाथि ठट्टा र प्रहार हुन्छ । साली–भिनाजु, देवर–भाउजू बीचको ठट्टा–मजाक पनि गाइन्छ । साथै जीवनको नश्वरता, अध्यात्म र खुसीका कुरालाई पनि उत्तिकै महत्वमा राखिन्छ।
किनकी, ‘जोगिरा’ शब्द नै ‘जोगी’ बाट आएको मानिन्छ। होलीको समयमा मानिसहरू सबै रिसराग त्यागेर, रङ्गमा झुमेर जोगी जस्तै मस्त भएर गाउने हुनाले यसलाई ‘जोगिरा भनिएको हो।
त्यहाँ होली १५ दिनअघि सुरु हुन्छ । फागुन औँसीदेखि सुरु हुने यो १५ दिने पदयात्रा फागु पूर्णिमाको दिन जनकपुरमा पुगेर टुङ्गिन्छ। यसलाई ‘मिथिला मध्यमा परिक्रमा’ भनिन्छ । यो परिक्रमा सकिएपछि मात्र मिथिलामा विधिवत् रूपमा होली (जसलाई स्थानीय भाषामा फगुआ भनिन्छ) खेलिन्छ। त्यसैले, यो पर्व यहाँको भूगोल र धर्मसँग अभिन्न रूपले जोडिएको छ।













