सुनको भाउमा पुनः उछाल: दुई दिनमै तोलामा ११ हजार २०० रुपैयाँले बढ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको भाउमा पुनः उछाल: दुई दिनमै तोलामा ११ हजार २०० रुपैयाँले बढ्यो



काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा फेरि ठूलो वृद्धि भएको छ। आइतबार तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि सोही बराबर अर्थात् ५ हजार ६ सय रुपैयाँले नै बढेको छ। यससँगै दुई दिनको अवधिमा मात्रै सुनको मूल्यमा कुल ११ हजार २ सय रुपैयाँको बढोत्तरी देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य वृद्धिसँगै सुन पुनः आफ्नो ऐतिहासिक उच्च विन्दुको नजिक पुगेको छ।

पछिल्लो समय मध्यपूर्वमा बढ्दै गएको सैन्य तथा राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको माग ह्वात्तै बढेको छ। लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुन रोजेपछि विश्व बजारमा मूल्य बढ्दा त्यसको सिधा प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ पुगेको छ। सुनको मूल्यमा आएको यो निरन्तरको तीव्रताले गर्दा नेपाली बजारमा सुनको कारोबारमा समेत मन्दी आउन सक्ने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्