आईपीओको तयारीमा रहेको प्रिमियर डिस्टिलरीले एक वर्षमा गर्यो सवा अर्ब बढीको व्यापार, ‘ओल्ड मंक’ र ‘पल पल’ ले बढायो आम्दानी
काठमाडौँ । अन्नमा आधारित ‘शुद्ध मदिरा सार’ (एक्स्ट्रा न्यूट्रल अल्कोहल) उत्पादन गर्दै आएको प्रिमियर डिस्टिलरी लिमिटेडको व्यापारिक ग्राफ पछिल्लो तीन वर्षयता निरन्तर वृद्धि भएको देखिएको छ । सन् २०२४ मा १ अर्ब २८ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीले आर्थिक वर्ष २०२५ सम्म आइपुग्दा १ अर्ब ३२ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २.८ प्रतिशतको वृद्धि हो ।
त्यसअघि सन् २०२३ मा कम्पनीको व्यापार १ अर्ब १६ करोड ८० लाख रुपैयाँ रहेको थियो । मुख्य गरी मदिरा र ‘जेना’को बिक्री परिमाण बढ्नुका साथै औसत बिक्री मूल्यमा भएको सुधारले व्यापार बढाउन मद्दत पुगेको रेटिङ प्रतिवेदनमा उल्लेख छ ।
व्यापार बढे पनि कम्पनीको सञ्चालन नाफा मार्जिनमा भने केही गिरावट आएको छ । सन् २०२३ मा १४.८५ प्रतिशत र २०२४ मा १४.८३ प्रतिशत रहेको यस्तो मार्जिन सन् २०२५ मा घटेर १२.६२ प्रतिशतमा खुम्चिएको छ । उत्पादन लागतमा भएको वृद्धिका कारण नाफा मार्जिन प्रभावित भएको हो । यद्यपि, कम्पनीको खुद नाफा मार्जिन भने सन् २०२४ को ३.५५ प्रतिशतबाट सामान्य बढेर सन् २०२५ मा ३.६९ प्रतिशत कायम भएको छ ।
कम्पनीको पुँजीगत संरचना र वित्तीय जोखिमको अवस्थामा भने उल्लेख्य सुधार देखिएको छ । सन् २०२५ को अन्त्यसम्ममा कम्पनीको कुल पुँजी र ऋणको अनुपात (ओभरल गेयरिङ रेसियो) सुधारिएर ०.५८ गुणा कायम भएको छ । अघिल्लो वर्ष सन् २०२४ मा यो अनुपात १.४७ गुणा र सन् २०२३ मा १.३७ गुणा रहेको थियो । प्रवर्द्धकहरूले करिब ४७ करोड ८० लाख रुपैयाँ स्वपुँजी थपेका कारण ऋणको भार कम भई वित्तीय अवस्था मजबुत बनेको हो ।
ब्याज तिर्ने क्षमताका आधारमा पनि कम्पनी सुदृढ देखिएको छ । सन् २०२५ मा कम्पनीको ब्याज कभरेज अनुपात ३.०८ गुणा पुगेको छ, जुन सन् २०२४ मा २.३९ गुणा र २०२३ मा २.२२ गुणा मात्र थियो । ऋणको मात्रा घट्दा ब्याज खर्चमा आएको कमीले यो सुधार सम्भव भएको हो । यद्यपि, कच्चा पदार्थको मौज्दात राख्ने समय १७८ दिन पुग्दा कम्पनीको कार्यगत पुँजी व्यवस्थापन भने केही चुनौतीपूर्ण देखिएको छ ।
कम्पनीले हाल कुल ७८ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको बैंक कर्जा सुविधाका लागि रेटिङ गराएको छ । इन्फोमेरिक्स नेपालले कम्पनीको ९ करोड ३३ लाख रुपैयाँको दीर्घकालीन कर्जालाई ‘आईआरएन डबल बी प्लस’ र ६९ करोड रुपैयाँको अल्पकालीन कर्जालाई ‘आईआरएन ए फोर प्लस’ रेटिङ प्रदान गर्दै पहिलेको तुलनामा स्तरोन्नति गरेको छ । साथै, कम्पनीलाई ‘आईआरएन डबल बी प्लस (आईएस)’ को निर्गतकर्ता रेटिङ (इस्यूअर रेटिङ) समेत प्रदान गरिएको छ ।
मदिरा उद्योगमा सरकारको कडा नियमन, उच्च कर र विज्ञापनमा लगाइएको प्रतिबन्धले यो व्यवसायमा नीतिगत जोखिम उच्च रहेको रिपोर्टमा औँल्याइएको छ । साथै, अमेरिकी डलरमा गरिने आयातका कारण वैदेशिक मुद्रा विनिमय दरमा हुने उतारचढाव र १० वटा ठूला ग्राहकमा मात्रै ९२ प्रतिशत व्यापार निर्भर रहनु कम्पनीका लागि चुनौतीका रूपमा रहेका छन् ।
सन् २०१२ मा स्थापना भएको यस कम्पनीको कारखाना सुनसरीको दुहबीमा रहेको छ । अनुभवी शारदा समूह र राठी समूहको संयुक्त लगानी रहेको यस उद्योगले नेपालमा ‘पल पल’, ‘द हिमालयन रिजर्भ’, ‘ओल्ड मंक’, ‘ब्ल्याक स्टालियन’ र ‘रोयल रिजर्भ’ जस्ता ब्रान्डका मदिराहरू बिक्री गर्दै आएको छ । आगामी दिनमा सर्वसाधारणका लागि सेयर (आईपीओ) जारी गर्ने योजनामा रहेको कम्पनीको कार्यक्षमता र नाफा व्यवस्थापन नै रेटिङको प्रमुख आधार रहने देखिन्छ ।













