राजनीतिमा ‘डेब्यू नहुँदै सन्यास’, व्यवसायी वीरेन्द्र बस्नेतले किन हार खाए ?
काठमाडौं । लोक कल्याणमा महत्वपूर्ण योगदान दिने अभिलाषा बोकेर आफैँले खोलेको नयाँ पार्टीबाट व्यवसायी वीरेन्द्र बहादुर बस्नेत अलग्गिएका छन् । उनले राजनीतिक बृत्तमा पसेर समाज सेवा गर्ने पुरानो इच्छा बोकेर गतिशील लोकतान्त्रिक पार्टी स्थापना गरेका थिए ।
उक्त पार्टीमा आफू केन्द्रीय सदस्य मात्रै भए पनि यो दलको परिकल्पनाकार र मुख्य अभियान्ता बस्नेत स्वयम् हुन् । उनले मोरङमा आफूले सयौं परिवार किसानहरुलाई सहयोग गर्दै आएको पृष्ठभूमिमा यो राजनीतिक दल स्थापना गरेका हुन् ।
तर आफ्नो दलले मत हासिल गर्न नसकेपछि उनले अब सञ्जालमा लेखेका छन्, ‘अब म एक स्वतन्त्र, जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत् मातृभूमिको सेवामा समर्पित रहने छु ।’
उनको यो भनाइले सायद अब उनी ‘कन्भिन्स’ भए होला— ‘म व्यवसाय गर्नका लागि यो संसारमा आएको हूँ, राजनीति गर्न होइन ।’ तर उनको दलको यस्तो अवस्था आउनुका अनेक कारणमध्ये एउटा चाहीँ ‘गलत समय’ भएको जानकार बताउँछन् ।
गतिशील लोकतान्त्रिक पार्टी जेजनी आन्दोलनपछि स्थापना भएको हो। जेनजी आन्दोलनलाई भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितिविरुद्धको विस्फोटको रूपमा लिएको बताउने उनले दिगो रोजगारी, सुशासन र समतामूलक विकासको बाटो खोज्दै नयाँ राजनीतिक अभियानमा सहभागी भएका थिए ।
तर, यस्तो ‘नम्र स्वर’बाट उनको पार्टी प्रतिस्पर्धाीमा टिक्न सकेन । त्यसपछि उनले पहिलो प्रयासमै आफ्नो अभियान ‘अगाडि बढ्न नसकेको’ निचोड निकाले । एकातिर राजनीतिक दल बन्न लामो मिहेनत र धैर्यता आवस्यक पर्छ । अर्कातर्फ अहिले जेनजी आन्दोनलन निम्त्याउनेदेखि त्यसलाई सफल पार्ने र संक्रमणकालिन सरकार गठन गर्नेसक्को शक्ति एक ठाउँमा उभिएर ‘परिवर्तनको सुनामी’ ल्याएका बेला उनको दलले अपेक्षाकृत जनमत बटुल्ने संभावना नै कमजोर भएको उनका निकटवर्तीले बताउँदै आएका थिए ।
तर उनले दल खोल्न हतारि र चाँडै आत्तिए पनि । उनले लेखेका छन्, ‘हालको राजनीतिक संस्कारले मेरो आत्मासँग मेल खाएन । मैले बुझेँ– पद र दलको सीमाभित्र रहेर मेरो अनुभव, क्षमता र देशप्रतिको अथाह प्रेमले खोजेको योगदान दिन सकिँदैन । अबको बाटो फरक छ, तर देशप्रतिको समर्पण यथावत् छ ।’
आगामी दिनमा आफ्नो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनामा केन्द्रित गर्ने उनले प्रतिबद्धता जनाएका छन् । उनको यस्तो तर्कबाट आफूले देखेको स्वप्न पुरा गर्ने भन्दा पनि पहिलो प्रयासमै ‘हार खाने’ अवस्था आएको दखिन्छ । त्यसैले सायद उनलाई राजनीतिमा डेब्यू अगाडी नै सन्यासमा पुर्याइदिएको छ ।













