के वीरेन्द्र बस्नेत अब राजनीतिमा होमिँदै छन् ? « Arthapath.com
४ पुष २०८१, बिहीबार

के वीरेन्द्र बस्नेत अब राजनीतिमा होमिँदै छन् ?



काठमाडौँ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत अब आफ्नो जिन्दगीको उडानलाई राजनीतिको धावनमार्गमा अवतरण गर्ने कोसिस गरिरहेका छन् भन्ने सुन्दा धेरैलाई अविस्वास लाग्न सक्छ ।

तर उनका केही निकटवर्तीहरुले छिट्टै नै बस्नेत राजनीतिक बृत्तमा नयाँ खेलाडीको रुपमा खडा हुनसक्ने बताउन थालेका छन् । नेपाली राजनीतिमा बाक्लैगरी सुनिन थालेको शब्द ‘मिसन ०८४’ लाई ताकिरहेका कयौँ मानिसहरुमध्ये उनी पनि एक हुन् ।

उनले राजनीतिक उडान भर्ने गरी ‘पखेटा फिँजाउन’ अब ‘ढिला हुन थालिसकेको’ बताइरहेका छन् । यसका लागि उनले करीब एक दशकदेखि पृष्ठभूमि तयार पारिरहेका थिए ।

उनको राजनीतिक यात्रा कुन स्वरुपको हुन्छ भनेर हामीले स्पष्ट भन्न सक्दैनौँ । अहिले भएकै राजनीतिक दल वा शक्तिहरुमा समाहित भएर अघि बढ्ने वा नयाँ राजनीतिक शक्तिको स्थापना गर्ने कुरामा ‘चित्र’ स्पष्ट भइसकेको छैन । बस्नेत स्वयम् यस बारेमा सार्वजनिक रुपमै खुलेर चर्चा गर्न थालेका छैनन् ।

तर उनले लामो मिहनेतबाट आफ्नो ‘आधार क्षेत्र’ तयार पारेको उनका निकटवर्तीहरु बताउँछन् । समाचार सूत्रहरुका अनुसार उनी आफ्नो ‘कर्मभूमि’ मोरङबाटै राजनीतिमा उदाउन प्रयासरत छन् । पूर्वी तराई उनको आधार क्षेत्र हुने छ ।

हवाई सेवाको व्यवसायमा सफलता पाएका उनी कृषि र सञ्चार क्षेत्रमा लगानी गरिरहेका छन् । यी दुई लगानीलाई उनले आवस्यकताको घडीमा ‘हतियार’कै तरह उपयोग गर्नसक्ने आँकलन उनका निकटवर्तीहरुको छ । किनकी, यी दुबै क्षेत्रमा उनले सार्वजनिक हितलाई ज्यादा महत्व दिइरहेका छन् ।

राजकाजको विरासत

उनका पिता सुरेन्द्रबहादुर बस्नेतको दुई वर्ष अघिमात्रै निधन भयो । ७० वर्षको आयुमा बुद्ध एयरको स्थापना गर्ने सुरेन्द्रको विगत राजनीतिक र प्रशासनिक दुबै क्षेत्रमा जोडिएको थियो ।

भोजपुरको दिङ्लामा जन्मिएका सुरेन्द्र नेपाल बार एशोसियसनको संस्थापक सदस्य, सर्वोच्च अदालतको न्यायाधीश एवम् निर्वाचन आयोग नेपालको पहिलो प्रमुख आयुक्त बनेका थिए ।

वि.सं. २०२४ मा कानून, न्याय तथा शिक्षा मन्त्री बनेका उनी २०२५ सालमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । नेपाल प्रेस काउन्सीलका संस्थापक अध्यक्ष पनि उनै थिए ।

तिनै सुरेन्द्रका जेठा छोरा वीरेन्द्र पनि व्यवसायका साथसाथै आफ्नो सामाजिक जीवन यात्राप्रति लगाव राख्छन् । उनलाई सार्वजनिक जीवनका मार्फत् ‘जनकल्याण’ गर्ने गहिरो भोक छ ।

‘पूर्व’ केन्द्रित सोच

उनको नाममा २०७२ मा कान्तिपुर दैनिकमा दुई लेख प्रकाशित भएका थिए । त्यसमा राजनीतिक मूल्यमान्यता र वर्तमान कोशी प्रदेशको सीमाङ्कनका सन्दर्भमा राय प्रस्तुत छन् ।

उनले लेखेका थिए, ‘जुन राष्ट्रमा मध्यम वर्गको बाहुल्य हुन्छ, त्यो राष्ट्रको प्रजातन्त्र बलियो र दिगो हुन्छ । किनकि कडा परिश्रमले आर्जेको हक, अधिकार र सम्पत्ति रक्षाका लागि स्वस्फुर्त अगाडि बढ्छन् ।’

उनले नेपालमा मध्येम वर्गको बाहुल्यता सिर्जना गर्नका निम्ति सबै नागरिकको सामाजिक एवम् आर्थिक अधिकार पूर्णरूपमा सम्बर्द्धन एवम् सुरक्षित हुन जरुरी रहेको भनेका थिए । ‘यसबाट हरेक नेपालीले आफ्नो क्षमताअनुसार उन्नति गर्ने समान अवसर प्राप्त गर्नेछन्’ उनले लेखेका थिए ।

ती लेखहरुमा उनी साम्प्रदायिक एवम् जनसांख्यिक आँकडाहरुमा खेल्न ज्यादा रुचाएका छन् । साथै न्यून जनघनत्व भएको विशाल भूखण्डको विकासलाई पनि सँगसँगै लैजानुपर्नेमा सचेत देखिन्छन् ।

‘मुकदर्शक’ बन्न अस्वीकार्य

बस्नेतले ६ महिनाअघि पत्रकार टीकाराम यात्रीलाई दिएको अन्तरवार्तामा ‘अबको ३ देखि ५ वर्षभित्र नेपालमा आन्तरिक हवाई यात्रुको संख्या ५० प्रतिशत हाराहारी घट्ने’ अनुमान गरेका थिए । त्यसको विकल्पमा उनले भारतीय शहरहरुमा उडान भर्ने सोच अघि बढाएको बताएका छन् ।

आफ्नो सबैभन्दा ठूलो ब्यावसायिक साम्राज्यमा पर्नसक्ने धक्कालाई पहिले नै महसुस गरिसकेका उनी अब लगानीको विविधिकरण गर्ने बाटोमा मात्रै छैनन्, आफ्नो संलग्नतालाई पनि भिन्न परिवेशमा खडा गर्ने दिशामा अघि बढेका छन् ।

त्यही अन्तरवार्तामा उनले भनेका छन्, ‘विगत २७ वर्षमा मैले जुन सामथ्र्य हासिल गरेको छु, त्यसलाई प्रयोग गर्न मैले सुरु गरिसकेँ । अब हामीजस्तो व्यक्तिहरु मुकदर्शक भएर बस्नु हुँदैन ।’ यही ‘मुकदर्शक’ सम्बन्धी तर्क उनले ९ वर्ष अघि भुषण दाहालसँगको अन्तरवार्तामा पनि उठाएका थिए ।

अहिले उनले आफूसँग दुईटा विकल्प भएको बताएका छन् । ती विकल्पहरुमा ‘अहिलेसम्म कमाएको पैसा हुण्डिबाट विदेश लैजाने’ वा ‘यही देशमा भिड्ने’ हुन् । उनी दोस्रो विकल्प रोज्न चाहन्छन् । ‘मेरा भावि पुस्ताका लागि केही गर्नु पर्छ भन्ने मेरो अबको अहम् कर्तव्य हो’, उनले भनेका छन् ।

दाबी ‘मधेशी’

९ वर्ष अघि भारतीय नाकाबन्दीको समयमा कान्तिपुर टेलिभिजनमा पत्रकार भुषण दाहाललाई पनि उनले अन्तरवार्ता दिएका थिए । त्यस कार्यक्रममा उनले ‘मेरो कर्मभूमि मोरङ हो’, ‘म पनि मधेशी नै हूँ’ जस्ता शब्दावली प्रयोग गरेका थिए ।

उनले प्रादेशिक सिमांकनको विषयमा तराइमा आन्दोलन हुँदा कान्तिपुर दैनिकमा लेख लेखेर झापा, मोरङ र सुनसरीलाई उदयपुरको दक्षिणी भाग मिसाएर अलग्गै प्रदेश बनाउन सुझाव समेत दिएका थिए ।

त्यसो गर्न सके सिंगापुर र इस्टोनियाले जस्तै एउटा ‘सीटी स्टेट’ बनाउन सकिने अवधारणा उनले सुनाएका छन् । यसका निम्ति प्रादेशिक संरचनामा क्षेत्रीय राजनीति र व्यवस्थापन कौसलको भूमिका ज्यादा हुने अपेक्षा उनको थियो ।

उनले यो पनि भनेका थिए, ‘यही राजनीतिक पार्टी, यही संरचना र यही नेताहरु सधैँभरी रहिरहन्छन् भन्ने मलाई विस्वास लाग्दैन ।’

यी तर्कहरुलाई उनको राजनीतिक बृत्तमा उभिने गौण अभिलाषासँग समाबद्ध गरेर हेर्ने हो भने बस्नेत कम्तिमा एक दशकदेखि नयाँ राजनीतिक शक्तिको प्रादुर्भाव गर्ने सोचबाट अभिप्रेरित छन् भन्ने अनुमान लगाउन सकिन्छ ।

कृषि र शिक्षामा जोड

उनको विचारमा नेपालको वर्तमान शिक्षालाई पुनःपरिभाषित गर्नुपर्ने आवस्यकता छ । भारतीय रिजर्भ बैंकका भूतपूर्व गभर्नर रघुराम राजनलाई उद्धृत गर्दै उनले भनेका छन्, ‘कुनै पनि अर्थतन्त्रलाई चुस्त प्राविधिक जनशक्ति १० प्रतिशत भए पुग्छ ।’ बाँकी ९० प्रतिशत जनशक्तिलाई स्तरीय सीप दिनु पर्ने आवस्यकता भएको उनले भनेका थिए ।

त्यो सीप कृषि वा निर्माण मजदूरको मात्रै होइन, अहिले सूचना प्रविधि एवम् कृत्रिम बौद्धिकताको पनि हो ।

उनको अर्को जोड चाहीँ कृषिमा छ । नेपालको कृषियोग्य जमीनलाई पूर्ण रुपले प्रयोग गर्ने अवधारणामा आफूले काम थालिसकेको उनले अन्तरवार्ताहरुमा बताएका छन् ।

आफ्नी जेठी छोरीको नाममा उनले मोरङको बेलबारीमा ‘आरजु राइस मिल’ स्थापना गरेका छन् । त्यहाँ मिलको पूर्वाधार र कच्चा पदार्थ समेतको लागत जोड्दा करीब ५० करोड लगानी भएको बताइएको छ ।

तर त्यो मिल सधैँभरी आफूले मात्रै नचलाई किसानहरुले स्वामित्व लिन चाहेमा ७५ प्रतिशत स्वामित्व किसानहरुलाई नै बेच्ने योजना उनले सार्वजनिक गरिसकेका छन् । यसका लागि उनले पूर्वी तराईमा ३ हजार विगाहभन्दा धेरै जमीनमा धान खेति गर्न किसानहरुलाई सहायता दिएका छन् ।

यो परियोजनाको ढाँचा केही नौलो छ । किसानहरु सहकारी वा समूहको रुपमा संगठित हुन्छन् । ती सहकारी वा समूहलाई मिलले धान रोप्ने मेसिन, धान झाँट्ने मेसिन जस्ता उपकरण दिन्छ । त्यो धान सरकारी दरभन्दा पनि महँगो मूल्यमा मिलले नै किनिदिन्छ ।

यसरी २० हजारभन्दा धेरै किसान परिवारलाई प्रत्यक्ष लाभ पुर्याउने नीति उनले अघि सारेका छन् ।

राजनीतिको आधारशिला

यही राइसमिल उनको राजनीतिको आधारशिला हुने बस्नेतका निकटवर्तीहरु बताउँछन् ।

‘विनोद चौधरीले नवलपरासीमा त्यहाँका स्थानीय नागरिकलाई आफ्नो औद्योगिक ग्राममा रोजगारी दिएर भोट बैंक सुरक्षित गरेका छन्’, बस्नेतसँग नियमित सम्पर्कमा रहेका एक व्यवसायी भन्छन्, ‘उहाँ (बस्नेत)ले पनि तिनै किसानलाई आफ्नो राजनीतिक यात्राको जग बनाउन सक्नुहुन्छ ।’

हजारौँ किसानलाई गल्लावालको तुलनामा ज्यादा मूल्य दिएर धान किन्ने र उनीहरुलाई समूह बनाएर प्रविधि हस्तान्तरण गर्ने बस्नेतको काइदाले उनलाई स्थानीय किसान समुदायमा लोकप्रिय बनाउँदै लगेको छ ।

पछिल्लो समय वैकल्पिक राजनीतिको माग भइरहेको र पुराना दलहरुमा समेत नयाँ अनुहारको खोजी तीव्र भएको बेला उनको यो उपाय ‘कामयाव’ हुनसक्ने उनी निकटहरुको बुझाइ छ ।

यसका अलवा बस्नेतले केही वर्ष अघि नै ‘उकालो अभियान’ भनेर सामाजिक कार्यक्रम सञ्चालन गर्न खोजेका थिए । तर त्यो प्रयास अन्तिममा एउटा अनलाइन सञ्चार संस्था स्थापना गर्नेमा केन्द्रित भयो ।

यसका लागि ‘उकालो अभियान’ नामकै एक गैह्रनाफा मुलक कम्पनी स्थापना गरेर ‘उकालो डटकम’ सञ्चालन भइरहेको छ ।

सोही अनलाइनमा उकोलो अभियानबारे लेखिएको छ– ‘उकालो एउटा अभियान हो र यो अभियानमा धेरैको हातेमालो आवस्यक छ । यो अभियानलाई निष्ठापूर्वक मुलुक र नागरिकको हितमा समर्पित गर्ने कार्यमा हामीलाई मार्गनिर्देश गर्न समाजका केही अग्रजमध्येबाट संरक्षक समूह गठन गर्ने प्रक्रिया पनि शुरू भइसकेको जानकारी गराउन चाहन्छौँ ।’

देशले अँगालेको लोकतान्त्रिक पद्दतिको लाभ सबैमा समान रुपमा पुग्न नसकेको र विसंगति एवम् चुनौतीहरु देखा परेको भनिएको छ । यसै कारण नागरिकले लोकतन्त्रको न्यायोचित प्रतिफल प्राप्त गर्न पनि नसकेको उक्त विवरणमा उल्लेख छ ।

राजनीतिक दलहरुले देशका शक्तिशाली सञ्चार संस्थाहरुलाई कुनै न कुनै रुपमा प्रभावित पार्ने कोसिस गरिरहेका हुन्छन् । विगतमा माओबादीले देशका कयौँ सञ्चारगृहलाई आफ्नो नियन्त्रण रेखामा राखेको भनिँदै आएको थियो ।

अहिले ती संस्थाहरु एमाले, कांग्रेस र रास्वपाजस्ता शक्तिको सारथि बन्न थालेको आरोप लाग्ने गरेको छ । उकालोले अहिलेसम्म तुलनात्मक रुपमा निष्पक्ष र गहन समाचारहरु पस्किरहेको छ । यसको उपयोग बस्नेतले कसरी गर्छन् भनेर हेर्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्