७ श्रावण २०८३, बिहिबार

विजयश्री स्टिलको व्यापारमा उताचढाव, डण्डी बेचेर ६ महिनामा गर्‍यो ३ अर्ब ६१ करोड आम्दानी



काठमाडौं । पछिल्लाे ४ वर्षयता व्यावसायिक घराना विजय समूहद्वारा प्रवर्द्धित विजयश्री स्टिल प्रालिको व्यापारमा उतारचढाव देखिएको छ । गत वर्ष सामान्य घटेकाे कम्पनीकाे व्यापारले यस वर्ष लय समातेकाे छ।

सन् २०२६ को पहिलो ६ महिनामा कम्पनीले ३ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बराबरकाे व्यापार गरेकाे छ। आर्थिक वर्ष सन् २०२५ मा कम्पनीकाे व्यापार ४ प्रतिशतले घटेर ५ अर्ब ४० करोड ४० लाख रुपैयाँमा झरेकाे थियाे । सन् २०२६ को पहिलो ६ महिनाको तथ्याङ्कले भने व्यापारमा पुनः उत्साह देखाएकाे हाे ।

यता सन् २०२३ मा ३ अर्ब ५५ करोड ७० लाख रुपैयाँ बराबरको काराेबार गरेकाे कम्पनीले सन् २०२४ मा कम्पनीको व्यापार उल्लेख्य रूपमा बढेर ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको देखिन्छ ।

कम्पनीले सन् २०२३ फेब्रुअरीदेखि आफ्नै कारखानाबाट कच्चा पदार्थ (बिलेट) उत्पादन थालेपछि सञ्चालन नाफामा उल्लेख्य सुधार आएको छ । कच्चा पदार्थको लागत घटेका कारण सन् २०२४ मा ४.६३ प्रतिशत रहेको सञ्चालन नाफा (इबिट्डा मार्जिन) सन् २०२५ मा बढेर ९.४३ प्रतिशत पुगेको छ । सन् २०२६ को पहिलो ६ महिनामा भने यो दर ८.०६ प्रतिशत कायम भएको छ ।

कम्पनीको खुद नाफा पनि क्रमिक रूपमा बढ्दै गएको छ । सन् २०२४ मा १० करोड ९० लाख रुपैयाँ रहेको खुद नाफा सन् २०२५ मा १२ करोड ८० लाख रुपैयाँ पुगेको छ भने सन् २०२६ को पहिलो ६ महिनामै उद्योगले ११ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरिसकेको छ ।

व्यापारमा उतारचढाव देखिए पनि कम्पनीले आफ्नो ऋणको भार घटाउँदै लगेको छ । सन् २०२४ मा ३.५४ गुणा रहेको ऋण र पूँजीको अनुपात (गियरिङ रेसियो) सन् २०२५ मा ३.१९ र सन् २०२६ को ६ महिनामा ३.०१ गुणामा झरेको छ । यस्तै, ब्याज भुक्तानी गर्ने क्षमता (इन्ट्रेस्ट कभरेज रेसियो) पनि सन् २०२५ मा २.२७ गुणा रहेको छ ।

कम्पनीले ५ अर्ब ४ करोड २३ लाख रुपैयाँ बराबरको बैंक कर्जाका लागि रेटिङ नवीकरण गराएको छ, जसअन्तर्गत दीर्घकालीन कर्जाका लागि ‘आईआरएन डबल बी’ र अल्पकालीन कर्जाका लागि ‘आईआरएन ए फोर’ रेटिङ पाएको छ ।

कपिलवस्तुको शिवराजमा कारखाना रहेको यस उद्योगको वार्षिक १ लाख ३२ हजार मेट्रिक टन बिलेट र १ लाख २४ हजार मेट्रिक टन डन्डी उत्पादन गर्ने क्षमता छ । भारतसँगको सीमा र पूर्व-पश्चिम राजमार्ग नजिक भएकाले कच्चा पदार्थ आयात र बजार विस्तारमा कम्पनीलाई सहजता मिलेको छ । विकास केडियाको नेतृत्वमा रहेको यस उद्योगमा शक्ति इन्भेस्टमेन्ट प्रालिको २० प्रतिशत र केडियाको १७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।


प्रतिक्रिया दिनुहोस्