चोको फन उत्पादक सुजल फुड्स प्रालीले ५ महिना गर्‍यो ६६ करोडमाथिको व्यापार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चोको फन उत्पादक सुजल फुड्स प्रालीले ५ महिना गर्‍यो ६६ करोडमाथिको व्यापार



काठमाडौं । पछिल्ला ५ वर्षयता व्यावसायिक घराना लक्ष्मी समूहद्वारा प्रवर्द्धित सुजल फुड्स प्राइभेट लिमिटेडको व्यापारमा निकै उतारचढाव देखिएको छ ।

सन् २०२१ देखि लगातार तीन वर्षसम्म उत्साहजनक वृद्धि भएको कम्पनीको व्यापारमा सन् २०२४ मा भने ठूलो गिरावट आएको थियो । यद्यपि, सन् २०२५ बाट कम्पनीको व्यापारले पुनः लय समात्न थालेको छ ।

गत वर्ष सन् २०२५ मा १ अर्ब ५५ करोड ९० लाख रुपैयाँ रूपैयाँ बराबरकाे व्यापार गरेकाे कम्पनीले सन् २०२६ को पहिलो ५ महिनामा कम्पनीले ६६ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

यता सन् २०२१ मा १ अर्ब ८० करोड ५० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२२ मा १ अर्ब ८९ करोड २० लाख र सन् २०२३ मा २ अर्ब २ करोड ७० लाख रुपैयाँ पुर्‍याएको थियो । तर, सन् २०२४ मा कम्पनीको व्यापार उल्लेख्य रूपमा घटेर १ अर्ब ५२ करोड १० लाख रुपैयाँमा झरेको थियो । मागमा आएको गिरावट र कच्चा पदार्थको मूल्यवृद्धिका कारण गरिएको मूल्य समायोजनले व्यापारमा असर पारेको थियो ।

कम्पनीको व्यापार बढे पनि नाफाको दरमा भने ह्रास आएको छ। कच्चा पदार्थको लागत बढेका कारण सन् २०२४ मा ७.८ प्रतिशत रहेको सञ्चालन नाफा सन् २०२५ मा घटेर ६.१ प्रतिशत कायम भएको छ । यस्तै, सन् २०२१ मा १२.४ प्रतिशत रहेको यो मार्जिन त्यसपछिका वर्षहरूमा निरन्तर ओरालो लागेको देखिन्छ ।

व्यापारिक उतारचढावसँगै कम्पनीको खुद नाफा आर्जन गर्ने र ऋण धान्न सक्ने क्षमतामा पनि दबाब परेको छ। ब्याज भुक्तानी गर्ने क्षमता सन् २०२१ मा ५.३ गुणा रहेकोमा सन् २०२५ मा घटेर १.६ गुणामा खुम्चिएको छ । यस्तै, ऋणको साँवा र ब्याज भुक्तानी गर्ने क्षमता सन् २०२४ मा ०.९ गुणा र सन् २०२५ मा झनै घटेर ०.८ गुणा कायम भएको छ ।

कम्पनीले आफ्नो ऋणको भार र चालु पूँजी व्यवस्थापनमा पनि चुनौती खेपिरहेको छ। कुल ऋण र सञ्चालन नाफाको अनुपात सन् २०२४ मा ७.२ गुणा रहेकोमा सन् २०२५ मा बढेर ८.१ गुणा पुगेको छ । यद्यपि, सन् २०२४ मा ४३ प्रतिशत पुगेको नेट वर्किङ क्यापिटल इन्टेन्सिटी सन् २०२५ मा केही सुधार भएर ३५ प्रतिशतमा झरेको छ ।

कम्पनीले ९० करोड ३० लाख रुपैयाँ बराबरको बैंक कर्जाका लागि रेटिङ नवीकरण गराएको छ, जसअन्तर्गत दीर्घकालीन कर्जाका लागि ‘इक्राएनपी एलबीबी माइनस’ र अल्पकालीन कर्जाका लागि ‘इक्राएनपी ए फोर’ रेटिङ पाएको छ ।

कास्कीको पोखरामा दुईवटा कारखाना रहेको यस उद्योगले ‘चोको फन’, ‘रसिलो’ र ‘फ्रेसो’ जस्ता ब्रान्डका मिठाई र वेफरहरू उत्पादन गर्दै आएको छ । देशभर २३० भन्दा बढी डिलरहरूको सञ्जाल रहेको यस उद्योगमा अध्यक्ष गणेश बहादुर श्रेष्ठसहित परिवारका अन्य सदस्यहरूको समान १७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।


प्रतिक्रिया दिनुहोस्