५ तारे होटल ‘क्राउन प्लाजा’ सञ्चालन गर्ने तयारीमा रहेको लुम्बिनी हेरिटेजको व्यापारमा सुधार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

५ तारे होटल ‘क्राउन प्लाजा’ सञ्चालन गर्ने तयारीमा रहेको लुम्बिनी हेरिटेजको व्यापारमा सुधार



काठमाडौं । पछिल्लाे केही वर्षयता लुम्बिनी क्षेत्रमा पर्यटकीय पूर्वाधार विस्तार गरिरहेको लुम्बिनी हेरिटेज लिमिटेडको व्यापारमा क्रमिक सुधार देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको सञ्चालन आम्दानीले राम्रो लय समातेको छ ।

आर्थिक वर्ष २०२५ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ६ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । अघिल्ला आर्थिक वर्ष २०२३/२४ मा कम्पनीले ४ करोड रुपैयाँ बराबरकाे व्यापार गरेकाे थियाे ।

कम्पनीले हाल सञ्चालनमा रहेको होटललाई स्तरोन्नति गर्दै विश्वप्रसिद्ध इन्टरकन्टिनेन्टल होटल ग्रुपसँगको साझेदारीमा ‘क्राउन प्लाजा’ ब्रान्ड अन्तर्गत सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि १३८ कोठाको पाँचतारे होटल निर्माणको कार्य भइरहेको छ, जुन सन् २०२७ जनवरी १ देखि पूर्ण रूपमा सञ्चालनमा आउने लक्ष्य राखिएको छ ।

कम्पनीको सञ्चालन नाफामा उल्लेख्य सुधार देखिएको छ । सन् २०२४ मा ९.७३ प्रतिशत रहेको सञ्चालन नाफा सन् २०२५ मा बढेर ३६.३७ प्रतिशत पुगेको छ । यस्तै, कम्पनीको चालु अनुपात पनि सन् २०२५ मा १४.०८ गुणा कायम भएको छ ।

लुम्बिनीको कोटहीमाईमा अवस्थित यस होटलको स्तरोन्नतिका लागि १ अर्ब ५ करोड ५० लाख रुपैयाँ थप लगानी हुने अनुमान गरिएको छ । भैरहवा विमानस्थलबाट करिब १२ किलोमिटरको दूरीमा रहेको र युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनी नजिक भएकाले कम्पनीलाई बजार विस्तारमा सहजता मिलेको छ ।

अध्यक्ष सुभाष अमात्यको नेतृत्वमा रहेको यस कम्पनीमा हस्पिटालिटी, हाइड्रोपावर र बिमा क्षेत्रको अनुभव भएका प्रवर्द्धकहरूको संलग्नता रहेको छ । सुरुमा होटल पवन प्यालेस प्रालिको रूपमा दर्ता भएको यो कम्पनी सन् २०२५ जुलाई २ मा पब्लिक लिमिटेडमा परिणत भएको हो ।

कम्पनीले २ अर्ब रुपैयाँ बराबरको बैंक कर्जाका लागि रेटिङ गराएको छ, जसअन्तर्गत दीर्घकालीन कर्जाका लागि ‘एनपी डबल बी माइनस’ रेटिङ पाएको छ । यस्तै, केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘एनपी डबल बी माइनस’ इस्युअर रेटिङ प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्