आईपीओ निष्काशनको तयारीमा रहेकाे महाशक्ति सिमेन्टले ६ महिनामै गर्यो ४६ करोड ३० लाखको व्यापार
काठमाडौं । धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रक्रियामा अगाडि बढेको महाशक्ति सिमेन्ट लिमिटेडको व्यावसायिक कारोबारमा पछिल्ला वर्षहरूमा क्रमिक सुधार देखिएको छ ।
महाशक्ति, गरिमा र एम. जेपी सिमेन्टबीच सन् २०२३ जुलाईमा भएको गाभिने (मर्जर) प्रक्रियापछि कम्पनीले बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै लगेको हो ।
चालू आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा मात्रै उद्योगले ४६ करोड ३० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गर्न सफल भएको छ । यसअघि सन् २०२३ मा ९६ करोड २० लाख र सन् २०२४ मा ९४ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको व्यापार सन् २०२५ मा उल्लेख्य रूपमा वृद्धि भई १ अर्ब २५ करोड ५० लाख रुपैयाँ पुगेको थियो ।
कम्पनीको व्यापारको आयतन बढे तापनि सञ्चालन नाफाको अनुपातमा भने निरन्तर ह्रास आएको देखिन्छ । प्रतिवेदन अनुसार सन् २०२३ मा ८७.५७ प्रतिशत रहेको सञ्चालन नाफा सन् २०२४ मा घटेर ५४.७४ प्रतिशतमा सीमित भएको थियो । यो गिरावट आउने क्रम सन् २०२५ मा पनि जारी रहँदा नाफाको दर २९.९४ प्रतिशतमा ओर्लिएको छ भने सन् २०२६ को पहिलो ६ महिनामा यस्तो नाफा थप घटेर २६.९३ प्रतिशतमा झरेको छ ।
मुख्यतया कच्चा पदार्थ (क्लिङ्कर) को मूल्यमा भएको वृद्धि र बजारमा तयारी सिमेन्टको उचित मूल्य कायम हुन नसक्दा नाफाको मार्जिनमा प्रत्यक्ष दबाब परेको हो ।
नाफाको दर खुम्चिए पनि कम्पनीले आफ्नो वित्तीय संरचना र पूँजीगत आधारलाई भने सन्तुलित राख्न सफल भएको छ । कम्पनीको कुल ऋण र शेयरधनीको पूँजीबीचको अनुपात विगत तीन वर्षदेखि एक गुणाभन्दा तलै रहनुलाई सुखद पक्ष मान्न सकिन्छ ।
सन् २०२३ मा ०.७७ गुणा रहेको यस्तो ऋणको अनुपात सन् २०२४ मा ०.७४ र २०२५ मा ०.७१ गुणामा झरेको थियो भने सन् २०२६ को ६ महिनाको तथ्याङ्क अनुसार यो ०.७५ गुणा कायम छ । यद्यपि, सञ्चालन नाफामा आएको गिरावटसँगै कम्पनीको ब्याज भुक्तानी गर्न सक्ने क्षमतामा भने ह्रास आएको छ । सन् २०२३ मा १२.८१ गुणा रहेको ब्याज कभरेज क्षमता सन् २०२५ मा १.३७ गुणा र सन् २०२६ को ६ महिनामा १.२२ गुणामा खुम्चिएको छ ।
कम्पनीले हालै कुल २ अर्ब ८० करोड २१ लाख रुपैयाँ बराबरको बैंक कर्जाका लागि साख मूल्याङ्कन (रेटिङ) नवीकरण गराएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको ६३ करोड ६८ लाख ५० हजार रुपैयाँ बराबरको दीर्घकालीन ऋण सुविधालाई ‘आईआरएन डबल बी माइनस’ र २ अर्ब १६ करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको अल्पकालीन ऋण सुविधालाई ‘आईआरएन ए फोर’ श्रेणीको रेटिङ प्रदान गरेको छ ।
कपिलवस्तुको शिवराजमा उत्पादन कारखाना रहेको यस उद्योगमा श्याम प्रसाद पौडेलको ९ प्रतिशत तथा हरि बहादुर भण्डारी र पारस अधिकारीको ८–८ प्रतिशत शेयर स्वामित्व रहेको छ । देशको समग्र निर्माण क्षेत्रमा आएको सुस्तता र उधारो रकम उठ्न लाग्ने समय लम्बिँदा कम्पनीलाई कार्यगत पूँजी व्यवस्थापनमा भने केही चुनौतीहरू थपिएका छन् ।













