इनड्राइभद्वारा उत्कृष्ट ड्राइभर पार्टनरहरू सम्मानित: ८० जनालाई ‘विश्वासको सम्मान’ अवार्ड प्रदान
काठमाडौं । विश्वव्यापी रूपमा लोकप्रिय राइड-हेलिङ प्लेटफर्म इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड: विश्वासको सम्मान’ आयोजना गरी आफ्ना उत्कृष्ट क्याब र मोटरबाइक ड्राइभर पार्टनरहरूलाई सम्मानित गरेको छ।
काठमाडौंमा आयोजित एक विशेष औपचारिक समारोहका बीच इनड्राइभले प्लेटफर्ममा दीर्घकालीन प्रतिबद्धता, समर्पण र निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएका ड्राइभर पार्टनरहरूको विश्वासलाई उच्च कदर गर्दै एकै ठाउँमा भेला गराई विशेष सम्मान प्रदान गरेको हो।
कार्यक्रमको समुद्घाटन गर्दै इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले उपस्थित सबैलाई स्वागत गर्नुका साथै यो अवार्डको महत्वमाथि प्रकाश पारिन्। उनले यो कार्यक्रम ड्राइभर–पार्टनर र यात्रुबीचको आपसी विश्वासलाई उत्सवका रूपमा मनाउन आयोजना गरिएको बताउँदै नेपालमा इनड्राइभको सेवा सञ्चालन हुनुको मुख्य आधार नै यही विश्वास रहेको उल्लेख गरे।
अवार्ड वितरण समारोहमा विशेष अतिथिको रूपमा चर्चित अभिनेत्री प्रियंका कार्कीको उपस्थिति रहेको थियो भने सुनिता जीमी राई, योक्ष द्वि आद्रियान्तो र अनास्तासिया तेरेन्तिएभाले संयुक्त रूपमा विभिन्न विधाका विजेताहरूलाई पुरस्कार एवं सम्मान हस्तान्तरण गरे।
यस पटकको अवार्ड समारोहमा विभिन्न समयसीमा र प्रदर्शनका आधारमा कुल ८० जना ड्राइभर–पार्टनरहरूलाई उनीहरूको व्यावसायिकता र विश्वसनीयताका लागि सम्मानित गरिएको छ। जसमा विगत पाँच वर्षदेखि प्लेटफर्मप्रति निरन्तर प्रतिबद्ध रहेका १० जना क्याब र १० जना मोटो गरी २० जना ड्राइभरहरूलाई विशेष सम्मान गरिएकाे छ।
त्यसैगरी, विगत तीन वर्षदेखि उत्कृष्ट सेवा र समर्पण देखाउँदै आएका १० जना क्याब र १० जना मोटो विजेताहरूलाई पनि पुरस्कृत गरिएको छ।
सन् २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका ड्राइभरहरूलाई समेत विशेष प्राथमिकतामा राख्दै १० जना पुरुष क्याब, १० जना पुरुष मोटो तथा समावेशितालाई ध्यानमा राख्दै १० जना महिला क्याब र १० जना महिला मोटो ड्राइभर पार्टनरहरूलाई सम्मान प्रदान गरिएको छ।
कार्यक्रमको समापन सत्रमा बोल्दै एपीएसीका ड्राइभर्स मार्केटिङ्ग लीड योक्षा द्वी एड्रियान्टोले दीर्घकालीन रूपमा प्लेटफर्मलाई दिगो बनाउन ड्राइभरहरूसँगको सम्मान-आधारित सम्बन्धको ठूलो महत्व रहेको बताइन्। उनले इनड्राइभ नेपालले केवल संख्यामा आधारित कामलाई मात्र नभई इमान्दारिता, विश्वास र उत्कृष्ट सेवा जस्ता मानवीय मूल्यहरूलाई पनि प्राथमिकतामा राख्दै आएको उल्लेख गरिन्।
यस प्रकारका सम्मानले काठमाडौँको सहरी यातायातलाई सुदृढ बनाउन ड्राइभरहरूले गरेको योगदानको कदर हुनुका साथै भविष्यमा पनि सेवाको गुणस्तर अझ बढ्ने विश्वास इनड्राइभले व्यक्त गरेको छ।












