'गरिमा सुवर्ण योजना' मा किन लगानी गर्ने ? (अशोक सुवेदीसँगको अन्तरवार्ता) - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

‘गरिमा सुवर्ण योजना’ मा किन लगानी गर्ने ? (अशोक सुवेदीसँगको अन्तरवार्ता)



गरिमा क्यापिटल लिमिटेडले फागुन २८ गतेदेखि आफ्नो नयाँ खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ निष्काशन तथा बिक्री खुला गरेको छ। कुल १ अर्ब रुपैयाँ आकारको यस योजनाअन्तर्गत पहिलो चरणमा प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ५ करोड इकाई (५० करोड रुपैयाँ बराबर) बिक्रीमा ल्याइएको हो।

कुल निष्कासित इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंक र ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटलका लागि सुरक्षित गरिएको छ भने बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ।

लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।

यसै योजना र वर्तमान पुँजी बजारको अवस्थाबारे केन्द्रित रहेर गरिमा क्यापिटलका सहायक प्रमुख कार्यकारी अधिकृत अशोक सुवेदीसँग गरिएको कुराकानीको सम्पादित अंश:

गरिमा क्यापिटलद्वारा निष्कासित ‘गरिमा सुवर्ण योजना’ मा सर्वसाधारणले किन लगानी गर्ने?

सामूहिक लगानी कोष (म्युचुअल फण्ड) आधुनिक लगानीको एउटा उत्कृष्ट विकल्प हो। जसरी हामी घरजग्गा वा सुनचाँदीमा लगानी गर्छौँ, त्यसरी नै सेयर बजारबाट व्यावसायिक लाभ लिन चाहनेहरूका लागि यो एक सुरक्षित माध्यम हो। यस योजनाले संकलित रकमलाई कानुनको परिधिभित्र रही सेयर बजार, बैंक मुद्दती निक्षेप, डिबेन्चर तथा ऋणपत्रहरूमा सन्तुलित रूपमा लगानी गर्छ।

विशेष गरी, जोसँग सेयर बजारको गहिरो प्राविधिक ज्ञान छैन वा बजारलाई निरन्तर दिने समय छैन, उहाँहरूका लागि यो योजना निकै फलदायी छ। यहाँ अनुभवी विज्ञहरूले तपाईंको लगानीको व्यवस्थापन गर्छन्, जसले गर्दा जोखिम न्यूनीकरण हुन्छ। थोरै रकमबाट लगानी सुरु गर्न सकिने र आवश्यक परेको खण्डमा लगानीको उचित मूल्याङ्कन प्राप्त हुने भएकाले पनि यो सर्वसाधारणका लागि आकर्षक छ।

यो १ अर्बको योजना भए पनि सुरुमा ३ करोड ५० लाख इकाई मात्र सर्वसाधारणका लागि बिक्री खुला गरिनुको कारण के हो?

यो खुलामुखी योजना भएकाले यसको एउटा मुख्य विशेषता भनेको आवश्यकता र मागअनुसार आकार वृद्धि गर्दै लैजान सकिने लचकता हो। हामीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट १ अर्ब रुपैयाँसम्मको कोष सञ्चालन गर्ने पूर्व-स्वीकृति पाइसकेका छौँ।

रणनीतिगत रूपमा, सुरुमा ५० करोड रुपैयाँ परिचालन गरेर बजारमा पकड बनाउने हाम्रो योजना हो। जब यो कोष १ अर्बको नजिक पुग्छ, हामी थप आकार वृद्धिका लागि पुनः स्वीकृतिको प्रक्रियामा जान सक्छौँ। यसले लगानीलाई व्यवस्थित र प्रभावकारी रूपमा परिचालन गर्न सहज बनाउँछ।

किन गर्ने लगानी ?

विज्ञ व्यवस्थापन: अनुभवी विज्ञहरूद्वारा लगानी परिचालन हुने भएकाले प्राविधिक ज्ञान र समय अभाव भएका लगानीकर्ताका लागि यो सुरक्षित माध्यम हो।

जोखिम विविधीकरण: संकलित रकमलाई सेयर, मुद्दती निक्षेप र ऋणपत्रमा परिचालन गरिने हुँदा एकल बजारको उतारचढावले ठूलो असर पार्दैन।

लगानीको अनुकूल समय: बैंकको न्यून ब्याजदर र बजारमा रहेको प्रचुर तरलताका कारण म्युचुअल फण्ड लगानीका लागि यो उपयुक्त समय हो।

दिगो वृद्धिको अपेक्षा: राजनीतिक स्थिरतासँगै बजारले अब अस्वाभाविक उतारचढाव भन्दा पनि परिपक्व र दिगो वृद्धिको बाटो लिने विश्वास।

खुलामुखी लचकता: १ अर्बको योजना भए पनि माग अनुसार यसको आकार विस्तार गर्न सकिने र निरन्तर खरिद-बिक्री गर्न पाइने व्यवस्था।

अहिले सेयर बजारमा उतारचढाव देखिइरहेको छ, यस्तो अवस्थामा फण्ड बिक्री गर्नु चुनौतीपूर्ण छैन?

अहिलेको बजारलाई हामी चुनौती भन्दा पनि उत्कृष्ट अवसर (आइडल सिचुएसन) का रूपमा लिइरहेका छौँ। हाल बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपको ब्याजदर निकै न्यून छ, जसले गर्दा लगानीकर्ताहरूले वैकल्पिक क्षेत्र खोजिरहनुभएको छ।

ऐतिहासिक रूपमा हेर्ने हो भने पनि म्युचुअल फण्डहरूले बैंकको मुद्दती निक्षेपको तुलनामा औसतमा राम्रो प्रतिफल दिँदै आएका छन्। बैंकमा पैसा थुप्रिएको तर प्रतिफल कम भएको यो समयमा म्युचुअल फण्ड लगानीको उत्तम गन्तव्य बनेको छ।

हामीले जति पनि संस्थाहरूसँग सहकार्यका लागि कुरा गरिरहेका छौँ, उहाँहरूमा यस योजनाप्रति निकै उत्साह देखिएको छ। त्यसकारण, हामी यसलाई चुनौती भन्दा पनि एउटा ठूलो अवसरका रूपमा लिइरहेका छौँ।

धेरै म्युचुअल फण्डहरूमा संस्थागत लगानीकर्ताकै वर्चस्व देखिन्छ, सर्वसाधारणलाई आकर्षित गर्न किन नसकिएको होला?

हामीले सर्वसाधारणलाई समेट्न नचाहेको होइन, तर म्युचुअल फण्डका फाइदाहरूबारे जुन स्तरमा सचेतना फैलाउनुपर्ने थियो, त्यसमा कतै कमी भएको हुन सक्छ। अर्को कुरा, हाम्रो बजारमा ‘आज लगानी गरेर भोलि नै प्रतिफल’ खोज्ने मानसिकता छ। म्युचुअल फण्ड मूलतः दीर्घकालीन लगानीको अवधारणा हो।

बजारमा ‘तत्काल प्रतिफल पाइँदैन’ भन्ने जुन भ्रम छ, त्यो यथार्थभन्दा टाढा छ। जो लगानीकर्ता सेयर बजारमा ‘प्यासिभ इन्भेस्टमेन्ट’ गर्न चाहनुहुन्छ र बजार विश्लेषणको झन्झट उठाउन चाहनुहुन्न, उहाँहरूका लागि यो सुनौलो अवसर हो।

त्यसैले, ज्ञान र समयको अभाव भएका तर सेयर बजारको वृद्धिबाट लाभ लिन चाहने जो–कोहीले यसमा निर्धक्क भएर लगानी गर्न सक्नुहुन्छ।

बजार बढिरहेको वर्तमान अवस्थामा संकलित रकमबाट भोलि कसरी प्रतिफल दिन सकिन्छ? यसको सुनिश्चितता के छ?

सेयर बजारमा ‘ग्यारेन्टी’ शब्द प्राविधिक रूपमा उचित हुँदैन, तर वर्तमान नेप्से परिसूचक, प्रचुर तरलता र राजनीतिक परिदृश्य हेर्दा यो समय निकै अनुकूल छ। निर्वाचनपछि मुलुकले स्थायी सरकार पाउने निश्चितप्रायः हुनुले लगानीकर्तामा उत्साह भरेको छ। बजार भविष्यको आशाबाट निर्देशित हुन्छ।

जब स्थायी सरकारले आर्थिक गतिविधि चलायमान बनाउँछ, त्यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्छ। आर्थिक वृद्धि हुनु भनेको सेयर बजार बढ्नु हो।

अहिलेको स्थितिमा सेयर बजारमा लगानी गर्नु चुनौतीपूर्ण भन्दा पनि एउटा ठूलो अवसर हो। राजनीतिक स्थिरताको यो जगमा उभिएर हेर्दा, बजारमा अहिले लगानी गर्नु र दीर्घकालीन प्रतिफलको योजना बनाउनु बुद्धिमानी देखिन्छ। त्यसैले, अहिलेको जगमा उभिएर गरिएको लगानीले दीर्घकालीन रूपमा राम्रो प्रतिफल दिने बलियो आधार तय गर्नेछ।

विगतमा गरिमा क्यापिटलले ल्याएको ‘गरिमा समृद्धि योजना’ र यसमा के फरक छ?

‘गरिमा समृद्धि योजना’ १० वर्षे अवधिको बन्दमुखी योजना हो। १ अर्बको उक्त योजनामा उत्साहजनक सहभागिता भएपछि हामीले १ अर्ब २५ करोडमा बन्द गरेका थियौँ र सञ्चालनको पहिलो ६ महिनामै ५.१० प्रतिशत लाभांश वितरण गर्न सफल भयौँ।

अहिलेको ‘गरिमा सुवर्ण योजना’ भने खुलामुखी र निरन्तर चलिरहने योजना हो। नेप्से परिसूचक वृद्धि हुने सम्भावना बलियो देखिएकाले यसबाट पनि हामीले राम्रो प्रतिफल आर्जन गरेर इकाइधनीहरूलाई वितरण गर्न सक्छौँ भन्नेमा विश्वस्त छौँ।

प्रारम्भिक अवधिमै सबै इकाईहरू बिक्री हुनेमा कत्तिको आशावादी हुनुहुन्छ?

बजारको प्रतिक्रिया निकै सकारात्मक छ। हामीले सर्वसाधारणका लागि छुट्याएको ३५ करोड रुपैयाँको हिस्सा वर्तमान बजारको आकारअनुसार ठूलो होइन। सुरुको ४ दिन प्रारम्भिक अवधि रहनेछ र सो अवधिमै लक्ष्यअनुसार आवेदन पर्ने हाम्रो अपेक्षा छ।

हाम्रो प्राथमिकता धेरैभन्दा धेरै सर्वसाधारणलाई सहभागी गराउने नै हो। कुनै कारणवश उक्त अवधिमा लक्ष्य अनुसारको आवेदन नपरेको खण्डमा यसलाई ढिलोमा १५ दिनसम्म थप गर्न सकिने कानुनी प्रावधान छ।

अहिलेको बजारको माहोल, संस्थागत लगानीकर्ताहरूको बढ्दो रुचि र सर्वसाधारणमा देखिएको चासोलाई आधार मान्दा, हामीलाई के लाग्छ भने निर्धारित ४ दिनभित्रै सबै इकाईहरू बिक्री हुनेछन्।

म्युचुअल फण्डहरूको आगमनले बजारको स्थिरतामा कस्तो भूमिका खेल्छ?

म्युचुअल फण्डहरूलाई ‘संस्थागत लगानीकर्ता’ का रूपमा लिन सकिन्छ। जब बजारमा यस्ता संस्थागत लगानीकर्ताको उपस्थिति बलियो हुन्छ, तब बजारमा देखिने हतासमा गरिने खरिद वा डरले गरिने बिक्री (प्यानिक बाइ/सेल) को स्थिति नियन्त्रण हुन्छ।

यसले नेप्सेको अस्वाभाविक उतारचढावलाई रोकेर बजारलाई सन्तुलित र परिपक्व बनाउन मेरुदण्डको काम गर्छ। वास्तवमा सेयर बजार धैर्य र सही विश्लेषणको क्षेत्र हो। म्युचुअल फन्डले यही विशेषज्ञता र सन्तुलन प्रदान गर्ने हुनाले, यसलाई केवल एउटा साधारण लगानीको विकल्प मात्र नभई बजारलाई परिपक्व बनाउने एउटा मेरुदण्डका रूपमा बुझ्नुपर्छ।

अहिले स्थायी सरकार गठन हुने चरणमा छ, अब नेप्से परिसूचक ठ्याक्कै कति अंकसम्म पुग्ला भन्ने अनुमान गर्नुहुन्छ?

सेयर बजारको भविष्यलाई लिएर अंक नै तोकेर भविष्यवाणी गर्नु प्राविधिक र व्यावसायिक हिसाबले उपयुक्त हुँदैन। अंक नै तोकेर बोल्नु एक प्रकारको भ्रामक कुरा हुन सक्छ र यो केवल सस्तो लोकप्रियताका लागि गरिएको टिप्पणी जस्तो मात्र देखिन्छ। वास्तवमा, बजार परिसूचक भनेको अनेकौँ आर्थिक र राजनीतिक सूचकहरूको समग्र प्रतिविम्ब हो।

जब देशमा राजनीतिक स्थिरता कायम हुन्छ र आर्थिक नीतिमा स्पष्टता आउँछ, तब बजारका सबै अवयवहरूमा सकारात्मक प्रभाव पर्न थाल्छ र बजार स्वाभाविक रूपमा उकालो लाग्छ। बजार यहाँ पुगेर रोकिन्छ भनेर रेखांकन गर्नुभन्दा पनि यसको प्रवृत्तिको अध्ययन गर्नु महत्त्वपूर्ण हुन्छ।

विगतमा हाम्रो बजारमा जुन ‘साइकल’ देखियो, त्यो कता कता अस्थिर सरकार र नीतिगत अनिश्चितताकै परिणाम थियो। अब स्थायी सरकार बन्दै गर्दा बजारले एउटा परिपक्व एवं दिगो वृद्धिको बाटो लिने अपेक्षा गर्न सकिन्छ। अंकभन्दा पनि बजारको ‘सेन्टिमेन्ट’ र अर्थतन्त्रको जग बलियो हुनु नै लगानीकर्ताका लागि सुखद पक्ष हो।

अन्त्यमा, ‘गरिमा सुवर्ण योजना’ को प्रतिफल नाम जस्तै ‘सुवर्ण’ नै होला त?

हामीले यो योजनाको नाम मात्र सुवर्ण’ राखेका छैनौँ, यसको प्रतिफल पनि उत्कृष्ट रहनेमा हामी पूर्ण विश्वस्त छौँ।

हामीले आगामी दिनमा नेपालको पुँजी बजार (नेप्से परिसूचक) सकारात्मक दिशामा अघि बढ्ने स्पष्ट संकेतहरू देखेका छौँ।
कुनै पनि देशको सेयर बजार त्यहाँको अर्थतन्त्रको ऐना हो। अहिले मुलुकको समग्र अर्थतन्त्र बिस्तारै लयमा फर्किँदैछ र हामी आर्थिक वृद्धिको दिशामा अघि बढिरहेका छौँ। यसको प्रत्यक्ष र सकारात्मक प्रभाव सेयर बजारमा निश्चित रूपमा देखिनेछ।

मुलुकको अर्थतन्त्र लयमा फर्किँदैछ र राजनीतिक स्थिरताको संघारमा हामी छौँ। जब अर्थतन्त्र मजबुत हुन्छ र लगानीकर्ताको मनोबल उच्च हुन्छ, बजारले दिने प्रतिफल स्वतः सुखद हुन्छ।

त्यसैले, अहिलेको परिवेश र भविष्यको सम्भावनालाई हेर्दा यो योजनामा गरिएको लगानीले लगानीकर्ताहरूलाई ’सुवर्ण’ अवसर र प्रतिफल दिनेछ भन्नेमा हामी विश्वस्त छौँ।


प्रतिक्रिया दिनुहोस्