आराध्येदेवलाई धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथमा रुद्राभिषेक पूजा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान भगवान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक सहितको विशेष पूजा गरेकी छन् । यो पूजाबाट किस्कँदैगर्दा प्रधानमन्त्री कार्र्कीको मुहारमा देखिएको चमकले उनी आफ्नो ‘राजकीय धर्म’ पुरा गरेकोमा कति खुसी छिन् भन्ने संकेत गरेको छ ।
प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गणतन्त्र स्थापनापछि नेपालका सरकार प्रमुखले यसरी स्वयंको अग्रसरतामा ‘धन्यवाद’ पूजन गरेको यो पहिलो घटना हो ।
आध्यात्मिक ऊर्जाले भरिपूर्ण नेपालमा गणतन्त्रपश्चात् ‘धर्मनिरपेक्ष’ भनेर सरकार प्रमुखहरुले यस्तो पूजालाई ‘बहिस्कार’ गर्दै आएका थिए । अनिवार्य सांस्कृतिक गतिविधीहरुमा पनि विगतका सरकार प्रमुखहरु ‘आस्थाले होइन, बाध्यताले’ पशुपति नाथको प्राङ्गणमा पुग्ने गरेको भनेर धर्मगुरुहरुले आफ्नो बुझाइ साझा गर्दै आएका थिए ।
कतिसम्म भने, हिन्दु सनातन धर्मको पालना गर्ने राजनेताहरु पनि पशुपति नाथमा जान ‘डराइरहेहको’ अवस्था थियो । तर अहिले प्रधानमन्त्री कार्कीले मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै आराध्य देवलाई अभिषेक गरिकी छन् ।

उनले पशुपतिनाथलाई धन्यवाद दिँदै आगामी दिनमा मुलुक र जनताको चिरस्थायी उन्नति एवम् कल्याणको कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव एवम् आत्मीयताको भावना बलियो बन्दै जाओस् भनेर प्रधानमन्त्रीले आराध्यदेवसँग प्रार्थना गरेको बताए ।
कार्कीको यस कदमले भावी प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरुलाई पनि आफ्नो स्वधर्मको पालना गर्न र आराध्यदेवको श्रद्धा गर्न ‘बाटो खुल्ला’ गरेको छ ।














