बैंक ग्यारेन्टी जफत र कालोसूची सम्बन्धी व्यवस्था संशोधन गर्न चन्द्र ढकालको माग
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बैंक ग्यारेन्टी जफत र कालोसूची सम्बन्धी विद्यमान व्यवस्था संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको २६औं साधारण सभा तथा १३औं अधिवेशन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सार्वजनिक खरिद ऐन अव्यवहारिक हुँदा निर्माण क्षेत्रमा गम्भीर असर परिरहेको बताए। उनले व्यवसायीको गल्ती नहुँदा पनि अर्बौंको बैंक ग्यारेन्टी जफत हुने र कालोसूचीमा राख्ने परिपाटीले निजी क्षेत्रलाई हतोत्साहित बनाएको भन्दै यस्तो व्यवस्था तत्काल सुधार्नुपर्नेमा जोड दिए।
विशेषगरी ‘जोइन्ट भेन्चर’ (जेभी) मा रहेका कुनै एउटा फर्मको गल्तीका कारण समूहका अन्य निर्दोष फर्महरूलाई समेत कालोसूचीमा राख्ने र बैंक खाता रोक्का गर्ने प्रक्रिया गलत रहेको उनको तर्क थियो।
नयाँ सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै शासकीय सुधार र सार्वजनिक खरिद ऐन संशोधनको कार्यसूची अघि सारेकोमा उत्साह व्यक्त गर्दै ढकालले बैंक ग्यारेन्टी र कालोसूची सम्बन्धी प्रावधानमा देखिएका गाँठा फुकाउन सरकारसँग आग्रह गरे।
अध्यक्ष ढकालले सरकारको कार्यसूची अनुसार काम भएमा निजी क्षेत्रले भोग्दै आएका धेरै समस्या समाधान हुने विश्वास व्यक्त गर्दै नयाँ ऐनको मस्यौदा तयार पार्दा व्यवसायीका यस्ता व्यावहारिक समस्यालाई सम्बोधन गर्न माग गरे।













